शुभकामना साट्दै प्रसाईले भने– ‘अठार सय किलोमिटर वरिपरि यस्तो अर्को मेसिन छैन’

विर्तामोड । बीएन्डसी टिचिङ हस्पिटलले बडा दसैंको अवसरमा झापाका पत्रकारहरुसँग शुभकामना साटासाट गरेको छ ।

हस्पिटलको मिटिङ हलमा विहीवार दिउँसो भएको शुभकामना कार्यक्रममा हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी र कार्यकारी प्रमुख दुर्गा प्रसाईले आउन लागेको दसैं, दिपावली लगायतका चाडपर्वले खुशी, उमङ्ग र सकारात्मक सोच ल्याओस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

‘पोहोर यतिबेलै मैले क्यान्सर हस्पिटल बनाउँदैछु भनेर सुनाएको भर्खरै जस्तो लाग्छ’, आफुले जे गर्ने हो त्यो नेपालमा र नेपालीकै लागि गर्ने बताउँदै हस्पिटलका कार्यकारी प्रमुख प्रसाईले भने– अहिले फेरि दसैंमा तपाईहरुसँग भेट्दा क्यान्सर हस्पिटलको सेवा सुरु गर्न लागेको खबर सुनाउन पाउँदा ज्यादै खुशी लागेको छ ।’

अरुले बितेको एक वर्षमा कति काम गरे कि गरेनन् त्यसलाई पत्रकारहरुले खोजी गर्नु पर्ने उल्लेख गर्दै आफुले क्यान्सर हस्पिटल बनाउँछु भनेर गरेको सङ्कल्प बितेको एक वर्षमा पूरा गरेरै छाडेको प्रसाईले सुनाए ।

बीएन्डसी हस्पिटल र क्यान्सर हस्पिटल पैसा कमाउन नभएर पूर्वका जनतालाई अन्तर्राष्ट्रिय स्तरको उपचारको सेवा प्रदान गर्न स्थापना भएको उनको भनाई थियो ।

हस्पिटलको विषयमा सकारात्मक र नकारात्मक दुबैखाले समाचार लेखेर मिडियाहरुले आफुहरुलाई हौंसला बढाएको उल्लेख गर्दै उनले भने–‘तपाईहरुले सकारात्मक समाचार लेखेर हामीलाई प्रोत्साहन गरिदिनु भयो भने नकारात्मक सचाचार लेखेर हामीलाई गल्ती सच्याउने अवसर पनि प्रदान गरिदिनु भएको छ ।’

आगामी मङ्सिर १ गतेदेखि पूर्वाञ्चल क्यान्सर हस्पिटलको सेवा प्रारम्भ हुने जनाउँदै १८ सय किलोमिटर वरिपरि यस्तो अर्को मेसिन र अत्याधुनिक क्यान्सर हस्पिटल नभएको प्रसाईले दावी गरेका छन् ।

कार्यक्रममा पत्रकार मोहन काजीले सञ्चारकर्मीहरुका तर्फबाट मन्तब्य ब्यक्त गर्दै क्यान्सर र त्यस्तै जटिल रोगको उपचारका लागि अहिले भारतको भेलोर वा दिल्ली धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै मुलुक बाहिरका विरामी समेत उपचारका लागि विर्तामोड आउनु पर्ने अवस्था सिर्जना गर्न बीएन्डसी हस्पिटललाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गरेका थिए । सोही अवसरमा निकट भविष्यमा सञ्चालन हुन लागेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको रेडियसन मेसिनको पत्रकारहरुलाई अवलोकन गराइएको थियो ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: