झापामै लाहा प्रशोधन कारखाना

अम्बिका भण्डारी

भद्रपुर । झापाको गौरादहमा सुनका गहना बनाउन, फर्चिनरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दी कार्यमा प्रयोग हुने लाहा प्रशोधन कारखाना सञ्चालन भएको छ ।

भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गरेका गौरादह नगरपालिका वडा नं २ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले गत बैशाखमा २० लाख रुपैयाँको निजी लगानीमा निर्मल चप्रा उद्योग स्थापना गरेका छन् ।

हाल दैनिक ४० केजी प्रशोधित लाहा (चप्रा) उत्पादन हुन थालिसकेको र बजारको माग धान्न नसकिरहेको उद्योगी विक बताउँछन् । लाहालाई कच्चा पदार्थको रुपमा प्रशोधन गरिसकेपछि चप्रा अर्थात काठ रङ्ग्याउने प्राकृतिक रसायन उत्पादन हुने गर्दछ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले निर्मल चप्रा उद्योग मुलुककै पहिलो लाहा प्रशोधन कारखाना भएको बताए । नेपालमा चप्रा आयातमा वर्षेनी करोडौँ रकम विदेसिने गरेकोमा अब बल्ल स्वदेशमै सानो अंशमा भए पनि उत्पादन सुरु हुनु खुशीको विषय भएको उनी बताउँछन् ।

डिभिजन बन कार्यालय झापाले प्रशोधनमा प्रयोग हुने अत्याधुनिक मेसिन खरिदका लागि ४ लाख रुपैयाँ अनुदान दिएको छ । सुरुमा हाते सीपबाटै लाहाको प्रशोधन हुँदै आएकोमा अब मेसिनको प्रयोग भएपछि गुणस्तर समेत बढ्ने उद्योगी विकले बताए ।

उनका अनुसार रुखहरुमा किराबाट उत्पादन हुने कच्चा लाहा सङ्कलन गरी चप्रा बनाउनु पर्ने हुँदा झापामा लाहा खेतीका लागि किसान र सामुदायिक बनहरुलाई प्रोत्साहित गर्न आवश्यक छ । अहिलेसम्म धनकुटा, भोजपुर र तेह्रथुमबाट विकले लाहा खरिद गरेर ल्याउने गरेका छन् ।

भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालतिर चप्रा विक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफुले उद्योग खोलेको विक बताउँछन् । उनको चप्रा उद्योगमा दैनिक ५ व्यक्तिले रोजगारी पाएका छन् । स्थानीय किसानलाई सिरिस, बयर, खयर र मौवा जातका विरुवा लगाउन र त्यसमा लाहा खेती गर्न आग्रह गरेको उनको भनाई छ । स्थानीय किसानहरुले लाहा खेती गर्ने सोचले उपयुक्त जातका विरुवा खेतबारीमा रोप्न थालिसकेका छन् ।

‘धेरै जमिन चाहिन्न’, डिभिजन बन कार्यालय झापाका प्रमुख घिमिरे भन्छन्, ‘आफ्नो खेतबारीको दुईचार कठ्ठा जमिनमा खयर, बयर, बडर, सिरिस लगायतका जातका विरुवा हुर्काएर लाहा खेती गर्ने हो भने उद्योग वरपरका किसानले मनग्यै आम्दानी पाउनुहुनेछ ।’ सुरुमा रुखको हाँगामा बीउ लाहा राखेपछि किराहरुको कारण त्यो आफैँ फस्टाएर बढ्ने गर्छ । बैशाखमा लगाएको लाहा कात्तिक महिनामा सङ्कलनयोग्य हुने उद्योगी विकको भनाई छ । एकपटक रुखमा लगाएको लाहा खेतीबाट बर्षौँसम्म आम्दानी लिन सकिने उनले बताए ।

झापाको काँकरभिट्टादेखि मोरङको बेलबारीसम्मका फर्चिनर उद्योगहरुले गौरादहमा उत्पादित चप्रा प्रयोग गर्न थालिसकेका छन् । कच्चा पदार्थ अभावमा माग धान्नेगरी चप्राको उत्पादन गर्न नसकिएको उनको भनाई छ ।

नेपालमा फर्चिनर उद्योगहरु नै चप्राको मुख्य प्रयोगकर्ता हुन् । लाहालाई सुनको गहना उत्पादन र सिलबन्दी कार्यमा प्रयोग गरिन्छ । निर्वाचनका बेला सिलबन्दीका लागि भारी मात्रामा लाहाको प्रयोग हुने गरेको छ । भारतबाट महँगो मूल्यमा यसको आयात हुँदै आएको छ ।

भारतको दिल्लीबाट भारु २ हजार २ सय प्रतिकेजीका दरले चप्रा आयात गर्दै आएको बताउने विर्तामोडस्थित खगेन्द्र काष्ठ उद्योगका सञ्चालक खगेन्द्र खरेलले स्वदेशमै गुणस्तरीय चप्रा उत्पादन भएमा यसकै लागि वर्षेनी करोडौँ रुपैयाँ विदेश जाने क्रम रोकिने बताए । गौरादहमा उत्पादित चप्रा प्रतिकेजी एक हजार रुपैयाँमा विक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: