सङ्कल्प साकार होस्

नयाँ वर्ष २०७५ ले आजदेखि यात्रा सुरु गरेको छ । आफ्नै गतिमा अघि बढिरहने बलवान समयलाई कसैले रोक्न सक्दैन । मुलुकको तीन वटै तहको सरकारमा पाँच वर्षका लागि राजनीतिक नेतृत्व निर्वाचित भएको छ । सङ्घीय, प्रदेश र स्थानीय तहको सरकार अब कसरी अघि बढ्नेछन्, नयाँ वर्ष २०७५ तिनीहरुका लागि महत्वपूर्ण आधारवर्ष बन्ने निश्चित छ । जे गर्नु छ, अहिल्यै गर्नु पर्ने समयको सन्देश हो । किनकि, भोलि भनेर काम थाती राख्ने छुट समयले दिएको छैन ।
राजनीतिले आन्दोलन र चुनावको लामो प्रक्रिया पूरा गरेर अब सामाजिक परिवर्तन र आर्थिक समृद्धिको फड्को थाल्नु पर्ने छ । दुई तिहाई बहुमतप्राप्त बाम गठबन्धनको सरकारप्रति आम जनताले धेरै अपेक्षा गरेका छन् । सरकारले पनि जनतालाई आफ्ना सङ्कल्पहरु धेरै सुनाएको छ । ती सबै सङ्कल्पहरु पूरा होउन्, शुभकामना । राजनीतिक परिवर्तनका लागि जनताले ठूल्ठूला क्रान्ति गरे । तर आधारभूत जनताको मझेरीमा भने परिवर्तनको घाम अझै आइपुगेको छैन । युगौदेखि हेपिएका, पछाडि पारिएका, दमन गरिएका तमाम नेपाली मनहरुका लागि २०७५ उल्लास, उमङ्ग र खुशीको उपहार बोकेर आओस्, यही कामना ।

नयाँ वर्ष पुराना खराब प्रवृत्ति त्याग्ने र राम्रो सङ्कल्प गर्ने एउटा उपयुक्त अवसर हो । लोकतन्त्र पोस्टले झापाका विभिन्न सामाजिक व्यक्तित्वहरुसँग उनीहरुको सङ्कल्प बुझ्दा त्यही सङ्केत प्राप्त भएको छ । अधिकांशले परिवर्तनको सम्बाहक बन्ने सकारात्मक जनाउ दिएका छन् । परिवर्तन गफले होइन, व्यवहारले आउने कुरा हो । अहिलेसम्म परिवर्तन र समृद्धिका गफ धेरै भए, तर यथार्थ के हो भने २० वर्षमा पनि मेलम्चीको पानी काठमाडौँ आइपुगेको छैन । हाम्रो राजनीतिक नेतृत्वको सङ्कल्पहरु कोरा हुनु हुँदैन । योजनाहरु असम्भव हुनु हुँदैन । जे बोलिन्छन्, ती व्यवहारमा साकार बन्नु पर्छ । देशको काचुली फेर्ने सङ्कल्प आज हरेक नागरिकले गर्ने दिन हो । नयाँ वर्ष २०७५ लोकतन्त्र पोस्टका पाठक, स्तम्भकार, विज्ञापनदाता लगायत सम्पूर्ण नेपालीका निम्ति स्वर्णिम बनेर उदाओस्, हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: