अनियन्त्रित ‘प्याङ्ग्री’ झारले रैथाने बनस्पति सङ्कटमा

अम्बिका भण्डारी

भद्रपुर, १७ कात्तिक (रासस) ः स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिदो अवस्थाका कारण रैथाने बनस्पति सङ्कटमा परेका छन् ।

प्याङ्ग्री झारले खाली रहेका अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी बनस्पतिलाई मास्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ । भुई, पर्खाल र रुख जताततै लहरिन सक्ने विशेषता भएको यो झार खेतबारी, सडक र बन क्षेत्रमा अनियन्त्रित रुपमा मौलाइरहेको छ ।
यसले रैथाने बनस्पतिलाई हुर्किन नदिने भएकाले नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर फरेस्ट एक्सन नेपाल नामक गैरसरकारी संस्थाले झापाको हल्दिबारी क्षेत्रमा अनुसन्धान सुरु गरेको छ ।

फरेस्ट एक्सनले सो झारलाई कम्पोस्ट मल बनाउन सकिनेतर्फ स्थानीयबासीलाई उत्प्रेरित गरिरहेको संस्थाकी फिल्ड कर्मचारी देविका अधिकारीले बताउनुभयो ।
खाली जग्गा भेटेपछि केही वर्षमै फैलिएर अरु बनस्पतिलाई प्याङ्ग्री झारले मास्ने भएकाले यसकै कारण प्राकृतिक जङ्गलका कैयन रैथाने जडिबुटी र बोटविरुवा लोप हुने अवस्थामा पुगेकोमा डिभिजन बन कार्यालय झापाका प्रमुख घिमिरेले चिन्ता व्यक्त गर्नुभएको छ ।

बन क्षेत्र, सडक किनारका विजुलीका पोल, सदरमुकाम भद्रपुरस्थित सरकारी कार्यालयका जग्गा र खोला किनारका खाली जग्गामा प्याङ्ग्री झार अत्याधिक मात्रामा फैलिइरहेको पाइएको छ । यो झार ठुस्स गनाउने भएकाले गाईवस्तुले समेत खान रुचाउँदैनन् भने यसको उम्रिने र फैलिने दर अरु बनस्पतिभन्दा ज्यादा भएको घिमिरे बताउनुहुन्छ ।

सहर, गाउँ, सिमसार, खोल्साखोल्सी र जङ्गल जहाँ पनि यो झार आफै उम्रिने र छिटो फैलिने गरेको छ । झापाको सबैभन्दा ठूलो जङ्गल रहेको जलथलको खाली ठाउँ प्याङ्ग्री झारले ढाकिदै गएको स्थानीय पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समूह हल्दिबारीका अध्यक्ष चिरञ्जीवी पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार सामुदायिक बनले जङ्गलभित्रको खाली ठाउँमा फैलिइरहेको प्याङ्ग्री झारलाई उखेलेर वृक्षारोपण गर्ने अभियान सुरु गरेको छ । खाली ठाउँ छाड्दा यस झारले ढाक्ने भनी विज्ञहरुले सुझाव दिएको हुँदा वृक्षारोपण थालिएको उहाँको भनाई छ । प्याङ्ग्री झार फडानीका लागि सामुदायिक बनलाई फरेस्ट एक्सन नेपालले रु. ५० हजार सहयोग गरिसकेको छ ।
‘ठूला रुखहरुमा पनि लहरिएर चढ्न थालिसकेको छ’, सामुदायिक बनका अध्यक्ष पौडेलले रासससँग भन्नुभयो, ‘भर्खर उम्रिएका बिरुवाहरु त यसले छोपेर मासिसकेको छ ।’ झापाको जलथल जङ्गल नेपालकै एक मात्र यस्तो बन क्षेत्र हो, जहाँ पहाडमा मात्र पाइने बोटविरुवा र जीवजन्तु समेत पाइन्छ । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ भने पहाडमा हुने दुम्सी समेत यहाँ पाइन्छ ।
जलथलमा बन सुन्तला, कुसुम, बाँदरझुला, ढेडुझुला, खनिउ, जामुना, केमुना, कटहर, आँप, लटहर, फडिर, हर्रो, बर्रो, अमला लगायतका दर्जनौं फलफुल पाइन्छ । हात्ती, अजिङ्गर, मृग, हरिण, बँदेल, मयुर, सालक, कछुवा, गोहोरो, ठोटरी लगायतका जीव यहाँ पाइन्छन् ।

‘माइकेनियाको सामाज्य फैलिदै गयो भने जैविक विविधतामा असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ’, त्रिभुवन विश्वविद्यालयका जीव विज्ञान उपप्राध्यापक रामचन्द्र अधिकारी भन्नुहुन्छ, ‘झापा मात्र होइन, यसले नेपालको पुरै तराई भूभागमा प्रभाव जमाइसकेको छ ।’ उपप्राध्यापक अधिकारीका अनुसार उष्णप्रदेशीय भूभागमा फस्टाउने यो झार धेरै वर्ष अघि अमेरिकाबाट नेपालमा भित्रिएको विश्वास गरिन्छ । यसलाई विभिन्न मुलुकमा एलियन झार पनि भनिन्छ । अमेरिकामा ५ मिटरभन्दा लामो नहुने यो झार नेपालको हावापानीमा अनुकूल भएर ३० मिटरसम्म लहरिने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार माइकेनिया झारले एक प्रकारको विषादीजन्य तरल रसायन उत्पादन गर्ने भएको हुँदा यसको नजिक अरु बोटविरुवा फस्टाउँदैनन् । यसले लहरिएर ठूला रुखलाई समेत विस्तारै मास्न सक्छ ।

चितवन राष्ट्रिय निकुञ्जको करीव २० प्रतिशत भागमा यो झारको अतिक्रमण भइसकेको ठानिएको छ भने तराईका चारकोशे बनहरुमा यसको फैलदो दर अकल्पनीय रहेको छ । अधिकारीका अनुसार हुर्किएको माइकेनिया झार एक दिनमा ९० मिलिमिटरसम्म बढ्ने गर्दछ ।

बन क्षेत्रमा प्रभुत्व जमाइरहेको यो झार विश्वभर समस्याको रुपमा देखा परिरहेको भए तापनि यसबाट औषधि बनाउन सकिने विषयमा विभिन्न अनुसन्धानहरु हुन थालेको उहाँको भनाई छ । सर्पदंश र विच्छीदंशको औषधि माइकेनिया झारबाट बनाउन सकिने अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक :- मोहन कुमार नेउपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: