बाझिने गरी कानुन नबनाउनू : महान्यायाधिवक्ता खरेल

झापा । महान्यायाधिवक्ता अग्नि खरेलले संविधान, सङ्घीय र प्रदेश सरकारसँग बाझिने गरी कानुन नबनाउन स्थानीय तहलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा मङ्गलबार चन्द्रगढीमा आयोजित ‘स्थानीय कानुन निर्माण सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खरेलले स्थानीय तहका जनप्रतिनिधिहरु सङ्क्रमणकाल र ट्रायलमा भएको हुँदा आवश्यक कानुन निर्माण गर्दा संविधानका आधारमा बनाए मात्र दर्बिलो हुने बताए ।

स्थानीय तहका विवाद र समस्याहरु महान्यायाधिवक्ताको कार्यालयले नहेर्ने बताउँदै उनले पालिकाहरुको कानुन बनाउँदा राम्रो र क्षमतावान वकिलको नियुक्ति गर्न अनुरोध गरे । उनले भने, ‘सबै वकिलले बहस गर्न सक्छन् तर कानुनको मस्यौदा लेख्न सक्दैनन् । त्यसैले हाम्रो भन्दा पनि राम्रो र दक्ष वकिल राख्नुभयो भने कानुन राम्रो बन्न सक्छ ।’

उनले स्थानीय तहले संविधान र कानुनलाई पन्छाएर गरिएको काम न्यायपूर्ण नहुने बताउँदै लत्रिएर नभई ठिङ्ग उभिएर कानुन सम्मत जनप्रतिनिधिले काम गरे जनताको मनमा बस्न सकिने बताए । राज्य शक्तिको बाँडफाँड सङ्घीय राज्य प्रणालीमा हुने बताउँदै महान्यायाधिवक्ता खरेलले स्थानीय तहलाई मजबुत बनाए मात्र लोकतन्त्र बलियो हुने बताए ।

झापाका १५ पालिकामा प्रत्येकको हालसम्ममा १० वटा भन्दा बढी कानुन नबनेको बताउँदै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जनप्रतिनिधिलाई काननु बनाउन सहजता प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताए । उनले कतिपय पालिकाले ऐन बनाए पनि नियमावली बनाउँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताए । उनका अनुसार स्थानीय तहले ८० वटा ऐन बनाउन सकिने छ । प्रमुख पोर्तेलले प्रत्येक पालिकामा विधेयक समिति बने पनि कानुन निर्माण बारे पर्याप्त ज्ञान नहुँदा ऐन बनाउन ढिलो भएको बताए ।

कार्यक्रममा दमक नगरपालिका प्रमुख रोम ओली, विर्तामोड नगरपालिका प्रमुख धुव्र सिवाकोटी, भद्रपुर नगरपालिका उपप्रमुख चन्दा श्रेष्ठ, कमल गाउँपालिका उपप्रमुख बेणु सिवाकोटीलगायतले ऐन बनाउने बारेमा पर्याप्त प्रशिक्षण र विज्ञको अभाव हुँदा समस्या भइरहेको बताए । कार्यक्रममा १५ पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विधेयक समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

जिसस प्रमुख पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिसस सदस्य सुशीला अधिकारी र सञ्चालन निमित्त प्रमुख गोपाल लिम्बूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: