मेचीनगरको बजेट २७ करोड बढ्यो

।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर नगरपालिकाको यसवर्षको बजेट गतवर्षको तुलनामा २७ करोडभन्दा बढी छ ।

यस आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्व ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरेर उक्त बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट निर्माण गरेको थियो । गतवर्षको तुलनामा यसवर्षको बजेटको आकार २७ करोड ९ हजार ४ सय ९० रुपैयाँले बढी छ ।

झापाको सबैभन्दा बढी बजेट विनियोजन गर्दै आएको मेचीनगरले चालू आर्थिक वर्षमा वडाका आधारभूत आवश्यकताहरुलाई बजेटमार्फत तथा नगरको गौरवका आयोजनाहरु नगरस्तरीय बजेटमार्फत सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको नगर प्रमुख विमल आचार्यले बताएका छन् ।

नयाँ बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व वाँडफाटको १७ करोड ९७ लाख, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८९ लाख २३ हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाटको २ करोड १९ लाख ९७ हजार, मालपोत रजिस्ट्रेशनबाट ३ करोड, आन्तरिक आय (दशहत्तर वहत्तर समेत) १० करोड ५८ लाख ४० हजार, सामाजिक सुरक्षा अनुदान ४० करोड, समपूरक अनुदान ३ करोड, विशेष अनुदान २ करोड, नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रमको सशर्त अनुदान ३२ करोड २३ लाख रुपैयाँ छ ।

त्यस्तै सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५५ लाख सामी परियोजना सञ्चालनका लागि अनुदान १६ लाख, जिल्ला समन्वय समिति झापाबाट क्रमागत योजनामा अनुदान २८ लाख ५० हजार तथा अघिल्लो वर्षबाट ल्याएको ४ करोड ८२ लाख ५० हजार रुपैयाँ छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्यले चौथो नगरसभाबाट असार २४ गते पारित आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटको सार पढेर सुनाएका थिए भने उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरको नीति तथा कार्यक्रम र बजेटका महत्वपूर्ण विशेषताको जानकारी दिएकी थिइन् ।

नगरपालिकाको चौथो नगरसभा २०७६ असार १० गते प्रारम्भ भएर असार २४ मा सम्पन्न भएको थियो ।

सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । विशेष गरी वडाका आधारभुत आवश्यकताहरुलाई वडा बजेट मार्फत तथा नगरका गौरवका आयोजनाहरुलाई नगरस्तरीय बजेट मार्फत सम्बोधन गरिएको नगरप्रमुख आचार्यले बताए ।

गतवर्ष वडालाई १ करोड वडा बजेट दिएकोमा यसवर्ष ३० लाख रुपैयाँ नयाँ बजेटले थपिदिएको छ ।

आचार्यका अनुसार यसवर्ष पनि वडाका कार्यक्रमहरुलाई सम्बोधन गर्ने गरी प्रति वडा १ करोड ३० लाख रुपैयाँका दरले वडास्तरीय बजेट विनियोजन गरिएको छ ।

वितेका दुई अािर्थक वर्षमा नगर गौरवका महत्वपूर्ण आयोजनाहरुको डीपीआर तयार भएका र यसरी डीपीआर तयार भएका योजना कार्यक्रमलाई सञ्चालन गर्ने गरी आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट ल्याइएको छ ।

वजेटमा आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न नौ वटा शीर्षकमा खर्च अनुमान गरिएको छ ।

नगरपालिकाले यो वर्ष नगरस्तरीय कूल पूँजीगततर्फ २७ करोड ९९ लाख ६० हजार, वडा योजना तथा कार्यक्रममा १९ करोड ५० लाख, हस्तान्तरित कार्यक्रम सशर्त ३२ करोड २३ लाख आप्रवासन कार्यक्रम १६ लाख, साधारण खर्च १७ करोड ६७ लाख ५० हजार, सामाजिक सुरक्षा भत्तालगायत ४० करोड २ लाख ५० हजार, मेसनरी १५ लाख, फर्निचर १५ लाख, समपूरक र विशेष अनुदानको कार्यक्रम डीपीआर भएका योजनाहरुमा खर्च हुने अनुमान गरेको छ ।

त्यस्तै, विषयगत शीर्षकमा नगरस्तरीय २३ करोड ८७ लाख ६० हजार तथा वडास्तरीय १९ करोड ५० लाख गरी कूल ४३ करोड ३७ लाख ६० हजार रुपैयाँ विनियोजन भएको छ । पूजीँगत तर्फको विषयगत शीर्षकको आधारमा हेर्दा नगरपािलकाले सवैभन्दा बढी पूर्वाधार विकासमा २३ करोड १९ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसका लागि नगरस्तरीय १० करोड ८५ लाख ५० हजार तथा वडास्तरीय १२ करोड ३४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकासमा दुवैतर्फ गरी ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ छुट्टयाइएको छ । नगरस्तरीय ३ करोड १४ लाख ३८ हजार तथा वडास्तरीय ३ करोड २८ लाख ५ हजार वजेट विनियाजन भएको छ ।

यसैगरी, स्रोत परिचालन आर्थिक विकासतर्फ नगरस्तरीय २ करोड ७० लाख ३५ हजार र वडास्तरीय ५ लाख ३० हजार गरी कुल २ करोड ७५ लाख ६५ हजार, सिँचाइमा नगरस्तरीय १५ लाख तथा वडास्तरीय १ करोड १२ लाख ५ हजार गरी कुल १ करोड २७ लाख ५ हजार रकम विनियोजन गरिएको नगरप्रमुख आचार्यले बताए । नगरपालिकाले यो वर्ष विद्युतका लागि नगर र वडास्तरीय गरी कुल १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये नगरस्तरीय ३० लाख तथा वडास्तरीय ७२ लाख छ ।

कृषि तथा पशुपालनतर्फ नगरस्तरीय ७८ लाख तथा वडास्तरीय ३० लाख ५० हजार गरी कुल १ करोड ८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । वन, वातावरण तथा विपद्मा १ करोड ९९ लाख ३७ हजार रकम विनियोजन भएको छ । त्यसमा नगरस्तरीय १ करोड ७० लाख ३७ हजार तथा वडास्तरीय २९ लाख रुपैयाँ विनियोजन भएको पत्रकार सम्मेलनमा जनाइएको छ । सार्वजनिक सेवा, क्षमता विकासतर्फ नगर र वडास्तरीयगरी जम्मा २ करोड ३१ लाख रुपैयाँ छ ।

नगरस्तरीय १ करोड ९१ लाख तथा वडास्तरीय ४० लाख रुपैयाँ रहेको छ । शिक्षातर्फ नगरस्तरीय १ करोड ३८ लाख तथा वडास्तरीय ७३ लाख ७५ हजार गरी कूल २ करोड ११ लाख ७५ हजार, स्वास्थ्यमा नगरस्तरीय २० लाख तथा वडास्तरीय १७ लाख ३० हजार गरी कुल ३७ लाख ३०, खानेपानीमा नगरस्तरीय ७५ लाख तथा वडास्तरीय ८ लाख गरी जम्मा ८३ लाख रुपैयाँ छ ।

नगरका समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नगर दृष्टिकोण कार्यान्वयन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको छ ।

उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सुशासन, वाल तथा लैङ्गिक मैत्री एवम् सामाजिक समावेशिता, वातावरण तथा पर्यावरण मैत्री, पर्यटन मैत्री एवम् गरिवी निवारणलाई प्रमुख आधारको रुपमा लिइएको छ । स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्बन्धी नीतिलाई यस नगरका प्रमुख नीतिहरुका रुपमा लिएको छ ।

मेचीनगरमा कुनै विषयमा कसैले विद्यावारिधि गरे त्यस्ता शोधकर्तालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ प्रदान गरिने, मेचीनगरका सामुदायिक विद्यालयमा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई जेहेन्दार र विपन्नताका आधारमा २० प्रतिशत तथा सामुदायिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई १० प्रतितश विद्यार्थी सङ्ख्याको आधारमा छात्रावृत्ति उपलब्ध गराईने नीति रहेको उपप्रमुख उप्रेतीले बताइन्् ।

भानुटोलमा व्यापारिक भवन बन्ने
मेचीनगर–६ काँकरभिट्टाको भानुटोल स्थित गोसखानका आगलागी पीडित परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिएपछि जग्गा खाली गरिने जनाएको छ ।

त्यहाँका करिव १५ घर परिवारलाई तत्काल ५० हजार रुपैयाँ दिने र व्यापारिक भवनमा पहिलो प्राथमिकतामा कोठा दिइने कार्यालयले जनाएको छ । भानु टोलका ४÷५ जनाले उक्त जग्गा खाली गर्न ५० हजारका दरले रकम बुझिसकेको उपप्रमुख उप्रेतीले बताइन् ।

बहुउद्देश्यीय भवन निर्माण गर्न आर्थिक वर्ष २०७५÷०७६ मा नै निर्माण प्रारम्भ गर्ने गरी ४५ लाख रुपैयाँ विनियोजन समेत भएको थियो । यसपटक नगरपालिकाले उक्त भवन बनाउन बजेट छुट्याएको छ ।

मेचीडाँडाका ४० घरले मुआव्जा पाए
मेचीडाँडा वस्तीका सुकुमबासीलाई नगरपालिकाले सडक डिभिजनमार्फत ४० घरपरिवारलाई १ करोड ५ लाख रुपैयाँ मुआव्जा दिइएको कार्यालयले जनाएको छ ।

जनही २ लाख ५० हजारका दरले उनीहरुलाई मुआव्जा वितरण गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

फोहोर व्यवस्थापन गरिने
नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मेचीनगर–७ मा डीपीआर तयार गरेको जनाइएको छ ।

डीपीआर तयार भए पनि जग्गाको विवादका कारण अन्य ठाउँमा जग्गा खोज्ने कार्य भइरहेको नगरपालिकाको भनाई छ ।

तत्काल जग्गा भेटिए फोहोर व्यवस्थापन गर्न बजेट छुट्टाइएको कार्यालयले जनाएको छ ।

विषादी लगायतको विषयमा अनुगमन
विषादी लगायत बजारमा अखाद्य वस्तुको अनुगमन गरिने जनाएको छ । नगरप्रमुख आचार्यले विषादी लगायत बजारमा अखाद्य वस्तुको अनुगमन र निरीक्षणका लागि ल्याव, प्राविधिक र टिमको आवश्यकता पर्ने भएकोले त्यसका लागि चाँडै व्यवस्थापन गर्ने बताए ।

स्थानीय नगर तथा गाउँपालिकाको समन्वयमा ल्याव टेष्ट मेसिन लगायतका प्राविधिक व्यवस्थापन गरी बजार अनुगमन गरिने आचार्यले जानकारी दिए ।

बाढीले मेचीनगर डुवानमा
निरन्तरको वर्षसँगै आएको बाढीले मेचीनगरका अधिकांंश वडाका घर, बाटो, कल्भर्ट, खेतीयोग्य जमिन, पशुपंक्षी र धनजनमा क्षति पुगेको छ । बाढीकै कारण खोलाले बगाएर नगरका १ जना अडाई वर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै अपाङ्गता भएका एक जना अधवैसे पुरुष अझै वेपता छन ।

मेचीनगरका १५ वटै वडाका विभिन्न वस्तीहरुमा बाढीले क्षति पुगेको छ । मेचीनगर–८ को खडिया वस्तीको पुल भत्केको छ, वडा नम्बर १४ र १५ को सतार वस्तीको झोलुङ्गे पुल र खेती योग्य जमिन कटान गरेको छ । यस्तै मेचीनगरमा वर्षसँगै आएको चट्याङ्बाट एक जनाको मृत्यु भएका छ ।

सतिघट्टाको काठे पुल भत्काएको छ । त्यस्तै बाढीले आधा दर्जन गोरु, राँगा, सुङ्गुर बगाएको नगरप्रमुख आचार्यले बताए । उनले अधिकांश ठाँउका जमिन बाढीले कटान हुनु अव्यवस्थित प्लटिङ्को कारण रहेको दावी गरे ।

बाढीका कारण मृत्यु भएकालाई नगरपालिकाले २५ हजार, जिल्ला प्रशासन कार्यालय झापाले १ लाख र प्रदेश सरकारले २ लाख दिने घोषणा गरेको उनले बताए ।

पटके कर हट्यो
नगरपालिकालाई चारवटा नाकाबाट पटके कर उठने गरेको कार्यालयले जनाएको छ । काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी र धाइजनबाट पटके सवारी कर उठ्ने गरेको नगरपालिकाले जनाएको छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी नगरपालिकाले पनि पटके करलाई व्यवस्थित गरेको नगरले जनाएको छ ।

पटके करलाई व्यवस्थित गर्न अब नगरपालिकाले पटके कर हटाएर वार्षिक सवारी कर लिने जनाएको छ ।

आन्तारिक तथा बाह्य पर्यटकका लागि नगरपालिकाले वाषर््िक करका रुपमा स्टिकर वा अन्य कुनै परिचय खुल्ने कार्डको व्यवस्था गर्ने आचार्यले जनाए ।

करको दायरा बढ्ने
नगरपालिकाले यसपटक करको दायरा बढाउन भएको छ ।

जग्गाको वर्गीकरणमा संशोधन गरिने जनाएको छ । घरवहाल कर आगामी भदौदेखि लागु गर्ने कार्यालयले बताएको छ ।

आन्तरिक आम्दानीलाई बढाउन पनि करको दायरा बढाउन लागिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

विगतमा बढेको करलाई कम गरिए पनि कोहिपनि नछुटुन् भन्ने उद्देश्यले करको दायरा फराकिलो पारिने उनले बताइन् ।

नगरको प्रोफाइल चाँडै आउने
मेचीनगरको प्रोफाइल अब चाँडै आउने छ । प्रोफाइल आएपछि नगरले विकासमा फड्को मार्ने कुरामा निश्चिन्त हुन उप्रेतीको भनाई छ ।

कर लगायत विकासका योजनाहरुको बारेमा प्रोफाइल तयार भएपछि काम गर्न सहज हुने उनको बुझाई छ ।

९५ प्रतिशत डीपीआर सम्पन्न
नगरले विभिन्न कामको योजना समेटिएको डीपीआर तयार गरेको जनाएको छ ।

विकास निर्माणका कामहरुको ९५ प्रतिशत डीपीआर तयार भईसकिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

अनुगमन फितलो
मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ को अनुगमन फितलो भएको स्वीकार्दै आगामी दिनमा त्यस्ता कमजोरी हटाइने बताएकी छन् ।

बजेट सार्वजनिक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले नगरमा योजनाहरु अत्याधिक भएका कारण अनुगमन सन्तोषजनक नभएको दावी गरिन् ।

अनुगमन कार्य आप्mनो नेतृत्वमा हुने प्रावधान भए पनि चक्लाबन्दी खेतीको स्थलगत अनुगमनमा आफु नगएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृतको प्रतिवेदनमा आफुले हस्ताक्षर गरेको उनले बताइन् ।

‘नगरमा योजनाहरुको चाङ धेरै छ । सबै योजनाको विस्तृत अध्ययन गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘अबदेखि अनुगमनलाई ध्यानमा दिएर अघि बढ्ने छौँ । प्रोत्साहन कार्यक्रमलाई खासै अनुगमन गर्नुपर्छ भन्ने छैन, अन्य योजनाहरुमा सुधार गरिनेछ ।’

उनले मेचीनगर–४ स्थित बाहुनडाँगीमा ‘चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम’ शीर्षकमा विनियोजित रकम दुरुपयोग भएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको र आउँदा दिनमा त्यस्तो दोहोरिन नदिने पटकपटक बताइन् ।

बाहुनडाँगी कृषि तथा पशुपालन प्रालि मेचीनगर–४ लाई सो कार्यक्रम गर्नका लागि ८ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले गत आर्थिक वर्षमा दिएको थियो ।

प्रालिका सञ्चालक केशव सुवेदीले नगरपालिकासँग सम्झौता भए अनुसार खेती नगरिएको समाचार प्रकाशित भइसकेको छ । सुवेदीले रकम बुझ्नुअघि पेस गरेका प्रायः सबै कागजात फर्जी देखिएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: