बबण्डर सामना गरेका प्रसाईको सपना साकार हुँदै

झापा । बिर्तामोडस्थित पूर्वकै सुविधासम्पन्न बीएन्डसी हस्पिटलले ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको पाँच वर्ष पुगिसकेको छ ।

यही मंसिरदेखि मेडिकल कलेज सञ्चालनको तयारीमा लागिसकेको बीएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले यो पाँच वर्षमा अर्बौ लगानीको जोखिम मात्र मोलेनन्, अनेकन हण्डर, आरोप, अनसन, आन्दोलन र राजनीतिक अवरोधको बबण्डर झेल्नु पर्यो । अन्ततः उनी साहसी र सफल सावित हुने घुम्तीमा आइपुगेका छन् ।

आफु क्यान्सरको विरामी हुँदाहुँदै मेडिकल कलेजको स्थापनाका लागि प्रसाईले खेपेको सास्ती र गर्नु परेको संघर्षको बीएन्डसी मेडिकल कलेजको नवनियुक्त प्रिन्सिपल प्राडा रामप्रसाद उप्रेतीले खुलेर प्रंशसा गरे ।

ठूला ठूला शक्ति एकातिर लागेर रोक्न खोज्दा समेत नथाकी भिडेका प्रसाई जस्ता उद्यमी सोच भएका व्यक्ति मुलुकको सातै वटा प्रदेशमा एक एक जना हुने हो भने मुलुकको कायापलट हुने उप्रेतीको भनाई छ ।

कार्यकारी निर्देशक प्रसाईले अब हस्पिटल र मेडिकल कलेज चलाउने जिम्मा डाक्टरहरुको भएको बताएका छन् । उनले भनेका छन्–‘सात सय जनाले रोजगारी पाएको बीएन्डसीमा मैले भारी बिसाउने ठाउँ बल्ल पाएको छु, यसलाई आजको अवस्थामा मैले ठूलो संघर्षले ल्याएँ अब अघि बढाउने जिम्मेवारी तपाई(डाक्टर)हरुको हो ।’

प्रसाईले विर्तामोडमा एउटा पाँचतारे होटल र दमकमा ग्रेनाइटको ठूलो कारखाना खोल्ने सोचाई बनाएको उनका निकटवर्तीहरु बताउँछन् । उनी आफु भन्छन्–‘दुई हजारलाई रोजगारी दिने अरु तयारी गर्नु छ मैले, बीएन्डसी स्थापना गरेर म थाकेको छैन ।’

झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो ।

मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–५ मा बीएन्डसी हस्पिटल मेडिकल कलेजको पठनपाठन सञ्चालनका लागि मेचीनगर नगरपालिका वडा नं. ११ धाइजनमा बेसिक साइन्स भवन बनेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका युवा नेता योगेशकुमार भट्टराई र नेपाली काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हस्पिटलको संयुक्त रुपमा उद्घाटन गरेका थिए । युवा व्यवसायी दुर्गा प्रसाईंको साहसिक नेतृत्वमा स्थानीय लगानी र बैङ्कको कर्जा गरी ६ अर्ब बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिमा हालसम्म लगानी भइसकेको प्रालि सञ्चालक समितिका अध्यक्ष इन्दिरा गिरीले जानकारी दिएकी छन् । यो बाहेक त्यति नै लगानीमा क्यान्सर हस्पिटलको निर्माण भइरहेको छ ।

गिरीका अनुसार मेची अञ्चलमा एउटा अत्याधुनिक सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य राखेर नै बीएन्डसी हस्पिटलको स्थापना गरिएको हो ।

पाँच वर्षको दौरानमा हस्पिटललाई पूर्वकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त बनाउन सकिए पनि चिकित्सा शिक्षा प्रदान गर्ने योजना भने मुलुकको राजनीतिक उतारचढाव, चिकित्सा शिक्षासम्बन्धी अस्थिर नीति र डा. गोविन्द केसीको अनसनका कारण यसअघि अपूरै रहेको थियो ।

डा. गोविन्द केसीसँग भएको नौबुँदे सहमतिमा काठमाडौँ उपत्यका बाहिरका आशयपत्र पाएर पूर्वाधार खडा गरिसकेका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने उल्लेख भएपछि बीएन्डसी हस्पिटललाई मेडिकल कलेजका रुपमा देख्न पाउने आशा गत वर्षेदेखि नै पलाइसकेको थियो ।

नेपाल मेडिकल काउन्सिलबाट खटिएको अनुगमन टोलीले बीएन्डसीको बेसिक साइन्स भवन, ल्याव, लेक्चरर क्लासरुम लगायत सबै पूर्वाधार तयार भइसकेको भनी दुई वर्ष अघि नै प्रतिवेदन बुझाइसकेको थियो ।

वीएन्डसीले नेपाल सरकारबाट २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाइसकेको र तोकिएका मापदण्डसमेत पूरा गरिसकेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट बीएन्डसी हस्पिटलले २०७३ साउन ९ गते ३०० शैयाको अस्पताल सञ्चालनको स्वीकृति पाइसकेको थियो भने २०७१ मङ्सिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शैयाको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको थियो ।

निजी क्षेत्रको लगानीमा झापामा मेडिकल कलेज बनाउने परिकल्पना बिर्तामोड–५ निवासी दुर्गा प्रसाईँले गरेका हुन् । पूर्व माओवादी कार्यकर्ता प्रसाईँ २०६५ सालतिर महँगो मूल्याङ्कन हुने बिर्तामोडमा रहेको आफ्नो पैतृक जग्गा धितो राखेर मेडिकल कलेज निर्माणको अभियानमा होमिएका थिए ।

‘झापामा मेडिकल कलेज स्थापना गर्छु भनेर शुरुका दिनमा सुनाउँदा मानिसहरु हावादारी कुरा गरेको भनेर मलाई ठट्टामा उडाउँथे’, बीएन्डसीका परिकल्पनाकार प्रसाईँ भन्छन्–‘धनीमानीहरु त भारत र काठमाडौँ पुगेर पनि उपचारमा खर्च गर्न सक्थे तर गरीब निमुखाहरु भरपर्दो उपचार नपाएर मर्नु परिरहेको अवस्था देखेर मेरो मन रोयो, त्यसकारण मैले मेची अञ्चलवासीकै हितमा समर्पित भएर काठमाडौँ र भारतको भन्दा सुविधासम्पन्न हस्पिटल र मेडिकल कलेज झापामै खोल्छु भन्ने सङ्कल्प गरेको थिएँ ।’

हस्पिटल सञ्चालन र मेडिकल कलेजको सम्बन्धनका लागि ठूलो सङ्घर्ष गर्नु परे पनि आखिर यो सबै मेची अञ्चलबासीको हितका लागि भएकाले आफूले व्यहोर्नु परेको हैरानी र लगानीप्रति गौरववोध नै भइरहेको उनी बताउँछन् ।

हाल हस्पिटलमा एक सयभन्दा बढी कन्सल्टेन्ट डाक्टरसहित ८ सयभन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेको प्रसाईँ बताउँछन् ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार शहरी विकास मन्त्रालयबाट हस्पिटलले २०७२ माघ ८ गते भवन ऐन २०५५, राष्ट्रिय भवन संहिता २०६० र आइएस कोडअनुसारको मापदण्ड पूरा गरेको भनी भवन स्वीकृति प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: