महाभारतकालीन प्रतिमाहरुले सिगारिदै अर्जुनधारा

भद्रपुर (रासस) । पूर्वको पशुपतिनाथको रुपमा चिनिएको अर्जुनधारा जलेश्वर धामलाई थप आकर्षण बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरुसँग मिल्ने प्रतिमाहरु नगरको मुख्य बजार शनिश्चरेमा राखिने भएको छ ।

बाह्र बर्ष बनवास बसेका बेला तिर्खाएका गाईहरुको प्यास मेटाउन धनुर्धारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किंबदन्ती महाभारत कथामा वर्णित छ । सोही स्थानमा हाल अर्जुनधारा धाम रहेको मानिदै आएको छ ।

अर्जुनधारा नगरपालिकाले धामको प्रवेशमार्ग समेत रहेको शनिश्चरे बजारमा महाभारतकालीन कथामा वर्णित पात्रहरुको कलात्मक झलक प्रस्तुत गर्न रु. ४६ लाखमा विभिन्न मूर्तिहरु बनाउन दिएको नगरप्रमुख हरि रानाले बताए ।

उनका अनुसार ती मूर्तिहरु बनाउन कमल गाउँपालिका वडा नं. ५ का मूर्तिकार भक्तिमान राईलाई ठेक्का दिइएको छ । राईले अर्डर बमोजिमका मूर्तिहरु तयार भइसकेको जानकारी दिएका छन् ।

नगरपालिकाको नामाकरण समेत अर्जुनधारा धामकै प्रसिद्धीका कारणले भएको जनाउँदै नगरप्रमुख रानाले ती मूर्तिहरु सजाएपछि अर्जुनधारा धार्मिकस्थलको महत्व स्थापित हुने र यहाँ तीर्थाटनमा आउने पर्यटकहरुको सङ्ख्या अझै बढ्ने आशा गरिएको बताए ।

बनाइएको प्रतिमाहरुमा भगवान श्रीकृष्णले हाँकेको रथमा योद्धा मुद्रामा उभिएका गान्डिव धनुर्धारी अर्जुन र तिर्खाएका गाईलाई प्यास मेटाउन धरतीबाट जलधारा निकाल्न बाण हान्दै गरेका अर्जुन ज्यादै कलात्मक र आकर्षक छन् ।

अर्जुनधाराको शनिश्चरे झापाको पुरानो बजार र साहित्यिक केन्द्रको रुपमा चिनिएको हुँदा त्यसलाई समेत कलामा उतार्ने गरी थुप्रै मूर्तिहरु चोक तथा बजारमा स्थापना गरिने भएको छ ।

पचास बर्षभन्दा पुरानो शनिश्चरे बजार र त्यसबेलाको यातायातलाई झल्काउन आदिवासीहरुले गोरुगाडा हाँक्दै गरेको विशाल मूर्ति शनिश्चरेमा राखिने नगरप्रमुख रानाले जानकारी दिए । उनका अनुसार शनिश्चरेमा राख्नका लागि साहित्यकार एवम् शिक्षासेवी महानन्द सापकोटाको पूर्ण कदको प्रतिमा र आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टको अर्धकदको प्रतिमा समेत निर्माण भइसकेको छ ।

‘प्रतिमाहरु बनिसकेको खबर आएको छ’, नगरप्रमुख राना भन्छन्, ‘अब जतिसक्दो चाँडो तिनीहरुलाई प्रतिस्थापन गर्नका लागि हामी लागिरहेका छौं ।’ प्रतिमाहरु स्थापना भइसकेपछि अर्जुनधाराको पर्यटकीय आकर्षण ह्वात्तै बढ्ने स्थानीय पत्रकार दिपीन राई बताउँछन् ।

अर्जुनधारा जलेश्वर धाममा हरेक वर्ष लाखौं दर्शनार्थी तथा धार्मिक पर्यटक आउने गर्छन् । तामा धातुको छानो लगाएर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अर्जुनधारा मन्दिर परिसरमा अर्जुनले बाण हानेर निस्किएको पानीले बनेको धार्मिक विश्वास गरिने जलकुण्ड समेत रहेको छ ।

नेपालको प्रमुख धार्मिक स्थलमा गणना हुने यस धार्मिकस्थलको चित्र नेपालको हुलाक टिकटमा समेत छापिइसकेको छ । अर्जुनधारा नगरपालिकाले धामको महत्व अझै बढाउनका लागि ठूलो लगानी गरेर प्रवेशमार्गमा पौराणिक कथामा वर्णित पात्रहरुको कलात्मक प्रतिमा स्थापना गर्न लागेकोमा स्थानीयवासी हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: