खाद्यवस्तुको अत्यधिक मूल्यवृद्धि

  अर्जुन कार्की

झापा । सङ्घीय र प्रदेश सरकारले बजेट भाषण सार्वजनिक गरेलगत्तै व्यापारीहरुले विभिन्न खाद्य सामानको मूल्य बढाएका छन् ।

बजेट भाषणमा विभिन्न सामानको मूल्य बढेसँगै झापामा व्यापारीहरुले मनपरीरुपमा सामानको मूल्य बढाउन थालेका हुन् । आगामी साउनदेखि लागु हुने गरी सरकारले बजेट भाषणबाट सामानको मूल्य बढाए पनि व्यापारीहरुले अहिलेदेखि नै सामानको मूल्य अचाक्लीरुपमा बढाएका छन् ।

बजेट भाषण सार्वजनिक गरेका बेला व्यापारीहरुले सामान लुकाएर राखेका थिए । विगतमा भण्डारण गरेर राखेको सामान अहिले एक्कासी मूल्य बढाएर बजारमा बिक्री वितरण गर्न थालेका छन् । त्यसैले, अहिले झापाका जुनसुकै बजारमा सामानको मूल्य अचाक्ली बढेको देख्न सकिन्छ । व्यापारीहरुले विभिन्न बहानामा खाद्य सामग्रीहरुको मूल्य बढाएका छन् । दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुन थालेको छ । प्रदेश १ को प्रमुख सहर तथा व्यापारिक केन्द्रमा उपभोग्य वस्तुको अभाव र मूल्य वृद्धिको असर पहाडी जिल्लामा समेत परेको छ ।

सरोकार पक्षबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास तथा अनुगमन नहुँदा उपभोक्ताहरु मर्कामा परिरहेको उपभोक्ताहरुको भनाइ छ । ‘यतिबेला बजार अनुगमन आवश्यक छ,’ बिर्तामोडका श्याम निरौलाले भने, ‘माग बढ्ने बेला व्यापारीले अनावश्यक रुपमा मूल्य बढाएका हुन्छन् ।’ यसैबेला खाद्यवस्तुमा मिसावट र सडेगलेका वस्तुहरु बिक्री हुने गरेको पनि उनले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बजार अनुगमन गरी बजार भाउ नियन्त्रणमा पहल गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले प्रशासनको सहयोगमा बजार अनुगमन गर्ने बताए । ‘बजेट भाषण भएको दिनदेखि मूल्य बढ्ने होइन’, सिडिओ दाहालले भने, ‘बजेट भाषण अनुसार आगामी साउनदेखि मात्र मूल्य लागु हुन्छ । व्यापारीहरुले अहिले नै मूल्य बढाएको सुन्नमा आएको छ । बजारमा त्यस्तो भेटिए कालोबजारी ऐन अन्तरगत कारवाही गर्नेछौँ ।’

दमक बसपार्कका किराना पसल सञ्चालक सुनिल सुवेदीले गतवर्षको तुलनामा यसबेला १० देखि ५० प्रतिशतसम्म खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए । उनका अनुसार गेडागुडी, तेल, चामलमा मूल्य बढेको छ । ‘चना र तेलमा झन्डै ५० प्रतिशत वृद्धि भएको छ,’ उनले भने, ‘तेल प्रतिलिटर २ सयसम्म पुगेको छ ।’

झापामा तरकारीको भाउसमेत आकासिएको छ । ‘नयाँ आलुको मूल्य ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । तीते करेला एकसय ५० रुपैयाँ पुगेको छ । अन्य हरियो तरकारी पनि छोइनसक्नु भएको छ,’ उपभोक्ता कृष्ण रसाइलीले भने, ‘यो अचाक्ली मूल्य वृद्धि कसरी हुन्छ, उपभोक्ताले पनि थाहा पाउने संयन्त्र हुनुप‍र्यो ।’

बिर्तामोड सब्जीमण्डीका व्यापारी कमल शाह आन्तरिक उत्पादनमा कमी र भारतबाट आयातमा हुने वस्तुमा उतैबाट खरिद मूल्य बढेको बताउँछन् । उनी यसलाई नियमित वृद्धि भन्छन् । ‘गत वर्षको तुलना गर्न नै मिल्दैन,’ उनले भने, ‘हरेक महिना खाद्यवस्तुमा मूल्य बढेको छ ।’

झापामा भएको मूल्य वृद्धिको असर प्रदेश १ का सबै उपभोक्तामा परेको जानकारहरु बताउँछन् । त्यसैले मूल्य वृद्धि नियन्त्रण, बजार अनुगमन झापामै हुनु आवश्यक रहेको उनीहरुको भनाइ छ ।

झापामा वाणिज्य, गुण नियन्त्रण, नाप तौल लगायतका बजार अनुगमन गर्ने क्षेत्रीय तथा जिल्ला कार्यालय छन् । यी कार्यालयहरुले कुनै कामै नगरेको उपभोक्ताहरुको गुनासो छ ।

झापामा पनि कर वृद्धिको कारण देखाउँदै नुन, तेलदेखि दाल, चामलमा चर्काे मूल्य वृद्धि गरिएको छ । एक महिनायता खाद्यान्न र तरकारीमा १५ देखि २० रुपैयाँसम्म वृद्धि भएको छ । एक महिना अघिसम्म ३० देखि ३५ पर्ने मोटो चामल ४० देखि ४५ रुपैयाँ पुगेको छ ।

यसैगरी, ५० रुपैयाँ पर्ने मसिनो चामल ५५ देखि ६० पुगेको छ । एक महिना अघिसम्म १ सय ३० रुपैयाँ पर्ने तोरीको तेल अहिले १ सय ५० नाघेको छ । ‘हरेक कुरामा मूल्य वृद्धि भएको छ,’ भद्रपुर नगर बजारका थोक तथा फुटकर व्यवसायी अनिल सहनीले भने, ‘चामलदेखि नुन, तेल र तरकारी सबैमा मूल्य बढेको छ ।’

उनका अनुसार तोरीको तेल र रिफाइन्ड तेलमा धेरै मूल्य वृद्धि भएको छ । बिस्कुट, चाउचाउ, साबुनलगायतको मूल्य पनि बढेको छ । चालु आर्थिक वर्षपछि हरेक थोकको मूल्य अकासिएको व्यवसायीहरु बताउँछन् । भद्रपुर नगर बजारभन्दा ग्रामीण भेगमा मूल्य वृद्धि अझ बढी भएको छ । म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तुहरुसमेत ग्रामीण भेगमा बिक्री हुने गरेको पाइन्छ ।

‘हरेक सामानमा मूल्य वृद्धि भएको छ,’ नाम नछाप्ने शर्तमा मेचीनगर–६ स्थित काँकरभिट्टा बजारका थोक तथा फुटकर एक व्यवसायीले भने, ‘चामलदेखि नुन, तेल र तरकारी, चुरोट, सुर्तिजन्य पदार्थ सबैमा ठुला व्यापारीले मूल्य बढाएर पठाएको छ । माथिबाटै बढाएकाले हामीले पनि मूल्य बढाएर बेच्न बाध्य छौँ ।’

लामो समयदेखि बजार अनुगमन नहुँदा कालाबजारी मौलाउँदै गएको उपभोक्ताहरु बताउँछन् । एक महिनायता तरकारीमा पनि दोब्बर मूल्य वृद्धि भएको छ । लौका, फर्सी, मूला, काउली र बन्दा सबैको मूल्य दोब्बर भएको व्यवसायीहरु बताउँछन् । अहिले लौका, फर्सी र मूला र बन्दाको प्रतिकिलो ६०, काउलीको १ सय २० प्रतिकिलो पुगेको छ । ‘एक महिनादेखि तरकारीको मूल्य छोइनसक्नु छ,’ व्यवसायी मानबहादुर कटुवालले भने, ‘अहिले तरकारी अभाव हुने सिजन नै हो, तर यो वर्ष अलि बढी नै मूल्य बढेको छ ।’

कनकाईका भागवत राजबंशी गत वर्षसम्म २० रुपैयाँको एक मुठो साग बजारबाट किनेर खान्थे । यो वर्ष बजारमा हरियो साग आएदेखि चाख्न पाएका छैनन् । ‘३० देखि ४० रुपैयाँ मुठो साग छ,’ उनले भने, ‘तेल, चामल, दाल त छोइनसक्नु भएको छ ।’

भागवत दिनभरिको मजदुरी गरेको आम्दानीले परिवार पाल्ने गर्छन् । तुलसीबारीस्थित राजबंशी परिवारको ५० घरधुरीमा अहिले महँगीले सास्ती थपेको छ । जिल्लाका अधिकांशको दैनिकी कष्टकर बनाएको दमक नगरपालिका–३ का खगन चौधरीले गुनासो सुनाए । बजेट भाषण पछि बढेको मूल्यले जीवन धान्न कठिनाई भएको उनले बताए ।

‘गत वर्ष १६ सय पर्ने चामलको बोरा यसपालि १८ सय रुपैयाँ भन्दाबढी भएको छ,’ उनले भने, ‘आम्दानी बढेको छैन, खर्चले भने आकाश छुँदा आउँदै गरेका चाडवाड कसरी मनाउने भन्ने चिन्ता अहिल्यैबाट सुरु भइसक्यो ।’

खाद्यान्नमा २० देखि २५ प्रतिशतजति मूल्य बढेर आएको व्यापारीहरु बताउँछन् । उनका अनुसार तरकारी, नुन, तेल, दाल, चामलमा मूल्य बढेको छ । मदिरा र सुर्तिजन्यमा पनि मूल्य ३० प्रतिशत भन्दा बढी बढेको छ भने श्रृङ्गारका सामानमा न्यूनतम १० प्रतिशत मूल्य बढेको स्थानीय व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: