‘असारे खेती’ रोक्ने मेचीनगरको घोषणा

इटाभट्टा । मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले बजेटको ‘असारे खेती’ रोक्न नगरले कडा आर्थिक अनुशासन पालना गर्ने बताएका छन् ।

उनले जेठ मसान्तभन्दा उता कुनै पनि परियोजनाको विल भपाई स्वीकार नगरिने र रकम निकासाका लागि चेक नकाटिने घोषणा गरेका छन् ।

बुधवार आव २०७६÷०७७ को वार्षिक बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले उक्त घोषणा गरेका हुन् ।

बजेटमा हुने गरेको ‘असार खेती’को बेथिति रोक्न नगरपालिकाले गत वर्ष समेत यस्तै निर्णय गरेको थियो । तर सफल भएन ।

बुधवार नगरको बजेट सार्वजनिक कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै नगरप्रमुख आचार्यले यो वर्ष विगतको गल्ती नदोहोरिने र पत्रकारहरुले यही विषयमा फेरि प्रश्न सोध्नु पर्ने अवस्था नआउने बताए ।

पत्रकार सम्मेलनमा असारे खेतीले बजेटको सदुपयोग नहुने भएकाले त्यसलाई कडाइका साथ रोकिने नगरपालिकाकी अनुगमन समितिकी संयोजक एवम् उपप्रमुख मीना उप्रेतीले बताइन् ।

उनले बाहुनडाँगीको मकै अनुदान प्रकरणमा गल्ती भएको स्वीकार्दै अनुगमनको क्रममा भएका गल्ती आगामी दिनमा नदोहोरिने जनाउँदै मिडियाले बेथितिका घटना उजागर गरेर नगरपालिकालाई मार्गदर्शन गरेको बताएकी छन् ।

मेचीनगरले मुलुकको प्रवेश नाका समेत भएको कारण नगर क्षेत्रमा पर्यटकहरुलाई यातायातमा सुविधा होस् भनेर यो वर्षदेखि पटके सवारी कर खारेज गरेको जनाएको छ ।

पटके सवारी करको साटो वार्षिक कर लिइने र सडककै पिच्छे ढाँट तेस्र्याएर जथाभावी कर असुल्ने कार्य रोकिने बताइएको छ ।

मेचीनगरले यो वर्षदेखि करको दायरा बढाउँदै आन्तरिक आय बढाउने भएको छ । यो वर्ष विभिन्न कर महसुलबाट १० करोड ५८ लाख ४० हजार रुपैयाँ आन्तरिक आय गर्ने योजना बनाएको मेचीनगरमा गत आर्थिक वर्षमा ४ करोडको हाराहारीमा आन्तरिक आय सङ्कलन भएको थियो ।

मेचीनगरले नयाँ बजेटमार्फत नगरका १५ वडालाई एक करोड ३० लाख रुपैयाँका दरले वडा बजेट दिने भएको छ । गत वर्ष वडाको बजेट एक करोड मात्र दिइएको थियो ।

नगरका विपन्न व्यक्तिलाई उपचारका लागि रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत नयाँ बजेटमा मिलाइएको छ ।

मेचीनगर नगरपालिकाले आव २०७६÷०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट निर्माण गरेको छ ।

पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बुधवार सार्वजनिक गरेको बजेटमा समानीकरणमार्फत सङ्घीय सरकारबाट २५ करोड १९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ८९ लाख २३ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

बजेट सार्वजनिक कार्यक्रममा नगरप्रमुख, उपप्रमुखसँगै नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहांग, सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्षहरु सुदय पनेरु, हर्क बस्नेत, नविन बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: