झापामा मासिदैछन् राजमार्गका ४ हजार रुख

अर्जुन कार्की

झापा । लोकतन्त्र पोस्टले यही असोजमा गरेको गणना अनुसार काँकरभिट्टादेखि दमकसम्म पूर्व पश्चिम राजमार्गको किनारमा ४ हजार ४ सय १७ वटा जीवित रुख छन् ।

२०२८ सालमा निर्माण भएको राजमार्गको दुबै किनारमा हुर्किएका वर, पिपल, कदम, आँप, टिक, मसला, खयर लगायतका रुखले वातावरणलाई स्वच्छ, हरियाली र सुन्दर बनाउन ठूलो योगदान दिएका छन् ।

खासमा यहाँ ५ हजारभन्दा बढी रुख हुर्काइएका थिए । तराई सामुदायिक वन विकास आयोजनाले २०३० देखि २०४२ सालसम्ममा अधिकांश रुख रोपेको थियो । तर, दुई दशक यता करीव ६ सय रुख वेपत्ता छन् । अलेली त ढले होलान्, अरु रुख बैध वा अबैध जे भए पनि फडानी भए ।

अध्ययनबाट दमक, दुधे, सुरुङ्गा, चारपाने, लक्ष्मीपुर, बिर्तामोड र चारआली बजार क्षेत्र उजाड पाइएको छ । त्यहाँ भएका पुराना रुखहरु फडानी भइसकेका छन् । नयाँ रुख हुर्काइएका छैनन् ।

कानूनले राजमार्गका रुखहरु वन जङ्गल सरह संरक्षण गर्नु पर्ने भन्छ । जग्गा सडकको भएकाले त्यहाँका रुख स्वतः सडकको स्वामित्वमा रहन्छ । तथापि कानून अनुसार सडकले आफुखुशी रुख काट्न पाउँदैन । वनकै सहमति र उचित कारण चाहिन्छ ।

सडक डिभिजन कार्यालय दमकका डीई श्यामकुमार यादवका अनुसार सडक किनारमा हरियाली बनाउनु, खाली ठाउँ नछोड्नु र त्यसमा बोटबिरुवा रोप्नु भन्ने नियम छ ।

अब छिटै पूर्व पश्चिम राजमार्गलाई बजार क्षेत्रमा ६ लेन र अन्य भागमा ४ लेनको बनाउने सरकारको योजना छ । त्यसबेला राजमार्ग विस्तारको नाममा यी बँचेका ४४१७ वटा रुखहरु नामोनिसान नरहने गरी फडानी हुनेछन् ।

एसियाली विकास बैङ्कको सहयोगमा नेपालले राजमार्गलाई फराकिलो बनाउन लागेको हुँदा अहिले किनारमा देखिएका रुखहरु अनिवार्य काट्नु पर्ने अवस्था आउने डीई यादवले बताए ।

विकाससँगै वातावरणको भयङ्कर विनाश हुने गर्दछ । राजमार्ग विस्तार क्रममा यति धेरै रुख झापामा मात्र काटिनेछन् भने अरु जिल्लामा पनि यही अवस्था आउनेछ । चार दशक लगाएर हुर्काइएका रुखहरु एकैखेपमा सखाप पारिने भएपछि ‘त्यसपछि के गर्ने’ भन्ने प्रश्नको जवाफ अहिलेदेखि नै खोज्नुपर्ने भएको छ ।

वैज्ञानिकहरुका अनुसार एउटा रुखले ४ जना मानिसलाई पुग्ने अक्सिजन हरेक दिन उत्पादन गर्दछ भने रुख भएको स्थानको तापक्रम अरुतिरको भन्दा ९ डिग्री सेल्सियस चिसो हुन्छ । बर र पिपलले अरु रुखभन्दा दोब्बर अक्सिजन उत्पादन गर्दछ । सामान्य बयस्क रुखले एकवर्षमा वायुमण्डलको २० किलोग्राम धुलो सोस्छ भने २७ हजार किलोग्राम कार्वनडाईअक्साइड हावाबाट ग्रहण गर्दछ ।

सरकारले अहिले जसरी राजमार्गलाई ४ लेनको बनाउने योजना अघि सारेको छ, त्यसैगरी चार लेनको राजमार्गको दुवै किनारमा अहिलेको भन्दा दोब्बर रुखविरुवा रोप्ने आकर्षक योजना समेत ल्याउनु पर्दछ ।

विकसित मुलुकमा विरुवा होइन, उपकरणको सहायताले हुर्किसकेका रुख नै सर्लक्कै उखेलेर ल्याएर रोप्ने गरेको देखिन्छ । चार लेनको राजमार्गमा समेत सोही प्रविधिबाट विरुवा होइन, हरिया रुखहरु नै रोप्ने कार्यक्रम ल्याउनु पर्दछ ।

राजमार्गका रुखहरु वयस्क भइसकेको हुँदा त्यसलाई कटान गर्ने बेला भइसकेको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । घिमिरेका अनुसार पहिलाको कानुनले एक रुख काट्दा २५ बिरुवा लगाउनु भन्थ्यो भने अहिले १० वटा मात्र बिरुवा लगाए पुग्ने बताउँछन् ।

झापाको राजमार्ग खण्डमा धेरै सङ्ख्यामा बर र पिपलको रुख हुर्किएका छन् । जीवनदायी मानिएका यी रुखमा दुर्लभ चराले समेत आश्रय लिने गरेका छन् । चार लेनको राजमार्ग बनाउँदै गर्दा पुरै झापाभरि बर र पिपलको रुख मात्रै रोप्न सके एउटा छुट्टै पहिचान पाउने सम्भावना पनि छ । प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा त्यसो भयो भने उनलाई पर्यावरणमैत्री राजनेताको रुपमा उच्च प्रशंसा हुने निश्चित छ ।

कुनै पनि सडक बन्नुभन्दा पहिला त्यसको वातावरणीय अध्ययन गर्न जरुरी रहेको डीई यादव बताउँछन् । वर्षौँ लगाएर हुर्काइएका रुखहरु विकासको नाममा रातारात फडानी गरेर नयाँ रुखहरु हुर्काउने प्रभावकारी योजना इमानदारीपूर्वक ल्याइएन भने त्यो सरकारको ठूलो भूल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: