‘उपभोक्ता सन्तुष्ट हुने काम गरेको छु’

मेचीनगर–११ र १२ मा अवस्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी शनिबार हुँदैछ । समूहको आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गर्न पटक–पटक प्रयास भए । तर, सर्वसम्मतको प्रयास विफल भएपछि उम्मेद्वारहरु दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रगतीशिल प्यानलबाट अध्यक्ष पदका प्रत्यासी योगराज भट्टराई (योगेश) र लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका प्रत्यासी ज्ञानु तामाङ (वीरबहादुर) छन् । निर्वाचनको विषयमा केन्द्रित रहेर लोकतन्त्र पोस्टकर्मी विमर्श उप्रेती र प्रकाश पौडेलले गरेको कुराकानी ः

……………….

प्रगतीशिल तथा परिवर्तन पक्षधर समूहबाट अध्यक्ष पदका उम्मेद्वार

योगराज भट्टराई (योगेश)

अध्यक्ष पदमा तपार्ईंको उम्मेद्वारी किन ?

–‘कालिका वन जनताको धन, गरौँ सबैले चौतर्फी आय आर्जन’ भन्ने नारासहित कालिका वनलाई जिल्लाकै उत्कृष्ट वनको रुपमा अगाडि बढाउने हाम्रो योजना छ । सामुदायिक वन संरक्षण र सम्बर्धनका लागि अघिल्लो कार्यकालमा मैले नेतृत्व गरेको टिमले गरेका कामलाई मूल्याङ्कन गर्दै प्रगतीशिल तथा परिवर्तन पक्षधर समूहका तर्फबाट अध्यक्षमा मेरो उम्मेद्वारी हो । कामको उच्च मूल्याङ्कनका आधारमा मलाई यहाँका उपभोक्ताहरुको अपार माया र स्नेह छ । त्यसैले पनि हामीलाई आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजय गराउनुहुुन्छ भन्ने विश्वास लिएको छु ।

तपाईंंका चुनावी एजेण्डा के–के छन् ?

–अघिल्लो कार्यकालमा भएका उपभोक्तामैत्री कामलाई निरन्तरता दिँदै कालिका सिमसारलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रमुख एजेण्डा हो । वैज्ञानिक वन व्यवस्थापन नीति अनुरुप यस वनलाई अगाडि बढाइएको र आगामी दिनमा पनि निरन्तरता दिइनेछ । विपन्न वर्गका उपभोक्ताहरुलाई घर बनाइदिने, ग्यास, चुलो, खाट, जस्तापाता लगायत उपलब्ध गराउने कार्यक्रम अगाडि बढाउने छु । हाम्रो क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्र्री साथै विद्यालय पोशाकको व्यवस्था गरिनेछ । ४० घर परिवारलाई सम्बन्धित निकायसँग समन्वय गरी स्वच्छ पिउने पानी र शौचालयको व्यवस्था गरिनेछ । कालिका सिमसार तथा पर्या–पर्यटन क्षेत्रलाई गुरुयोजना अनुसार प्रवेशद्वार, आकर्षक कम्पाउन्ड वाल, चिल्ड्रेन पार्क, सभा हल, २२ फिटको मेचीनगर झरनालगायतका योजनालाई अगाडि बढाइनेछ । उपभोक्ताहरुको जीवनस्तर उकास्न अन्य थुप्रै कार्यक्रम ल्याइनेछ ।

चुनाव जित्ने आधार के–के छन् ?

–मेरो कार्यकालमा थुप्रै कामहरु भएका छन् । विशेषगरी कालिका सिमसारको ‘मास्टर प्लान’ बनेको छ । यो गौरवको विषय हो । जसअनुसार कालिका सिमसार तथा पर्या–पर्यटनको नाममा १३ हेक्टर जग्गा सिमसारको नाममा दर्ता गरिएको छ । अति विपन्न वर्गका उपभोक्ताको पहिचान गरी १० वटा घर निर्माण गरिएको छ । उपभोक्तालाई दिइँदै आएको सेवा सुविधाहरु घाँस, दाउरा, काठ वितरण गर्ने पद्धतिलाई विधानत पारदर्शी ढङ्गले अगाडि बढाइएको छ । मेरो कार्यकालमा उपभोक्ता सन्तुष्ट हुने गरिको काम गरेको छु । त्यसैले, उहाँहरुले मलाई अत्यधिक बहुमतका साथ विजयी गराउनुहन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।

प्रतिष्पर्धीलाई कुन रुपमा लिनुभएको छ ?

–मसँग प्रतिष्पर्धा गर्न चुनावी मैदानमा उत्रिनु भएका ज्ञानुजीलाई सौहार्दपूर्ण वातावरणमा अतिरञ्जित नभई अगाडि बढ्न अनुरोध गर्दछु । सर्वसम्मतको प्रयास पटक–पटक गरियो । तर, अधिकांश उपभोक्ताले वनमा फेरि पनि मलाई नेतृत्वका रुपमा अघि सारेपछि उम्मेद्वार बनेको हुँ । यसलाई मैले स्वभाविक रुपमा लिएको छु ।

मतदातालाई के भन्न चाहनु हुन्छ ?

–मेरो नेतृत्वमा विगतमा वन समूहले उपभोक्ताको हितमा गरेका सुधार र कार्य सम्पादनलाई आदरणीय मतदाता महानुभावहरुले बुझ्नु भएकै छ । समूहलाई जिल्लाकै तेस्रो उत्कृष्ट सामुदायिक वनका रुपमा स्थापित गर्न उपभोक्ताको सहयोग महत्वपूर्ण थियो । मेरो टिमले आगामी कार्यकालमा यस वनलाई जिल्लाकै उत्कृष्ट बनाउने प्रतिबद्धता जाहेर गर्दछु । भावी दिनमा पनि उपभोक्तालाई प्रत्यक्ष रुपमा लाभ हुने कार्ययोजना हाम्रो प्रतिबद्धता पत्रमा समावेश गरेका छौँ । समय अभावका कारण पूरा गर्न नसकेका अधुरा काम फत्ते गर्न यहाँहरुको मतको हामीलाई खाँचो छ । हाम्रो टिममा समूहको अघिल्ला कार्यकालमा पनि जिम्मेवारी लिएका अनुभवी साथीहरु हुनुहुन्छ । त्यसैले मतदाता आफैँ सचेत हुनुहुन्छ ।

अन्त्यमा ?

–यस संस्थाका सम्पूर्ण उपभोक्ता महानुभावहरुमा म लगायत मेरो नेतृत्वको प्रगतीशिल तथा परिवर्तन पक्षधर समूहलाई अत्यधिक बहुमतका साथ विजयी गराउनुहुन विशेष अपिल गर्दछु ।

………………….

उपभोक्ता मेरो पक्षमा छन्

लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार

ज्ञानु तामाङ (वीरबहादुर)

अध्यक्ष पदमा तपार्ईंको उम्मेद्वारी किन ?

–यो मेरो पहिलो उम्मेद्वारी होइन । यसअघि पनि म अध्यक्ष पदको उम्मेद्वार थिएँ । उपभोक्ताबाट सम्मानजनक मत पनि पाएकै हुँ । समूहका उपभोक्ताले नरुचाएका होइनन् । तर, म उपविजेता बन्न पुगेँ । विजेता बन्न केही मत पुगेन । परिस्थिति अहिले अर्कै छ । विगतको कार्यसमितिले गर्न नसकेका अधुरा काम पूरा गर्न, समूहको मुहार फेर्न, त्यहाँ भित्रका आर्थिक अनियमितता र अपारदर्शी गतिविधि अन्त्य गरी उपभोक्ताको हितमा काम गर्नकै लागि मेरो उम्मेद्वारी अनिवार्य ठानेको हुँ ।

तपाईंंका चुनावी एजेण्डा चाहिँ के–के छन् ?

–हामी अहिले उपभोक्ताको हितलाई ध्यानमा राखेर तयार गरिएको एजेण्डासहित उपभोक्ता भेटघाटमा छौँ । हाम्रा एजेण्डा समूह र आम उपभोक्ताको हितमा छन् । वनको आर्थिक अनियमितता बारे उपभोक्ता छर्लङ्ग छ । कार्यसम्पादन शैली फितलो छ । अनियमिततालाई पारदर्शी रुपमा सार्वजनिक गर्नु मेरो पहिलो एजेण्डा हो । मेचीनगर–११ को डिपु डाँडामा मलामी टहरा बनाउँछौँ । त्यसका लागि जग्गाको व्यवस्था गर्छौँ । उपभोक्ता परिचय पत्रबाट बञ्चित छन्, परिचय पत्र अनिवार्य छ, त्यसको प्रबन्ध गर्छौँ ।

चुनाव जित्ने आधार के–के छन् ?

–वैज्ञानिक वन व्यवस्थापन गर्न जस्तो नीति बन्नुपथ्र्यो । त्यो अनुरुप बन्न नसक्नु दुखद छ । त्यसमा म प्रतिबद्ध छु । उपभोक्ता मेरो पक्षमा छन् । वर्तमान कार्यसमितिले चित्तबुझ्दो काम गर्न सकेन । निर्वाचन अघि उपभोक्ताको हित गर्ने एजेण्डा ल्याइए पनि काम सन्तोषजनक भएन । उपभोक्ता समूहमा नयाँ नेतृत्व चाहन्छन् । उपभोक्तालाई प्रत्यक्ष लाभ हुने किसिमका कार्ययोजना समितिले ल्याउन नसक्दा चौतर्फी गुनासो छ । हामी उपभोक्ताको पक्षमा छौँ । त्यसकारण चुनाव जित्ने हाम्रो टिम नै हो ।

प्रतिष्पर्धीलाई कसरी लिनुभएको छ ?

–प्रतिष्पर्धीलाई मैले इगोको रुपमा लिएको छुइन । यसअघिको चुनावमा पनि योगेशजीसँगै मैले उम्मेद्वारी दिएको थिएँ । त्यो बेला म उपविजेता भएँ । तर, मलाई पश्चाताप छैन । चुनाव अङ्क गणितको खेल हो । हारजीत स्वभाविक छ । म आतिन्न । समूहका राम्रा योजनालाई समर्थन छ मेरो । चुनावी माहोल अहिले मेरो पक्षमा देखिनुले पनि निर्वाचन जित्ने कुरामा दुईमत छैन । समूहको अनियमितता लगायत अन्य अपारदर्शी कामको भण्डाफोर गरी उपभोक्ताको हितमा काम गर्न पनि मेरो उम्मेद्वारी हो ।

–मतदातालाई के भन्न चाहनुहुन्छ ?

–आदरणीय उपभोक्ता महानुभावहरु नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ भन्ने कुरामा म ढुक्क छु । तपाईंको एक मतले नै हार र जितका लागि निर्णायक भूमिका खेल्छ । त्यसैले विवेक प्रयोग गरी मतदान गर्नुहुन्छ भन्ने विश्वास छ । मलाई पहिला पनि सम्मानजनक मत दिनुभयो । त्यसका लागि धन्यवाद ज्ञापन गर्छु । यसपटक हाम्रो प्यानललाई विजय गराइदिन पनि म अनुरोध गर्न चाहन्छु ।

–अन्त्यमा ?

पहिलो कुरा त उपभोक्ताबाट प्राप्त हुने मत पार्टीलाई नभई उम्मेद्वारलाई हो भन्ने बुझ्न जरुरी छ । म पनि कुनै पार्टी विशेषबाट उम्मेद्वार छु । तर पनि म आम उपभोक्ताको साझा मान्छे हुँ । सर्वसम्मत हुन नसकेपछि प्यानल निर्माण गर्नुपर्ने बाध्यता बन्यो । त्यसैले एउटा प्यानलमा म पनि परेँ । तर, वनको नेतृत्वमा पुगेपछि म पार्टीको होइन, उपभोक्ताको मान्छे हुन्छु र हुनुपर्छ पनि । त्यसैले आम मतदाताले लोकतान्त्रिक समूहलाई अत्यधिक बहुमत दिई विजयी गराउनुहुन्छ भन्ने विश्वास लिएको छु ।

………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: