ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

भद्रपुर, २ असोज (रासस) ः झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौदेखि चलिरहेको गाईगोरुको तस्करी धन्धा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको जनाएको छ ।

मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधै सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ ।

सीमाका बजारमा विक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरुहरु सिधै भारत पुर्याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनु परेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताउनुभयो । गाईगोरु बोक्ने साना गाडी समेत डाली खुल्ला भएको हुनुपर्ने नियम लगाइएको छ ।
दमकलाई झापाको सबैभन्दा ठूलो पशुबजार मानिन्छ । त्यहाँबाट त्रिपालले डाली छोपिएका ठूला ट्रकमा गाईगोरु लोड गरेर खुल्ला सीमाना कटाउँदै भारत तस्करी हुने गरेको स्थानीयवासीको भनाई छ ।

तस्करीमा संलग्न व्यक्तिहरुले झापाको ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, टाघनडुब्बा र गौरीगञ्ज सीमाक्षेत्रबाट गाईगोरु भारतको नक्सलबाडी, खोरीबारी, गलगलिया, कादोगाउँ र डिगलबैंक पुर्याउने गरेका छन् ।

स्थानीय बजारबाट लुकाइछिपाई ल्याइएका गाईगोरुलाई चरनमा लैजाने बहाना गरी सीमावर्ती गाउँको सेल्टरमा थुपार्ने र प्रहरी प्रशासनको आँखा छलेर सीमापार गराउने तस्करी धन्धा अब रोकिने अपेक्षा गरिएको छ ।

गन्तब्य गलत बताएर ओसारपसार गरेको पत्ता लागेमा गाईगोरुलाई पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ लैजान पूर्णतः रोक लगाउन जिल्लाभरिका प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाले सर्कुलर पठाएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार २०७६ बैशाखदेखि भदौंसम्मको ५ महिना अवधिमा प्रहरीले १४८ वटा गाईगोरु भारत तस्करी हुन लागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । नियन्त्रणमा लिइएकामध्ये २९ वटा गाईलाई भद्रपुर गौशालामा संरक्षणका लागि बुझाइएको प्रहरीको भनाई छ ।–––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: