वीपीको प्रश्नले जवाफ पाएन

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० खयरडाँगीमा नेकपाले आयोजना गरेको एक कार्यक्रममा नेकपाका युवा कार्यकर्ता वीपी भट्टराईले पार्टीका नेताहरुलाई ‘कम्युनिस्ट सरकारले किसानका लागि के गरेको छ ?’ भन्दै जवाफ मागेका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा वडाको पार्टी कार्यालयमा आइतवार आयोजना गरिएको सो कार्यक्रममा बोल्ने क्रममा युवा नेता भट्टराईले सङ्घीय, प्रदेश र स्थानीय सरकारले किसानको हितमा उल्लेखनीय काम नगरेको कारण कार्यकर्ताहरु चिन्तित बनेको बताएका छन् ।

प्रदेश सभाका सांसद् एवम् नेकपाको झापा क्षेत्र नं. १ सङ्घीय क्षेत्रीय कमिटिका संयोजक गोपाल बुढाथोकी, अर्का प्रदेश सांसद् श्रीप्रसाद मैनाली, पार्टीका जिल्ला सदस्य डिल्लीराम घिमिरे, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, पार्टीका नगर इञ्चार्ज देबकुमार राई, पार्टीका नगर अध्यक्ष माधव अर्याल लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा युवा कार्यकर्ता भट्टराईले सोधेको प्रश्नको जवाफ भने पाएनन् ।

‘यस्तो अवसर फेरि आउला कि नआउला’, कार्यक्रममा बोल्दै नेकपाका नगर सचिवालय सदस्य भट्टराई भन्छन्–‘कम्युनिस्ट सरकार बन्छ र किसानहरुको हित हुन्छ भन्दै जनताले पर्खिरहेका थिए, दुई वर्षमा के के काम भएका छन्, सांसद, उपप्रमुख र नेताहरुले बताउनु पर्यो ।’

नेकपाको सरकार गठन भएको २ वर्ष बितिसकेको हुँदा किसान, मजदुर, महिला लगायत उत्पीडित एवम् पछाडि पारिएको वर्गका लागि के के काम गरियो भनेर अब जवाफ दिने बेला भएको उनको भनाई थियो । पार्टीका सार्वजनिक कार्यक्रमहरुमा समेत सरकारका उपलब्धि र कमजोरीहरुको चर्चा, छलफल र वहस हुनुपर्ने उनको माग छ ।

युवा नेता वीपी भट्टराई मेचीनगरको राजनीतिमा निकै लोकप्रिय र इमान्दार मानिन्छन् । स्थानीय तहको चुनावताका नेकपाबाट मेचीनगर वडा नं. १० को अध्यक्षमा नेकपाको तर्फबाट उम्मेद्वार बनेका उनी झिनो मतले पराजित भएका थिए ।

पार्टीभित्रका कमजोरीहरुका विरुद्ध समेत खुलेर बोल्ने र पार्टीको काममा लगनशील भएर लाग्ने स्वभाव भएका उनले वडाको अध्यक्ष पदमा उम्मेद्वार बन्न नेपाल सरकारको स्थायी जागिरबाट राजीनामा दिएका थिए ।

‘मैले पार्टीका नेताहरुलाई किसान र मजदुर वर्गको हितमा काम गर्न नसके ठूलो समस्या आउने बारम्बार भन्दै आएको छु’, उनी भन्छन्–‘कम्युनिस्टको सरकार गठन गर्न मात्र होइन पार्टीलाई आजको अवस्थासम्म ल्याउन किसान र मजदुर वर्गको ठूलो लगानी र सहयोग छ, पार्टीेले त्यसलाई भुल्नु हुँदैन ।’

वडा पार्टीका अध्यक्ष प्रकाश खड्काको अध्यक्षता र सचिव साङ्गे शेर्पाको उद्घोषणमा भएको कार्यक्रममा नारायण प्रसाद लिम्बु, अरुण किसान, मोहन खतिवडा, देवीप्रसाद चम्लागाई, बेदनिधि सुबेदी र सुरेश राजबंशीलाई उत्कृष्ट किसानको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद्द्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, नगरकी उपप्रमुख मीना उप्रेती, जिल्ला सदस्य डिल्लीराम घिमिरे, नगर इञ्चार्ज देबकुमार राई र नगर अध्यक्ष माधव अर्यालले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा वडा कमिटिका अध्यक्ष प्रकाश खड्काले किसानहरु उपेक्षित भएको चर्चा गर्दै धान दिवसको साटो प्लटिङ दिवस मनाउनु पर्ने परिस्थिति सिर्जना भएको टिप्पणी गरेका थिए । खोला दोहनले किसानका खेतभन्दा तल कुलोपैनी पुगेका कारण सिञ्चाईमा समस्या भएको बताउँदै उनले किसानहरुले भोगिरहेको यो समस्या समाधानका लागि बजेट छुट्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: