कोरोना भाइरस अमेरिका पुग्यो, चीनमा खल्बली

मेचीनगर । विश्वभरि ज्यानमारा कोरोना भाइरसको त्रास फैलिएको छ । चीनको वुहान सहरमा पहिलोपल्ट देखा परेको यो भाइरस अमेरिकासम्म पुगिसकेको छ ।

मानिसले हाछ्यु गर्दा र खोक्दा उच्च दरमा सङ्क्रमण फैलिने कोरोना भाइरसका कारण चीनमा हालसम्म १७ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा समेत यसको सङ्क्रमण फैलिने डरले सतर्कता अपनाउन सुरु गरिएको छ ।

चिनियाँ शहर वुहानले कोरोना भाइरसको सङ्क्रमण फैनने सम्भावनालाई लिएर सार्वजनिक यातायात समेत बन्द गरेको खबर आएको छ ।

करीब एक करोड दश लाख जनसङ्ख्या रहेको वुहान सहरका स्थानीयलाई घर नछोड्न सल्लाह दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणले चीनमा ५ सय जना विरामी अवस्थामा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने पर्यटक तथा स्वदेशी आगन्तुकलाई पनि विशेष निगरानी राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाले बताए ।

उनले विश्व स्वास्थ्य सङ्गठन लगायतका अन्तर्राष्ट्रिय समुदायले तात्कालै अनिवार्य ‘स्क्रिनिङ’ सम्बन्धमा कुनै परिपत्र वा आग्रह नगरेकोले सामान्य अवस्थामै सूचनामूलक जानकारीहरु विमानस्थलमा उपलब्ध गराइएको बताए । विमानस्थलमा रहेको सहायता केन्द्रलाई सक्रिय बनाइएको छ । सङ्क्रमणको शङ्का हुने यात्रुकै आग्रहमा शरीरको तापक्रम लिनुका साथै जोखिम भए शुक्रराज ट्रपिकल अस्पताल पठाउने व्यवस्था गरिएको डा. ओझाले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको सङ्क्रमणबारे स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नागरिक उड्डयन प्राधिकरणबीच निरन्तर बैठक र छलफल भइरहेको जानकारी दिए ।

उद्गम वुहान सहर ः
वुहान सहरबाट सुरु भएको सङ्क्रमण चीनको अन्य प्रान्तहरुसँगै अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि फैलिएको छ ।

जङ्गली जनावरको अवैध कारोबार हुने वुहान शहरको ‘सी फुड’ बजारबाट उक्त सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

हालसम्म ४४० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ अधिकारीहरुले सङ्क्रमित बिरामी करीब दुई हजार १९७ जनाको सम्पर्कमा आएको जानकारी दिएका छन् ।

चीनको वेइजिङ र साङ्घाई मेगा सहरको रुपमा प्रख्यात छ । तर वुहान सहर भने विश्वसँग जोडिएको शहरको रुपमा चिनिन्छ । जहाँ विश्वकै सबैभन्दा ठूला पाँचसय कम्पनीले लगानी गरेको छ । वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेनी करोडौं ब्यक्ति आवागमन गर्छन् ।

अधिकारीहरुले कोरोना भाइरसको उन्मूलन र नियन्त्रणको महत्वपूर्ण अवस्थामा रहेको बताएका छन् ।

वुहान ओहोरदोहोरमा रोक ः
चिनियाँ नयाँ वर्षको अवसरमा हजारौं सर्वसाधारण एक सहरबाट अर्को शहरसँगै आ–आफ्नो घर र पर्यटकीय स्थलहरुमा ओहोर दोहोर गरिरहँदा वुहानले सहरबाट बाहिरिन र सहर प्रवेशमा समेत रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमणको उद्गमस्थल पहिचान गरिएको वुहान सहरमा आवागमन रोक्न जोड दिएका छन् ।

अधिकारीले उक्त सहरका करीब १ करोड १० लाख स्थानीयलाई भिड नगर्न र एकै स्थानमा भेला नहुन आग्रह गरेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बिनले भनेका छन्, ‘वुहान नजाऔं, वुहानमा भएकाहरु सहर नछोडौं ।’ कोरोना भाइरस प्रकोपको रुप लिएपछि पहिलो सार्वजनिक अभिब्यक्तिमा उनले त्यस्तो भनेका छन् ।

सङ्क्रमण रोक्न कठोर कदमहरु चालिदैछ । भिड नियन्त्रण गर्न र भेला हुन नहुने जस्ता सन्देश प्रवाह गरिएको छ । त्यसैगरी वुहान छोड्नेहरुको शारीरिक तापक्रम ‘स्क्रिनिङ’ गर्ने तथा सवारीसाधन प्रस्थान गर्ने र जमा हुने प्रमुख स्थलहरु बाँध्ने र वायुसञ्चारमा विशेष सतर्कता अपनाइएको छ ।

सहरमा जीवित कुखुरा र जङ्गली जनावरको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । यी उपायहरु अपनाइएको निरीक्षण गर्न प्रहरी परिचालन गरिएको छ ।

सङ्क्रमण फैलिएको ठहर गरिएको सी–फुड र भने पूर्णरुपमा बन्द गरिएको छ । कुनै जनावरबाट मानिसमा उक्त सङ्क्रमण फैलिएको हुनाले बजार पूर्णरुपमा बन्द गरिएको र जङ्गली जनावरको कारोबार प्रतिबन्धित गरिएको चिनियाँ रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका निर्देशक जिओ फुले बताएका छन् ।

के हो कोरोना भाइरस ?
कोरोना भाइरसलाई २०१९–एन सीओ भी नाम दिइएको छ । उक्त भाइरस मानिसमा पहिलोपटक देखा परेको हो । सन् २००० मा करीब ८०० ब्यक्तिको मृत्यु हुने गरी देखा परेको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो ।

अमेरिकामा भाइरस सङ्क्रमणको पहिलो बिरामी मङ्गलबार फेला परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अधिकारीहरुले अवस्था पूर्णरुपमा नियन्त्रित भनेर दिएको जानकारीमा आफू विश्वस्त रहेको बताएका छन् ।

उप मन्त्री लीले श्वासप्रश्वासकै माध्यमबाट सङ्क्रमण फैलने जानकारी दिँदै हाछ्युँ गर्दा र खकार फाल्दा सङ्क्रमण फैलने सम्भावना बढी रहेको बताए । तर चीनले भने सङ्क्रमणको स्रोत अझै पहिल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: