नेताहरु हराउँदा ‘न खोजी न खबर’

अर्जुन कार्की

।। विशेष रिपोर्ट ।।

झापा, १४ चैत । देशमा आफ्नै पार्टीको सरकार छ र पनि नेकपा झापाका दुई नेता महिनौंदेखि सम्पर्कविहीन छन् । लामो समयदेखि नेताहरु वेपत्ता रहँदा समेत खोजी नगरिदिएकोमा परिवारले पार्टीसँग दुःखेसो गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका वरिष्ठ नेता हर्कबहादुर खड्का ११ महिनादेखि र मेचीनगरका वरिष्ठ नेता दीपक भण्डारी ३ महिनादेखि सम्पर्कविहीन छन् । उनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अत्तोपत्तो लाग्न सकेको छैन ।

झापा विद्रोहका क्रममा लामो समय जेलनेल व्यहोरेका र माओबादी सशस्त्र आन्दोलनका अवधिमा झापा जनसरकारको प्रमुख समेत बनेका खड्का २०७४ चैत २८ गते बिर्तामोड–३ स्थित बिर्ताबजारको घर छेउको आफ्नै चिया पसलबाट सम्पर्कविहीन भएका हुन् ।

उनी वेपत्ता भएको ९ महिना पछि गत पुस ४ गते विहान ८ बजे मेचीनगर–१० धुलाबारीबाट तत्कालीन नेकपा एमालेका नगर अध्यक्ष दीपक भण्डारी एकाएक वेपत्ता भए । घर नजिकको हिमालयन कलेजका निर्देशकसमेत रहेका नेता भण्डारी कलेजमा वैठक छ भन्दै गत पुस ४ गते विहान ८ वजे घरबाट निस्केका थिए । तर, अहिलेसम्म फर्केका छैनन् ।

वरिष्ठ नेता हर्कबहादुर खड्का

विरक्तिए जनसरकार प्रमुख ः
बिर्ताबजारको घर छेउमा समयदेखि चियानास्ता पसल सञ्चालन गर्दै परिवारसँग बस्दै आएका नेता खड्का एकाएक गायव भएका थिए । त्यसबेला खड्काकी श्रीमती अम्बिका खड्का ज्वरो आएर घरमा विरामी भएर बसेकी थिइन् ।

विरामी पत्नी अम्बिकालाई घरमा छाडेर पसलबाटै सम्पर्कविहीन भएका उनी बिर्ताबजारकै एउटा सहकारीको अध्यक्ष समेत रहेका थिए । आर्थिक समस्याले आक्रान्त भएपछि उनी विरक्तिएर घर छोडेर हिँडेको स्थानीयको भनाइ छ ।

‘हामीले बिर्ताबजार चोकमा चियानास्ता पसल सञ्चालन गर्दै आएका थियौँ’, नेता खड्काकी पत्नी अम्बिकाले लोकतन्त्र पोस्टसँग भनिन्–‘म ज्वरोले थला परेर घरैमा बसेकी थिएँ । भेट गर्न समेत नआई उहाँ पसलबाटै वेपत्ता हुनुभयो ।’

खड्काका दुई श्रीमती छन् । अम्बिका जेठी श्रीमती हुन् भने कान्छी श्रीमती झापाकै घेराबारीमा बस्छिन् । अम्बिकाको दुई छोरा र दुर्ई छोरी छन् भने कान्छी श्रीमतीको दुई छोरा र एक छोरी छन् । अम्बिकाकी एक छोरी अमेरिकामा छिन् भने एउटा छोराको पाँच वर्षअघि मृत्यु भएको थियो ।

२०२६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेता खड्का झापाका इमानदार नेताको रुपमा परिचित छन् । विगतमा उनी झापामा माओवादीका जनअदालतका न्यायाधीश र जनसरकार प्रमुख समेत भए । तत्कालीन माओवादी पार्टीबाट एमालेमा प्रवेश गरेका उनी पछिल्लो समय नेकपामा आवद्व भए पनि पार्टी गतिविधिमा सक्रिय थिएनन् ।

‘मेरा श्रीमान गरिव, निमुखाको भलो चिताएर वर्ग सङ्घर्षका लागि २०२६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो’, उनी भन्छिन्–‘अहिले आफ्नै पार्टीको सरकार छ । तर, हामीलाई कस्तो अवस्थामा बाँचिरहेका छन् भनेर फर्केर कसैले हेरेनन् ।’

खड्काकी श्रीमती अम्बिका

नेताहरुसँग परिवारको गुनासो ः
तत्कालीन माओवादी र एमालेका नेताहरु विगतमा घरमा आफ्ना पतिलाई भेट्न आउने गरेको तर अहिले उनी वेपत्ता भएपश्चात पार्टीका कुनै नेता तथा कार्यकर्ताले सन्चो बिसन्चो नसोधेको उनले गुनासो सुनाइन् ।

२०२८ सालको झापा आन्दोलनका योद्वा खड्काले पञ्चायती कालरात्रिमा १४ वर्ष जेलजीवन बिताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका उच्च नेताहरुको समकालीन उनले २०३० सालमा नख्खु जेल ब्रेक गरेर चर्चित भएका थिए ।

एमालेमा रहँदा ७१ वर्षीय खड्का तत्कालीन गाविसको अध्यक्ष समेत थिए । २०५२ साल पछि उनी एमाले छाडेर माओवादी पार्टीमा लागे । १० वर्ष जनयुद्वमा होमिएका उनले झापा जनसरकार प्रमुख भएर अन्यायमा परेका निमुखा कैयन जनतालाई न्याय दिलाउने प्रयास गरेका थिए ।

माओबादीमा केन्द्रीय सल्लाहकार रहेका उनलाई तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका बेला सम्मानजनक ठाउँमा राख्ने भनेर फकाइफुल्याई एमालेमा प्रवेश गराएका थिए ।

१४ वर्ष जेल बस्दा प्रहरीको कुटाइले खड्काको ढाडको मेरुदण्ड चल्दैन थियो । उनको उपचारका लागि ओली प्रधानमन्त्री भएका बेला सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, खड्काले उक्त रकम नलिएको परिवारको दावी छ ।

‘प्रदेशको चुनावका बेला उनी डिप्रेसनमा परे’, प्रगतिवादी साहित्यकार एवम् खड्का सहकर्मी बामपन्थी नेता यज्ञराज प्रसाई भन्छन्–‘सरकार र पार्टीबाट पनि खड्कालाई कुनै सम्मानजनक पदमा राखिउन, यसबाट उहाँमा चिन्ता थपियो ।’

चुनावका बेला वेपत्ता भएका खड्कालाई खोजी गरिदिन सरकारलाई अनुरोध समेत गरिएको थियो । तर, सुनुवाई नभएको प्रसाइको भनाइ छ ।

दिपक भण्डारी

घर फर्किएनन् भण्डारी ः
यता, नेकपा मेचीनगरका नेता दिपक भण्डारी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो । त्यसदिन विहान ९ बजे घरबाट खाना खाएर बाहिर निस्केपछि सम्पर्कविहीन अवस्थामा रहेको उनकी पत्नी गीता भण्डारीले बताइन् ।

‘विहान एकपटक कलेज गएर घर फर्किएपछि करिव ९ वजे हामी सबै जना एकसाथ खाना खाइयो’, भण्डारीले भनिन्–‘खाना खाएपछि म भाडावर्तन धुन लागे, छोरा सुलभको स्कुलमा कार्यक्रम थियो । छोरा सँगसँगै निस्कनु भएको उहाँ कलेज जानु भयो होला भनेर सोचेको थिए । तर, दिनभरी पनि नआएपछि म आत्तिए ।’

वेपत्ता हुँदा भण्डारीले मोटरसाइकल, दुई थान मोबाइल र पर्ससमेत घरमै छोडेर गएका थिए । उनका अनुसार प्रिन्सिपलका विषयमा कलेजमा गत पुस ३ गते वैठक थियो तर, समितिका अन्य व्यक्तिहरु नआएपछि बैठक स्थगित गरिएको रहेछ ।

खोजी गर्दा रिक्सामा चढेर पानीट्याङ्कीतिर लुसुलुसु हिँडेको दृश्य काँकरभिट्टा नाकाको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । त्यो बाहेक उनको बारेमा कसैले केही बताउन सकेको छैन ।

भण्डारी हराएको सय दिन भइसक्दा समेत कतैबाट यहाँ छु, उहाँ छु भनेर खवर नआएको पत्नी गीता भण्डारीले बताइन् ।
आफुले थाहा भएसम्मका आफन्तलाई खवर गरिसकेको र अहिलेसम्म कहिँकतै फेला नपरेको उनको भनाइ छ । उनले खोजी गरिदिन सरकार, पार्टी, आफन्त र शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

पार्टीभित्रैबाट ओझेलमा पारिए ः
पछिल्लो समय नेता भण्डारीलार्ई पार्टीबाट वेवास्ता गरिएको थियो । एमालेमा उनको ठूलो योगदान रहेको थियो । तत्कालीन एमाले र माओवादीको एकीकरण सँगसँगै नेकपा गठन भएपछि भण्डारीलाई पार्टीका केही नेताहरुले ओझेलमा पारेका थिए ।

वेवास्ता बढ्दै गएकाले विरक्तिएर भण्डारीले घर छोडेर हिँडेको हुनसक्ने धेरै शुभचिन्तकहरुको अनुमान छ । आफ्नै पार्टी नेताहरुले आश देखाएर काम लगाउने, अनि पछि जिल्ल पार्ने व्यवहार नेताहरुले देखाउन थालेपछि पार्टीबाट भण्डारी विरक्तिएको कार्यकर्ताहरुको भनाइ छ ।

‘हाम्रो परिवार भित्र, आफन्त र नातागोतामा कहिले नराम्रो थिएन’, भण्डारीकी पत्नी गीताले भनिन्–‘आर्थिक पक्षमा पनि समस्या छैन । कलेजका विषयमा सामान्य तनाव लिनु हुन्थ्यो, पार्टीका नेताहरुको व्यवहारका कारण विश्वास कम हुँदै गएको थियो, विरक्तिएर हिँड्नुको कारण पनि यहि हो कि भन्ने बुझ्दै छु ।’

तत्कालीन एमाले मेचीनगरका अध्यक्ष, धुलावारी जेसीजका पूर्व अध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशक लगायत थुपै्र जिम्मेवारीमा रहेका भण्डारीको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको थियो । तर, अहिलेसम्म खास अवस्था प्रहरीले पत्ता लगाउग्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी एवम् प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ स्वीकार्छन् ।

डीएसपी श्रेष्ठले नेता भण्डारीको मोवाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्यसमेत गरेको थियो । कतैबाट केही प्रमाण जुटाउन नसकेपछि प्रहरीले नाकाको फुटेज सार्जजनिक गरेर खोजी कार्य नै स्थगन गरेको जस्तो देखिएको छ ।
भण्डारी भारततर्फ लागेको हुन सक्ने आशङ्कामा त्यस क्षेत्रमा हालसम्म पनि व्यापक खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

क्यामेरामा लुसुलुसु भारततिर ः
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी महेश थापाले भण्डारी भारततिरै छिरेको ठोकुवा गर्छन् । रिक्सामा चढेर पानीट्याङ्कीतिर लागेको सीसी क्यामेराको फुटेजलाई उनी भारततिर लागेको भरपर्दो प्रमाण मानिएको डीएसपी थापाको भनाई छ । भण्डारीको खोजीका लागि उनका आफन्तसँग जिल्ला प्रहरी, इप्रका काँकरभिट्टा लगायतको प्रहरी टोली भारततर्फ पटकपटक गएको थियो । तर, हालसम्म भण्डारीको पत्तो लाग्न सकेको छैन ।

आसाममा भएको दावी ः
एघार महिना बितिसक्यो नेता खड्काको अतोपत्तो लागेको छैन । झापाका नेकपाका नेताहरुको भनाइ बेग्लै छ ।
एक नेताका अनुसार नेकपाका नेता खड्का वेपत्ता भएका छैनन् । खड्का भारतको आसाममा आफन्तकोमा सुरक्षितसँगले बसेको ती नेताको भनाइ छ ।

तर, खड्काकी पत्नी अम्बिका त्यो कुरा बारे आफुहरु जानकार नभएको बताउँछिन् । उनले अहिलेसम्म पति कहाँ छन् भन्ने खवर कतैबाट पनि नआएको दावी गरिन् ।

२०४६ सालदेखि एउटा खुट्टामा समस्या देखा परेपछि वैशाखीको भरमा हिड्न बाध्य अम्बिकाको सहारा अहिले कोहि छैनन् । अम्बिकाको बिर्ताबजारमा एउटा सानो टिनको छानो तथा चित्राको बेराको भुइँ घर छ । अम्बिका उक्त घरमा वैशाखीको भरमा एक्लो जिन्दगी बिताइरहेकी छन् ।

चार वर्षमा साढे चार सय वेपत्ता ः
झापामा चारवर्ष यता नेता र सर्वसाधारण व्यक्ति सम्पर्कविहीन हुनेहरुको फेहरिस्त प्रहरीसँग छ ।
जिल्ला प्रहरी कार्यालयले विगत चार वर्ष यता साढे चार सय व्यक्ति सम्पर्कविहीन भएको जनाएको छ ।

झापाका ४ सय ५३ जना व्यक्तिहरु अझै सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झापामा २०७२÷७३ सालमा महिला, बालक, बालिका र पुरुष गरी ४ सय ३ जना हराएका थिए । जसमा महिला २ सय ५०, बालक ५०, बालिका ५५ र पुरुष ४८ जना हराएका थिए । त्यसमध्ये महिला २ सय ४, बालक ४३, बालिका ४६ र पुरुष ४० गरी ३ सय ३३ जना भेटिएको कार्यालयले जनाएको छ ।

२०७३÷७४ मा महिला, बालक, बालिका र पुरुष गरी ४ सय ९६ जना हराएका थिए । जसमा महिला ३ सय ३९, बालक ४५, बालिका ४४ र पुरुष ६८ जना हराए । त्यसमध्ये महिला २ सय ९१, बालक ४४, बालिका ३२ र पुरुष ५५ गरी ४ सय २२ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, २०७४÷७५ मा ५ सय ५८ जना हराएका थिए । जसमा महिला ३ सय ६६, बालक ४२, बालिका १ सय १ र पुरुष ४९ जना हराए । त्यसमध्ये महिला २ सय ९८, बालक ३८, बालिका ३० र पुरुष ३ सय ८८ गरी ४ सय ४ जना भेटिएको कार्यालयको तथ्याङ्कले बोल्छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७५÷७६ मा ३ सय ९९ जना हराएका थिए । जसमा महिला १ सय १, बालक २९, बालिका ७४ र पुरुष ९५ जना हराए । त्यसमध्ये महिला १ सय १०, बालक १४, बालिका ४३ र पुरुष ३७ गरी २ सय १४ जना भेटिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी श्रेष्ठले हराएका नेता तथा सर्वसाधारण भेटिइने पनि गरेका छन् । भेटिइने भन्दा पनि हराउने क्रम बढी रहेको प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ ।

२०७२ सालमा ७०, २०७३ मा ७४, २०७४ मा १ सय ५४ र २०७५ सालको फागुन महिनासम्ममा २ सय ५ जना गरी झापामा गत चार वर्षदेखि हालसम्म ५ सय ३ जना व्यक्ति अझै नभेटिएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

प्रहरी भन्छ–खोजिरहेकै छौं ः
‘नेकपा नेताहरु हराएको कुरा जानकारीमा छ’, डीएसपी श्रेष्ठले भने–‘नेता दीपक भण्डारी लगायतका नेताहरुको खोजी भइरहेको छ । जिल्लाको सिङ्गो प्रशासन खोजी कार्यमा लागेको छ, सीडीओ, एसपी लगायत सुरक्षाकर्मीले भारतको विभिन्न ठाउँमा सरकारी च्यानलबाट खोज्ने पहल भइरहेकै छ । तर, हालसम्म कतै फेला पार्न सकिएको छैन ।’

सम्पर्कविहीन नेता भण्डारीलाई त्यसबेला विहान ९ बजेर ४० मिनेट जाँदा रिक्सा चढेर भारतको पानीटङ्कीतिर जाँदै गरेको सीसी क्यामेराको फुटेज बाहेक अन्य केही तथ्य फेला नपरेको प्रहरीको भनाइ छ ।

भण्डारीलाई फर्किन आग्रह ः
परिवार, साथीभाइ, आफन्त र सामाजिक सञ्जाल कतै पनि सम्पर्क हुन नसकेपछि चिन्तित हुँदै सबैले सामाजिक सञ्जालमार्फत भण्डारीलाई घर फर्किन अनुरोध गरिरहेका छन् ।

भण्डारीकी पत्नी गीताले फेसबुकमार्फत नै ‘म सोच्नै सक्दिन, यस्तो के भयो’ भनेर आफ्ना पतिलाई घर फर्किन बारम्बार अनुरोध गरेकी छन् ।

अमेरिका पढ्न गएका भण्डारीका जेठो छोरा दर्पण भण्डारीले पनि फेसबुकमा–‘बाबा, हजुरलाई थाहा छ त हामी कति माया गर्छौँ, ‘हामी सबै हजुरको पर्खाइमा छौँ’ भनेर छोरा दर्पण आफ्ना बुबालाई घर फर्किन आग्रह गरिरहेका छन् ।’

भण्डारीका कान्छो छोरा सुलभ यहि चैत १० गतेदेखि एसईई दिइरहेका छन् । सुलभले पनि बुबालाई घर फर्किन अनुरोध गर्दै फेसबुकमा स्टाटस लेखे ।

मेचीनगरका चल्तीका नेकपाका नेता भण्डारी एकाएक वेपत्ता हुँदा नगरवासी आश्चर्यमा परेका छन् । आफन्त तथा शुभचिन्तकहरुले फेसबुकमा भण्डारीलाई चाँडो घर फर्केर परिवार र आफन्तहरुको चिन्ता मेटाउन आग्रह गरेका छन् ।

हर्क खड्काको घर

विरक्तिएको दावीसँग पार्टी असहमत ः
तत्कालीन एमाले मेचीनगरका अध्यक्ष एवम् नेकपाका वत्र्तमान सचिव राजु पोखरेलले सम्पूर्ण पार्टी पङ्ति निरन्तर खोजी कार्यमा जुटेको जानकारी दिएका छन् । ‘राजनीतिक कारणले विरक्तिएर हिँडेको भन्ने मलाई लाग्दैन’, पोखरेलले भने–‘राजनीतिक तनाव भए पनि उहाँ त्यस्ता समस्यालाई व्यवस्थापन गरेर हिँड्न सक्ने खुवी भएको कमरेड हुनुहुन्थ्यो ।’ उनले भण्डारीको आर्थिक पक्ष र परिवारमा सम्बन्ध के थियो भनने बारेमा आफुलाई थाहा नभएको बताए ।

‘दिपक कमरेडलाई पार्टीबाट फ्रस्टे«सन हुनु पर्ने कारण थियो जस्तो मलाई लाग्दैन’, प्रदेश सभाका सांसद् गोपालचन्द्र बुढाथोकी भन्छन्–‘जहाँसम्म पार्टीले उहाँलाई केहि पनि जिम्मेवारी दिएन भन्ने कुरा छ, उहाँ त एमाले मेचीनगरमा राजु पोखरेल अगाडिको अध्यक्ष नै हो नि ।’ पार्टीमा थप जिम्मेवारीका बारेमा कुरा चलेको तर अन्तिम किनारा लाग्न बाँकी रहेको अवस्थामा भण्डारी सम्पर्कविहीन भएको बुढाथोकीले बताए ।

दिपक कमरेडको खोजीका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा प्रहरीसँग आफुले कुरा गरेको बुढाथोकीले बताए ।

आखिर के कारण नेताहरु सम्पर्कविहीन भए भन्ने कहिँ कतैबाट यथार्थ जानकारी आउन सकेको छैन । हराएका आफ्ना प्रिय कमरेडहरुको खोजीमा पार्टी पङ्ति समेत गम्भीर नभएको हो कि भन्ने गुनासो परिवारले गर्न थालिसकेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: