पूर्वीनाका अब सीसी क्यामेराको पूर्ण निगरानीमा

मेचीनगर । सुरक्षा सम्बेदनशीलताको दृष्टिले अति महत्वपूर्ण पूर्वी नाका काँकरभिट्टा सीसी क्यामेराको पुरै निगरानीयुक्त भएको छ ।

काँकरभिट्टाको मुख्य भन्सार गेट र बजारका गल्लीहरुमा २३ वटा सीसी क्यामेरा भर्खरै जडान गरिएका छन् ।

जसको उद्घाटन शुक्रवार एक कार्यक्रमविच प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले गरे ।

प्रहरीका प्रदेश प्रमुख ज्ञवालीले सीसी क्यामेरा राख्ने कार्यको प्रशंसा गर्दै प्रविधिको निगरानीमा अब नागरिक मात्र नभएर शान्ति सुरक्षाका लागि नाकामा तैनाथ प्रहरीको गतिविधि समेत पर्ने बताए ।

काँकरभिट्टालाई पुरै निगरानी गर्नका लागि नाका र बजारको चोकहरुमा २३ वटा नाइटभिजन सीसी क्यामेरा जडान गरिएका छन् ।

मेचीनगर नगरपालिका र स्थानीय व्यवसायीहरुले साझेदारीमा १४ लाख २ हजार ५ सय ९३ रुपैयाँको लागतमा सीसी क्यामेरा जडान गरिएको हो ।

त्यसमा मेचीनगर नगरपालिकाले ५ लाख ८४ हजार ३ सय ४९ रुपैयाँ सहयोग गरेको सो कार्यका लागि गठित व्यवस्थापन समितिकी कोषाध्यक्ष रीता बाँस्तोलाले बताएकी छन् ।

पुरै सहर सीसी क्यामेराको निगरानीमा भएको झापाको अर्को सहर विर्तामोड हो । जहाँ ६० वटा सीसी क्यामेरा सहरका कुनाकुनामा जडान गरिएका छन् ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख ज्ञवालीले शुक्रवार नै मेचीनगर–७ स्थित इटाभट्टा चोकमा जडान गरिएका ७ वटा सीसी क्यामेराको समेत उद्घाटन गरे ।

नगरको धुलावारी चोकमा ४ वटा सीसी क्यामेरा यसअघि जडान भइसकेको छ ।

झापामा पछिल्लो समय सीसी क्यामेरा जडान कार्यले तीब्रता पाएको छ ।

सीसी क्यामेरा अत्याधुनिक प्रविधि भएको हुँदा यसको प्रयोगबाट झापामा जघन्य अपराधका घटनामा संलग्न अभियुक्तहरु पक्राउ गर्न र अपराध नियन्त्रण गर्न ठूलो सघाउ पुगेको झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले बताएका छन् ।

उनका अनुसार धुलावारीको आरती चौहानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ गर्न, विर्तामोडमा मोटरसाइकल चोरीमा संलग्न गिरोह पत्ता लगाउन र कनकाई पुलमा बम राख्ने व्यक्ति पक्राउ गर्न सीसी क्यामेराले सहयोग पुगेको छ ।

काँकरभिट्टाको सीसी क्यामेरा उद्घाटन कार्यक्रममा मेचीनगरका नगरप्रमुख विमल आचार्य, प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपा मेचीनगरका अध्यक्ष सुशिल आचार्य, सहकारी अभियन्ता दुर्गाप्रसाद सापकोटा, नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन व्यवस्थापन समितिका संयोजक एवम् झापा ट्राभल्स सङ्घका अरुध्यक्ष नेत्र कार्कीले गरेका थिए ।

कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल, मेची बस व्यवसायी प्रालिका अध्यक्ष मोहनप्रकाश उप्रेती, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारितामार्फत समाजमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अनुसन्धान मिडियाका सञ्चालक एवम् झापास्थित माउन्टेन टेलिभिजनका समाचारदाता खगेन्द्र घिमिरे, सामाजिक अभियन्ता बालकृष्ण थापा र सीसी टीभी जडान कार्यमा प्राविधिक सहयोग पुर्याउने रेवन्त दाहाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: