सुध्रिएन प्राधिकरण, छिन्छिनमा बत्ती झ्यापझ्याप

अर्जुन कार्की
झापा । विद्युत प्राधिकरणको हेलचेक्र्याइले विद्युत आपूर्ति नियमित नहुँदा साउनको प्रचण्ड गर्मीमा सर्वसाधारणले हाते पङ्खाको भरमा दिन काट्नु परेको छ ।

न्युन भोल्टेज र छिन्छिन्मा विद्युत काटिनाले मेचीनगरका सेवाग्राहीले हाते पङ्खाको भरमा दिन काट्नु पर्ने बाध्यता भएको हो ।

सामान्य हावा चल्दा होस् वा पानी पर्दा पनि विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युत लाइन बन्द गर्छन् । यसै हप्ता मात्र ३७ देखि ३९ डिग्री सेल्सियसको तापक्रममा विद्युत नियमित भएन ।

मेचीनगर क्षेत्रमा विद्युत अनियमित हुनुमा नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगतको धुलाबारी प्रारम्भिक शाखा र काँकरभिट्टा फिल्ड सेवाको लापरबाही मुख्य कारण देखिएको छ ।

मेचीनगरमा मात्र होइन जिल्लाका अधिकांश क्षेत्रमा यो समस्याले उपभोक्तालाई सास्ती थपेको छ ।

नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले देशभरी लोडसेडिङ अन्त्य गरेर प्राधिकरण नाफामा गइरहेको भनिरहेको बेला झापामा भने त्यो नियम लागु भएको छैन ।
जिल्लाका विद्युत प्राधिकरणका कर्मचारी भन्छन्–‘लोडसेडिङ झापामा मात्र होइन काँहि पनि छैन ।’ तर, झापामा लोडसेडिङ जस्तै समस्या कायम छ ।

हावा आए, पानी पर्यो भने, रुख ढले, चट्याङ् लागे तत्काल बत्ति काटिने, राती लाइन बिग्रे बिहानमात्र हेर्ने, छिनछिनमा बिग्रिने आदिका कारण विद्युत लाइन काटिनाले नियमित विद्युत प्रवाह भएको छैन । कहिले ट्रान्सफर्मर पड्किने, कहिले तार चुटिने त यहाँ नियमित भइरहने समस्या हुन् ।

यस्ता समस्यालाई विद्युत कर्मचारीले चाँडो सुचारु गर्नतिर नलागेर ढिलासुस्ती गर्ने रोग पुरानै छ । जिल्लामा भएका विद्युतका सामाग्री पनि काम नै नलाग्ने छन् । कार्यालयले जोडेका पुराना ट्रान्सर्फमर पड्किएपछि त्यस्लाई तुरुन्त परिवर्तन गर्ने चासो प्राधिकरणले दिने गरेको छैन ।

कतिपय स्थानमा हप्तौ दिनसम्म अन्धकारमा बस्न बाध्य हुँदा समेत विद्युतका कर्मचारीले वेवास्ता दर्शाएको स्थानीयवासी गुनासो गर्छन् ।

झापाको दक्षिण क्षेत्रका स्थानीयले झन् सास्ती भोगेका छन् । मुस्किलले त्यसठाँउमा राखेका पुराना ट्रान्सफमर बिग्रे फेरबदल गर्नु परे एक महिना कुर्नु पर्छ ।

कचनकवल गाँउपालिका वडा नम्बर १ का विवेक सहनी भन्छन्–‘विद्युतको ट्रान्सफर्मर होस् वा टेलिकमको टावर भत्किए, पड्किए त्यस्को बदलामा तुरुन्त परिवर्तन हुँदैन, उल्टै एक महिनासम्म कर्मचारी वा आधिकारिक व्यक्ति कोही आउँदैनन् ।’ लामो समयसम्म अन्धकार र सञ्चार विहिन भएर बस्नु पर्ने बाध्यता रहेको सहनीले बताए ।

विगतमा लोडसेडिङको बेला भोल्टेजको समस्या त थियो नै । अहिले पनि त्यो समस्या यथावत नै छ ।

भोल्टेज दिन सकिन्छ भनेर मेचीनगर–१० स्थित लालपानीमा करोडौँ रुपैयाँको लगानीमा सवस्टेशन निर्माण गरिएको छ । सवस्टेशन हुँदा भोल्टेज आउने ग्यारेन्टी विद्युत कार्यालयको थियो । तर अहिलेसम्म मेचीनगरमा भोल्टेज बढेको र नियमित विद्युत आपूर्ति हुन सकेको छैन ।

सवस्टेशन निर्माण गर्दा ५ वटा फिडरबाट लाइन चालु गरेर साविकका गाविस ज्यामिरगढी, बाहुनडाँगी, दुवागढी, धाइजन तथा मेचीनगरको धुलाबारी र काँकरभिट्टामा भोल्टेजको समस्या नहुने कार्यालयले जनाएको थियो । तर, अहिलेसम्म ३ वटा फिडर मात्र मेचीनगरमा चालु छ । जसले गर्दा विद्युत आपूर्ति नियमित हुन सकेको छैन ।

बिर्तामोडबाट ३३ केभीए लाइन सवस्टेशनमा रिजर्व गरी सवस्टेशनमार्फत ११ हजारको लाइन एउटा फिडरबाट मेचीनगर हँुदै शान्तिनगरबाट बर्नेसम्म विद्युत खपत गरिएको छ ।

त्यसो त बिर्तामोडबाट आएको लाइनले नपुग्ने भएर इलामको लाइनसमेत जोडिएको थियो । तर त्यहाँको लाइनले झन पुरै समस्या देखाएपछि अहिले बिर्तामोडको लाइनमात्र उपभोग गरिएको छ । अहिले पनि इलामको सुनमाईसम्म बिर्तामोडबाट गएको लाइन जोडिएको छ तर चालु अवस्थामा भने छैन ।

बिर्तामोडबाट ३३ केभिएलाइन सवस्टेशनमा पुरा नआउने र सवस्टेशनबाट ११ हजारको लाइनको भोल्टेज फिडरमा नपुग्ने कारणले समस्या आएको जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण काँकरभिट्टा फिल्ड सेवाका प्रमुख अमित धिमालले तीन वटा फिडरले सबैतिर लाइन चालु गर्नु पर्ने भएकाले समस्या आएको बताए ।

साविकको धाइजन, धुलाबारी र काँकरभिट्टाका लागि हाल तीन वटा फिडरले काम चलिरहेको उनको भनाई छ । अब एउटा फिडर थप्न सके बाहुनडाँगी क्षेत्रमा विद्युत नियमित गर्न सकिने प्रमुख धिमालले बताए ।

हावापानीले रुख ढलेर तार चुटिने, ट्रान्सफर्मरमा आगलागी हुने, चट्याङ आदि कारणले विद्युत नियमित गर्न नसकेको उनले बताए । गत मङ्गलबार सवस्टेशनको पिन पम्चर हुँदा राती १ वजेपछि मात्र वत्ती दिन सकेको उनले बताए ।

उनले सवस्टेशनबाट आएको पावरले सेवाग्राहीलाई छिटोछरितो सेवा विस्तार गर्न नसकिएको दावी गरे । बाहुनडाँगी र लोकल एरिया गरेर दुई वटा फिडर थपेर काम गर्न सकिए लोड घटेर लाइनमा सुधार आउन सक्ने उनको बुझाई छ ।

‘सवस्टेशनबाट तीन वटा फिडरले मात्र काम गरिरहेको छ’, प्रमुख धिमालले भने–‘अब दुई वटा फिडर थप्ने क्रममा छाँै । एउटा फिडर स्थानीय एरिया र अर्को फिडर बाहुनडाँगी हुँदै काँकरभिट्टासम्म जोडेपछि लाइनमा सुधार हुने छ ।’

धिमालका अनुसार लोडबढि भएकाले सिस्टममै भोल्टेज कम छ । उनले गर्मी आदि कारणले सिस्टममा लोड बढेर भोल्टेज कम भएको बताए । १ सय ३२ केभीएको राष्ट्रिय प्रसारण लाइनको सिस्टम जानु, बिर्तामोडबाट ३३ केभिएलाइन सवस्टेशनमा २७ केभिए मात्र आउने र सवस्टेशनबाट ११ हजारको लाइन फिडरमा ९ हजारको भोल्टेजमात्र आउने कारणले समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: