नाकामा अवाञ्छित गतिविधि

काँकरभिट्टा नेपालको बहुआयामिक महत्वको नाका हो । यहाँबाट भारत, भूटान, बङ्गलादेश र म्यान्मारसम्म पर्यटकहरुको आवतजावत हुने गर्दछ । तेस्रो मुलुकलाई जोड्ने फुलबारी बङ्गलाबन्ध पारवहन मार्ग यहीबाट सुरु हुने भएकाले व्यापारिक हिसाबले यसलाई रक्तधमनीको रुपमा मानिन्छ । तर काँकरभिट्टाको तुलनामा भारततिरको नाका पानीटङ्की ज्यादै अव्यवस्थित बन्दै गएको छ । जसको मार नेपाली पक्षले बारम्बार भोग्नु परिरहेको छ ।

शनिवार दिउँसो पानीटङ्कीमा नेपाली व्यापारीहरुमाथि भारतीय व्यापारिक समूहबाट अभद्र व्यवहार भयो । केही नेपाली व्यापारीले कुटाइ समेत खानु परेको छ । नेपालीहरुले बोकेको सामान फ्याँकिदिने र गालीगलौज गर्ने तल्लो स्तरको दूव्र्यवहार हुँदा समेत उताको सुरक्षा निकायबाट सुरक्षा दिने कार्य हुन सकेन । पानीटङ्की बजार एकप्रकारले नेपालीहरुले नुनतेलदेखि तरकारीसम्म खरिद गर्ने घरेलु बजार जस्तै भएको छ । शनिवार भारतीय व्यापारीहरुले नेपाली पक्षलाई दुःख दिने उद्देश्यले डेढ घण्टाभन्दा बढी समयसम्म अन्तर्राष्ट्रिय नाका बन्द नै गराए । नाका बन्द गराउने कार्यले भारतीय पक्षको ज्यादति सावित भएको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका भएकाले काँकरभिट्टा र पानीटङ्की दुबैतिरको प्रशासनले सुरक्षा व्यवस्था नियन्त्रण बाहिर जान दिनु हुँदैन । भारतीय सीमा प्रशासन शनिवार आफ्नो दायित्वबाट चुकेको देखियो । नाकामा बलियो सुरक्षा हुँदा दुबै देशका नागरिक लाभान्वित हुन्छन् । नेपाल र भारतविचको सम्बन्ध जनस्तरमा जुन खालको सुमधुर छ, त्यसलाई नाकामा हुने यस्ता अभद्र व्यवहार र बन्द हड्तालले बिथोल्ने खतरा हुन्छ । शनिवारको घटना केहीको व्यक्तिगत झगडामा आधारित भएको बताइएको छ । व्यक्तिको झगडामा अन्तर्राष्ट्रिय नाका नै बन्द गर्ने यस्तो प्रवृत्तिलाई दोहोरिन नदिन चुस्त सतर्कताको जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: