राष्ट्रपति भ्रमणको महत्व

Presedent Bidya Devi Bhandari. Photo: President’s Office

मुलुकको गरिमामय प्रतिष्ठावाहक राष्ट्रपतिको भ्रमणलाई विवादित बनाउने बढ्दो क्रमले नराम्रो सन्देश प्रवाहित हुन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार झापाको दुई वटा नमुना कृषि परियोजना अवलोकनका लागि आएकी थिइन् । गौरादहमा सहकारीबाट प्रवर्धित कृषि परियोजना र शिवसताक्षीको चन्द्रडाँगी कृषि फार्ममा भएको राष्ट्रपतिको आगमन उच्च महत्वको थियो । मुलुककै सर्वोच्च पदमा पुगेयता उनको पहिलो झापा भ्रमण भएकाले त्यसले झापावासीलाई गर्वबोध हुनु पथ्र्यो । तर, विभिन्न वहाना र कारणले उनको भ्रमणलाई नकारात्मक चर्चाको विषय बनाइनु दुःखद् छ ।

राष्ट्रपति भनेको गणतन्त्र नेपालको प्रतीक संस्था हो । हिजो गणतन्त्र वहाली हुन अघि राज्य प्रमुखको यो स्थानमा बंशका आधारमा सत्ता चलाउँदै आएका राजाहरु हुन्थे । अहिले राष्ट्रपति पद राजनीतिक रुपमा तटस्थ र साझा संस्था हो । यो पदको गरिमा बचाउन नसक्ने हो भने सोझो असर गणतन्त्रमा पर्ने निश्चित छ । गणतन्त्रको नयाँ अभ्यास भइरहेका कारण राष्ट्रपतिको भ्रमण कस्तो हुनु पथ्र्यो भन्ने विषयमा अनेक मत छन् । पूर्व राजाहरुकै शैलीमा सवारी चलाउने कार्यलाई जनस्तरबाट रुचाइएको छैन । यो जनचाहनाको कदर गरेर राज्यले राष्ट्रपतिको भ्रमण गणतन्त्र र सङ्घीयताको मर्म र भावना अनुकूल तुल्याउनु पर्छ छ ।

अहिले राष्ट्र«पतिलाई निरन्तर विवादमा पारिनुमा दुई खाले कारण देखा परेका छन् । एउटा कारण गणतन्त्र नरुचाउने पक्षले जबर्जस्त राष्ट्रपति जस्तो प्रतिनिधिमूलक संस्थामाथि धावा बोलिरहेको हुनसक्छ । अर्को खाले विवाद चाहिँ राज्यको बेढङ्गले निम्त्याएको हो । गौरादहको नमुना कृषि परियोजनाको अवलोकन राष्ट्रपतिले केही समय खर्चेर पैदल गर्न सक्थिन् । तर सवारी योजना बनाउनेहरुले उनलाई हवाई निरीक्षणमा जान बाध्य बनाए । अर्को पक्ष राष्ट्रपति आउँदा पक्ष र विपक्ष सबैलाई सहभागिताका लागि निम्त्याइनु पर्दछ । सत्तापक्षको मात्र राष्ट्रपति जस्तो बनाइनु हुन्न । अब राज्य भनेको सङ्घीय सरकार मात्र बुझिदैन । प्रदेश र स्थानीय तह पनि राज्यका खम्बा हुन् । कमी कमजोरी जसका पनि हुन्छन्, तर सानो विषयलाई पहाड बनाएर राष्ट्रपति जस्तो गरिमामय संस्थालाई विवादित तुल्याउने कार्य रोकिनु पर्छ । राष्ट्रपतिलाई विवादमा तानेर कसैले पनि राजनीतिक वा व्यक्तिगत स्वार्थ पूरा गर्ने कार्य अशोभनीय छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: