अन्यायको पराकाष्ठा

मेचीनगरका श्याम थापा र विर्तामोडकी धनमाया बस्नेतले सहनु परेको अन्यायले हाम्रो सामाजिक र प्रशासनिक बेथितिको पराकाष्ठा नै उजागर भएको छ । मेचीनगर–६ का ३५ वर्षीय श्याम थापा २०६४ साल जेठ २२ गते कतारको कुनै कारखानामा काम गरिरहेका बेला टाघनडुब्बामा अबैध रक्तचन्दन प्रहरीबाट बरामद भएको थियो । घटनासँग बेखबर उनी अभियुक्तसँग नाम थर मिलेकै निहुँमा १३ दिन कारागारमा कैद हुनुपरेको छ । बुधवार झापा जिल्ला अदालतले उनलाई निर्दोष सावित गर्दै रिहाइ गरेको छ । तर एउटा निर्दोष नागरिकलाई अनाहकमा त्यतिका दिनसम्म राज्यले शक्ति प्रयोग गरेर कैद सजाय दिनु घोर अन्याय हो । यसबाट प्रशासनिक निकायको बेथिति र नालायकिपन छ्याङ्गै भएको छ । सयौ अपराधी छुटुन्, तर एउटा पनि निरपराध व्यक्तिले सजाय भोग्नु नपरोस् भन्ने मूलमन्त्र अपराध अनुसन्धानमा प्रयोग हुन्छ । तर श्याम थापाको विषयमा प्रहरी र अदालत दुबै चुकेका छन् । पुरानो फैसला कार्यान्वयन गर्ने क्रममा अदालत र प्रहरीको यस्तो गम्भीर त्रुटीको शिकार बनेका श्याम थापाले राज्यबाट चित्तबुझ्दो क्षतिपूर्ति पाउनु पर्छ ।

गत साता विर्तामोडकी धनमायाले अमानवीय अपमान र पीडा आफ्नै देशमा परिवारबाट भोग्नु परेको छ । वैदेशिक रोजगारीको क्रममा जोर्डन गएकी उनी कार्यस्थलबाट एक्लै घर फर्किने सिलसिलामा यौनपिपासुको शिकार भइन् । बलात्कारको पीडा गर्भमा बोकेर स्वदेश फर्किएकी उनले घरपरिवारबाट सहानुभूति र सहयोग पाउनुको साटो अपमान पाइन् । उनी घरबाट निकाला भइन् । माइतीको शरणमा जानु पर्यो । आम सञ्चारमाध्यम गुहारेर न्याय माग्नु परिरहेको छ । बलात्कृत हुनु उनको दोष होइन । यो त उनका लागि अन्याय र कठोर पीडा थियो । यस्तो बेला घरपरिवारले उनको पीडा सहजै बुझिदिन सकेन । यस्तो बेला समाजले सहयोग गर्न पर्छ, राज्यले मदत गर्न पर्दछ । अहिले सरकार भनेको नगरपालिका पनि हो । जनप्रतिनिधि र अधिकारबादीको जमात कम छैन । तर यस्तो बेलामा पनि धनमायाको पीडामा मल्हम लगाउन अन्कनाइरहेका छन् कथित अधिकारकर्मीहरु । समासेवी बनेर संस्था चलाउनेहरु नाफा र नोक्सान हिसाब गरेर बसिदिने हो भने धनमायाहरु जिउँदै मरेतुल्य हुनेछन् । सहारा नेपाल लगायतका केही संस्थाहरु र सीमित अधिकारकर्मीहरुले धनमायाको पक्षमा सही वकालत र सहयोग गरिरहेका छन् । सबै समस्यालाई कानूनले मात्र सम्बोधन गर्दैन । व्यावहारिक र परिस्थतिजन्य विषयलाई मनन गर्नु पर्ने हुन्छ । धनमायाको व्यथामा अहिलेको लोकतान्त्रिक र उन्नत समाजले पीडामाथि नुनचुक छर्किन दिनु हुन्न । उनलाई पुनस्र्थापित गर्न सम्भव सबै उपाय गरिदिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: