बलात्कृत किशोरी असुरक्षित : न्यायको पक्षमा अधिकारकर्मीहरु एक ठाउँमा उभिए

झुलन रेग्मी/प्रकाश पौडेल/खगेन्द्र घिमिरे

धुलाबारी । मेचीनगरको धुलाबारीमा तीन महिना अघि एक व्यक्तिबाट बलात्कारको शिकार बनेकी स्थानीय डोम समुदायकी किशोरीको पीडाको विषयमा अधिकारकर्मीले चासो देखाएका छन् ।

दलित तथा मानव अधिकारकर्मीले पीडितलाई न्याय दिलाउने काममा अघि बढेको शुक्रवार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा बताए । सिङ्गो गाउँ नै बलात्कारीको पक्षमा लागेकाले पीडितले न्याय पाउने कुरामा शङ्का उत्पन्न भएकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त पनि गरेका छन् ।

पीडितलाई न्याय दिलाउनुको साटो उल्टै गाउँबाट विस्थापित गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् । फरार आरोपी विष्णु खड्कालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउनुको सट्टा समाजले उल्टै पीडित किशोरी र परिवारलाई मानसिक यातनाका साथै योजनाबद्ध ढङ्गबाट विस्थापित गर्न खोजेको अधिकारकर्मीले बताए ।

अधिकारकर्मी विष्णु खरेलले पीडितलाई न्याय दिने कुरामा अधिकारकर्मीहरु एक भएर लाग्ने बताए । उनले यो सरकारी मुद्धा भएका कारण बलात्कार जस्तो जघन्य अपराधमा कुनै सम्झौता नहुने बताए । पीडितलाई न्याय दिनुको सट्टा अर्काे मुद्धा उठाएर अपराधीलाई संरक्षण गर्न खोजेको खरेलको भनाई छ ।

दलित अधिकारकर्मी टिकाराम मङ्ग्रातीले पीडित किशोरीलाई स्थानीय समुदायले पीडामाथि थप पीडा दिएको बताए । गरीब भएकै कारण न्याय खोज्दा उल्टै हेपिनु पर्ने र बलात्कार हुँदा समेत घरबाट लखेटिनु पर्ने अवस्था आउनु चिन्ताको बिषय भएको बताए ।

पीडितलाई न्याय दिलाउनको सट्टा जनप्रतिनिधिहरु नै पीडितलाई घरवारबिहीन बनाएर लखेट्न लाग्नुले घटना थप रहस्यमय भएको अधिकारकर्मीहरुको भनाई छ । अधिकारकर्मीहरुले एकजुट भई पीडित बालिकालाई न्याय दिलाएर छाड्ने बताएका छन् ।

नेपाल उत्पीडित विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष टिकाराम मङ्ग्राती, उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष भोला परियार, दलित मुक्ति मोर्र्चाका जिल्ला अध्यक्ष सुरेश बराइली, नेपाल दलित सङ्घ झापाका जिल्ला अध्यक्ष दलबहादुर विश्वकर्मा, दलित समन्वय समिति मेचीनगरका अध्यक्ष ध्रुव कनाल, मेचीनगर कार्यपालिका सदस्य निरु परियार, नेपाल दलित सङ्घ केन्द्रीय सदस्य सुन्दरा ल्वागुनको हस्ताक्षरित प्रेस विज्ञप्तिमा पीडित किशोरीलाई न्याय, उचित क्षतिपूर्तिका साथै पीडित परिवारको सुरक्षा, संरक्षण र अभियुक्तलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माग गरिएको छ । अधिकारकर्मीहरुले पीडित बालिकाको न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र प्रहरी नायव निरीक्षक नरेशकुमार आचार्यलाई बुझाइएको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीका मुद्धा शाखाका प्रहरी सहायक निरीक्षक विरेन्द्र थापाले खड्काबिरुद्ध झापा जिल्ला अदालतमा मुद्धा दायर भइसकेको बताए । अदालतले पक्राउ आदेशपछि आरोपी खड्काको खोजी कार्य जारी रहेको उनले बताए । थापाका अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्दा र अन्य प्रमाण हेर्दा सतप्रतिसत जबरजस्ती करणी नै गरेको खुल्न आएको बताए । आरोपी खड्कालाई पक्राउ गर्न प्रहरीको टोली परिचालन भएको तर कहाँ छन् भन्ने विषयमा अहिलेसम्म पत्तो नलागेको उनले बताए ।

दुई महिना अघि १७ वर्षीया मल्लिक थरकी ती किशोरीले आफूमाथि स्थानीय ६० बर्षीय खड्काले पटकपटक बलात्कार गरेको बताएकी थिइन् । किशोरीलाई आपत्तिजनक अवस्थामा भेटेपछि सो कुरा बाहिर आएको थियो । मल्लिक परिवार तिनै खड्काकोे घरमा भाडामा बस्दै आएको छ ।

सोही घरको भुइँतलामा खड्काले केही समय अघिसम्म भट्टी पसल समेत सञ्चालन गर्दै आएका थिए । सोही समयमा आफुलाई ती खड्काले बलात्कार गर्ने गरेको पीडित किशोरीको भनाई छ । घटनाका बारेमा कुरा बाहिर आएपछि खड्का फरार छन् । ती पीडित किशोरीले आफुलाई खड्काले बिहान मर्निङवर्क गर्दैगर्दा बाटोमा भेटेर पहिलो पटक जङ्गलमा लगेर नग्न बनाई बलात्कार गर्ने गरेको गुनासो थियो ।

घटना भएको यतिको दिन बितेपनि आफूहरुले न्याय नपाएको पीडित किशोरीकी आमा लीला मल्लिकले बताइन् । ‘छोरीले न्याय पाउन सकेकी छैन,’ उनले भनिन्, ‘उल्टै स्थानीय गाउँलेहरुले हामीमाथि अन्याय गरिरहेको छ ।’ बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले मल्लिक परिवारलाई मिल्न दबाव दिइरहेका छन् । घटना गुपचुपमा मिलाएर आफुहरुलाई गाउँबाट निकाल्ने योजना बनाएको पीडित परिवारको भनाई छ ।

पीडित किशोरीले गाउँबाटै आफु असुरक्षित महसुस गर्न थालेको बताएकी छिन् । न्याय खोज्दा आफु र परिवारमाथि उल्टै गाउँ खनिने गरेको उनको गुनासो छ ।

…………………………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: