जनपक्षीय बन्ने प्रण गर्दछौं - Loktantra Post Loktantra Post
                                                                                                                                                                                                                           

जनपक्षीय बन्ने प्रण गर्दछौं

लोकतन्त्र पोस्ट छैटौं बर्षमा प्रवेश

आजदेखि लोकतन्त्र पोस्ट दैनिकले प्रकाशनको पाँच वर्ष पूरा गरी छैठौं वर्षको यात्रा प्रारम्भ गरेको छ । २०७१ साल पुस १६ गतेको चिसो विहानीमा नागरिक खबरदारीको न्यानो सम्बाहक बन्ने उद्घोषका साथ झापा, मोरङ र सुनसरीको प्रमुख सहर र गाउँमा यो पत्रिका पुग्दा आम पाठकबाट अपार सद्भाव र माया प्राप्त भएको थियो । त्यही पाठकीय आशा र विश्वासको जगमा उभिएर नै लोकतन्त्र पोस्टले पाँच वर्षे यात्रा सफल बनाएको छ । समाजका सबै तह तप्काबाट प्राप्त भएको हौसला र सद्भावले गर्दा नै आगामी दिनमा अझ बढी सृजनात्मक हुँदै जनमुखी पत्रकारिताको नमुना पेश गर्ने ऊर्जा प्रकाशनले प्राप्त गरेको छ । स्थापनाकालमा पत्रिकाको आधार खडा गर्न सहयोग पुर्याउनुहुने जिनियस मिडियाको सञ्चालक समिति, पत्रकार तथा कर्मचारी समूह र हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।

लोकतन्त्र पत्रिकाको पहिलो अङ्क पाठकका हातहातमा पुगिरहँदा मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संबैधानिक रुपमा संस्थागत गर्ने रस्साकस्सी चलिरहेको थियो । संविधान जारी नभइञ्जेल लोकतन्त्रले आफ्ना हरेक दिनका पानाहरु जनान्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने पक्षमा खर्चिएको सर्वविदितै छ । राजनीतिक प्रणाली फेरिए पनि भुइँमान्छेहरुको अवस्था नफेरिएको बिडम्बना आज पनि छर्लङ्गै छ । यसको अर्थ अहिले कुनै परिवर्तन भएकै छैन, केही आशलाग्दा थालनीहरु भएकै छैनन् भन्ने निष्कर्ष हाम्रो होइन । लोकतन्त्र पोस्टले आम जनताका समस्या, गुनासा र सामाजिक बेथितिहरु उजागर गर्ने स्थापनाकालमै शपथ लिएको छ । यो शपथको पालनाबाट लोकतन्त्र प्रकाशन कहिल्यै विचलित हुनेछैन, यो हाम्रो सदावहार प्रतिज्ञा हो । अहिलेभन्दा पहिलेकै व्यवस्था राम्रो भन्दै लोकतन्त्रप्रति उपहास गर्ने र आम जनतामा निराशा र भ्रम छर्ने हर्कतहरु अहिले पनि नभएका होइनन् । लोकतन्त्र पोस्ट त्यस्ता प्रतिगमनकारी विचारसँग असहमत छ । सबै आस्था र विश्वास बोकेका जनताका चाहनाहरु अहिलेकै लोकतन्त्रको उन्नत अभ्यासबाट सम्पूरण हुन सक्छन् भन्ने हामी विश्वास गर्दछौं ।

लोकतन्त्र पोस्ट सूचना प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसात गर्दै अहिले डिजिटल माध्यमबाट समेत नियमित प्रकाशन भइरहेको छ । छापा माध्यमसँगै अनलाइनबाट लोकतन्त्र पोस्टले ताजा सूचना प्रवाह गर्ने कार्यमा आफुलाई पोख्त तुल्याइसकेको छ । वर्षमा एकपटक भए पनि रङ्गीन मेगेजिन प्रकाशन गरेर लोकतन्त्र पोस्टले पत्रकारितामा आफुलाई राष्ट्रिय तहमा उभ्याउन सफल भएको छ । देश विदेशका पाठकले मेगेजिन रुचाएका छन् । लाखौं पाठकले अनलाइनबाट लोकतन्त्र पढ्न सकिरहेका छन् । आगामी दिनमा अनलाइन पत्रिकासँगै अनलाइन टिभी (यु–ट्युव च्यानल)को नियमित सेवा सुरु गर्ने तयारीमा हामी जुटेका छौं । हामी प्रदेश नं. १ कै अग्रणी सञ्चारगृहको रुपमा अगाडि बढिरहेका छौं । यसमा आम पाठक र शुभेच्छुकहरुको रचनात्मक सल्लाह र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौं ।

स्वतन्त्र पत्रकारितामा हाम्रो अटल विश्वास छ । नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने वा घात हुने राज्य वा गैराज्य पक्षको कुनै पनि कदममा हामी कडारुपमा विमति राख्नेछौं । सरकारका राम्रा कामहरुको सदैव समर्थन गर्नेछौं । आर्थिक समृद्धिका लागि सरकारलाई अग्रसर गराउन हामी प्रोत्साहित गरिरहनेछौं । तर नराम्रा कामहरुको भण्डाफोर गर्नु हामी पत्रकारिताको धर्म सम्झनेछौं । हामी कुनै राजनीतिक विचार र समूहको बन्धक छैनौं, हुँदैनौं । लोकतन्त्र सबैको साझा हो, भइरहनेछ । जसले आफ्ना आवाज दबाइएको अनुभूति गर्नेछन्, तिनै भुइँमान्छेहरुको पक्षमा लोकतन्त्र दृढतापूर्वक उभिनेछ । हामी आगामी दिनमा आफ्ना छापा र डिजिटल प्रकाशनलाई पाठकीय चाहना बमोजिम परिष्कृत गर्दै जाने प्रण गर्दछौं । यसका निम्ति युवा सहकर्मीहरुलाई दैनिक, अनलाइन र मेगेजिनको सम्पादकीय नेतृत्वको जिम्मेवारी सुम्पिने कार्य जारी छ । छैठौं वर्ष प्रवेशको सुखद् अवसरमा सम्पूर्ण पाठक, सञ्चालक समूह, सहकर्मी पत्रकार, स्तम्भकार र विज्ञापनदातामा हार्दिक बधाइ व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्राविधिक समर्थन :- मौसम न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: