मैले इतिहासलाई प्रश्न गरेकी हुँ

नीलम कार्की निहारिका ऐतिहासिक विषयमा कलम चलाउने सशक्त प्रतिभा हुन् । उनका ‘चीरहरण’ र ‘योगमाया’ दुवै रचना प्रख्यात छन् । २०७५ सालको मदन पुरस्कार उनकै कृति ‘योगमाया’ ले जितेको छ । उनीसँग सुरज सुबेदीले गरेको कुराकानी प्रस्तुत छ–

साहित्यबाट समाजलाई के गर्न सकिन्छ जस्तो लाग्छ ?
पक्कै पनि धेरैथोक गर्न सकिन्छ । कलमले हराएको कथा खोज्न सक्छ । विक्रम सम्बत् १९९८ मा समाधि लिएकी योगमायालाई आज एउटा उपन्यासले राष्ट्रको ढोकासम्म ल्याउन सफल भयो । यो कलमकै कारण सम्भव भएको हो । उपन्यासभन्दा पहिला पनि साहित्यकै कारण उनी मानिसको सम्झनामा बाँचिन् । श्लोकहरूमार्फत् बोलीमा बसिन् । साहित्यले बोल्ने ठाउँ दिन्छ । आवाज दिन्छ ।

तपाईँको बाल्यकाल र त्यस बेलाका घटनाले आफ्नो लेखनमा पारेको चेतनात्मक प्रभावलाई कसरी सम्झिनुहुन्छ ?
अरू सामान्य नेपालीको बाल्यकालजस्तै मेरो पनि बाल्यकाल बित्यो । फरक के थियो भने, मेरो आमाबुवा नजिकै स्कुलमा पढाउनुहुन्थ्यो । आमाले २०४६÷४७ सम्मै स्कुलमा पढाएको याद छ । २६ वर्ष पढाउनुभयो । त्यो समय आमा गाउँमा एक मात्र महिला शिक्षक । पढेका महिला कम थिए । सबैले मिना दिदी भनेर चिन्थे । यसले घरमा पढ्नुपर्छ भन्ने वातावरण भयो ।

उहाँ भारतमा जन्मिएकाले धार्मिक ग्रन्थहरूसँग एकदमै परिचित । हामीलाई विभिन्न कथा सुनाउनुहुन्थ्यो । दाइ, दिदी र म लस्करै सुत्थ्यौँ र सुन्थ्यौँ । स्वस्थानी वाचन र दुर्गा कवच पढ्ने गरेको पनि याद छ । हामीले सबै सुन्यौँ । सुन्दासुन्दै साहित्यतर्फ तानिएँ ।

‘चीरहरण’ उपन्यासले महाभारतलाई द्रौपदीमार्फत प्रश्न गरेको छ । धार्मिक कथालाई सुन्ने कलिलो दिमाग त्यसैलाई प्रश्न गर्ने कहिलेबाट भयो ?
जब आमाले महाभारत र द्रौपदीको कथा सुनाउनुहुन्थ्यो, म सोध्थेँ ‘त्यसो हुँदा पनि कोही उठेर किन नबचाएको द्रौपदीलाई ?’
आमा भन्नुहुन्थ्यो ‘भगवान् आएर बचाए ।’

मैले आफैंसँग भने श्रीमानले किन केही गरेनन् र भगवान् आउन्जेल किन पर्खिए भन्ने प्रश्न सोध्न छाडिन । आमाले ‘आफूभन्दा ठूलालाई मान्ने र बाचामा हार्ने समय थियो त्यो’ भन्दा पनि सन्तुष्ट भइन । सायद त्यही प्रश्न र असन्तुष्टि पछि चेतना बन्यो ।

अहिलेसम्म पनि त्यो प्रश्न उस्तै छ कि जवाफ पाउनुभयो ?
अहिलेसम्म पनि पाएको छैन । पाँच पाण्डव र भीष्मको हात केले बाँधिएको थियो भन्ने मलाई अहिले पनि थाहा छैन । जतिपल्ट सोध्छु उति नै जटिल लाग्छ यो प्रश्न । यति लेखिसक्दा पनि भेटेको छैन ।

योगमायाको के कुराले तपाईँलाई उपन्यास लेख्ने बनायो ?
मैले योगमायाबारे सुनिसकेपछि पनि उपन्यास लेख्छु भन्ने सोचेको थिइन । पछि पद्मश्री पुरस्कार वितरणको दिन दाहाल यज्ञनिधि सरले तिमीले लेख्नुपर्छ भनेपछि गम्भीर भएँ । भोलिपल्टै रत्न पुस्तक भण्डारमा गएर डा. गोविन्दमान कार्कीको एउटा किताब उठाएँ । उहाँलाई सम्पर्क गरेँ । केही सामाग्री दिनुभयो । अध्ययन गर्न थालिसकेपछि भने योगमायाको जीवनी पक्षभन्दा अरू पाटाहरूले आकर्षित गर्दै गए । समाज परिवर्तनका लागि उनले खेलेको भूमिका र उठाएको आवाजलाई लेख्नै पर्छ भइरह्यो ।

अध्ययन गर्दै गर्दा उहाँका बारेमा लेखिएका सामग्रीमा के कुरा अपुग रहेछन् ? उनलाई पहिला लेखिएका कृतिले कसरी बुझेका रहेछन् ?
योगमायालाई नारी उत्थानमा भूमिका खेल्ने व्यक्ति भनेर सीमित बनाइएको रहेछ । तपाईँले पढ्नुभयो भने पनि सती प्रथामा लगेर योगमायालाई सीमित गरिन्छ । यसमा मेरो विमति छ । उनलाई सानो भूमिकामा सीमित गर्न खोजियो । जबकि, उनी त्यो भन्दा बृहत् छिन् । उनको ठूलो काम सामाजिक चेतना बढाउनमा छ । सती प्रथा त्यसको एक अङ्ग मात्र हो ।

ती चेतनाहरू के के रहेछन् त ?
त्यस बेला सबैभन्दा विकराल अवस्था छुवाछुतको थियो जसलाई हटाउन उनले योगदान गरेकी छन् । छुवाछुतविरुद्ध लडाइँमा लागेकैले उनको जात काडिएको थियो । अनुयायीका बच्चालाई घरभित्र पस्न र मावल जान रोकिएको थियो । काइँली कमिनी त उनको अभियानमै सहभागी थिइन् । तर पनि उनलाई नारी मुक्ति र समाधिमा मात्र लगेर जोडिन्छ । उनले नारीका लागि मात्र हैन, सामाजिक मुक्तिका लागि काम गरेकी हुन् । त्यसभित्र नारी पनि पर्छन् ।

इतिहास वा ऐतिहासिक अध्ययनको संरचनागत समस्याले योगमायालाई नारीभन्दा पर पुर्याएर सोच्न नदिएको हो ?
हिजोको कुरा मात्र हैन । आजै पनि सामाजिक संरचना उस्तै छ । समाज, समाचार, बोलीचाली सबै नारी कित्ताकरण गर्न हतार गरिरहन्छ । मदन पुरस्कार पाउने ‘महिला’ भनेको त सुन्नुभयो होला । आजै यस्तो छ भने आजभन्दा सय वर्ष पहिलेको चेतनाको त के कुरा गर्नु । अहिले एक दुईवटा लेख नारीको विषयमा लेखे नारीवादी भइहालिन्छ । एउटा पुरुष लेखकले नारीका बारेमा लेख्दा फरक पर्दैन । तर हामीले लेख्दा पारिन्छ । संरचनागत समस्या सोचाइमा छ । इतिहास पनि यसबाट अछुत छैन ।
सामाजिक समस्याको कुनै लिङ्ग हुँदैन । समाजको कुरा उठ्दै जाँदा त्यहाँ नारी पनि पर्न सक्छिन् र पुरुष पनि । यो बुझाई इतिहाससँग छैन । योगमायाले महिलाले पनि वेद पढ्न पाउनुपर्छ भनिन् । त्यो नारीको समस्याभन्दा नारी र पुरुषलाई समान अधिकार दिन नसक्ने समाजको समस्या थियो । समाजको समस्यालाई नारीको समस्या भनेर सीमित किन गर्नुपर्यो ?

अहिलेको समय र योगमायाको समयमा कस्तो फरक छ ? तपाईँ आफू र योगमायालाई कसरी तुलना गर्नुहुन्छ ?
मैले आफूसँग योगमायालाई तुलना गर्न सक्दिन । उनी जुन समयमा बाँचिन्, त्यो समय अहिलेका कमै महिलाले बाँचेका छन् । उनले खेलेको भूमिका र लिएको नेतृत्व अचम्मकै छ । अहिले पनि महिलाहरूलाई थपना पदमा सीमित गरिएको छ । हस्तक्षेप गरेर आउने बाटो बन्द गरिएको छ र कठिन छ । उनले त्यो बेलाको कठोर पितृसत्तात्मक समाजमा पनि त्यतिका धेरै महिला र पुरुषलाई आफ्नो अभियानमा अनुयायी बनाइन् । जल समाधिमा पुरुष पनि गएको कुरा त्यसकै प्रमाण हुन् । अहिले यति पढेलेखेको भएर पनि हामी महिला आफ्नो अस्तित्वका लागि लडिरहेका छौँ ।

हस्तक्षेप कसरी गर्ने त ?
म पनि त्यही सोच्छु । हुन त पहिलेभन्दा अवस्था सहज भएको छ जस्तो पनि लाग्छ । तर अझै पनि सोचाइमा परिवर्तन हुन बाँकी छ । पुरुषले अधिकार दिने र महिलाले अधिकार पाउने कुरा प्रकृतिले बनाएको हैन भनेर पुरुषले बुझ्नुपर्छ । जन्मिँदा सबै बराबर जन्मिएका बच्चालाई सिकाउँदा पनि समान कुरा सिकाउनुपर्छ । हाम्रो लेखन, प्रयास, अभियान सबै कुराहरू सोच परिवर्तन गर्नेतिर लक्षित हुनुपर्छ ।

यो प्रक्रियामा महिला स्वयंमबाट केही कमजोरी भइरहेको छ कि ?
सोचाइ परिवर्तनका लागि गरिने हस्तक्षेप सबैभन्दा कठिन कुरा हो । त्यसको लागि लड्ने साधनहरू सबै अगाडि नै भुत्ते भइसकेकाले पनि धार लगाउन सङ्घर्ष गर्नैपर्छ । महिलाहरूले पनि आफ्नो अस्तित्व आफैंले स्वीकार गर्न सकिरहेका छैनन् । म महिला हुँ त्यसैले यो सबै गर्न सक्दिन भन्ने मानसिकता कतिमा छ ।

हामी हुर्किएको समाजले आफैंलाई भेदभाव गर्ने बनाएको छ । अन्याय अचेतन भएर हाम्रो दिमागमा बसेको छ । दिमाग फेर्नलाई समय लाग्छ । यो महिला र पुरुषको समस्या हैन, समाजको समस्या हो । त्यसैले संरचनागत समस्यालाई परिवर्तन गर्न दुवै पक्ष लाग्नुपर्छ ।

इतिहासको बारेमा अनुसन्धानात्मक कृति किन लेखिनुपर्छ ?
कुनै विषय जति जति टाढा हुँदै जान्छ, साना साना मानिसको कथा उति धमिलो हुँदै जान्छन् ।
२००७ सालमा राजा त्रिभुवनले यसो गरे उसो गरे भनेर ग्राण्ड न्यारेटिभ बनाइएको छ । तर त्यो बेला भूमिका खेलेका जनताको कुरा कतै सुनिँदैन । एकीकरणको इतिहासमा पनि यस्तै भएको छ । कुनै पनि घटना एक्लै हुन सम्भव छैन भने त्यसको रेकर्ड गरिँदा एक्लो मानिसको मात्र किन गर्ने ?

अमेरिकामा अमेरिकाको झन्डा बनाउने महिलाको बारेमा उपन्यास लेखिएको छ । सिङ्गो जीवनी लेखिएको छ । हामीसँग राष्ट्र बचाउन लागेका व्यक्तिहरूको कुनै इतिहास छैन । बलभद्र कुँवर, अमरसिंह थापा त केवल नाममा सीमित भएका छन् । खै त उनीहरूको सङ्घर्षको कथा, परिवारको कथा ? त्यसैले हामीले नाम मात्र सुनेर र स्केच मात्र देखेको भरमा धारणा बनाएका धेरै ऐतिहासिक व्यक्तिहरूका बारेमा खोज्नु र अध्ययन गर्नु जरुरी छ ।

नेपालले इतिहासमा धेरै काम गर्न बाँकी छ । हामीले शासकको इतिहास मात्र पढ्यौँ, जनताको इतिहास पढ्न पाएनौँ । पढेको इतिहास पनि स्तुतीगानभन्दा फरक छैन । इतिहास स्तुतीगान हैन । विविध पक्ष केलाएर वास्तविक इतिहास लेख्नै बाँकी छ । इतिहासको पुनर्लेखन सरकारी तवरबाट नगरिए सम्भव छैन । तर, यसले ठूलो चेतना माग्छ जुन सरकारी निकायमा भएको मानव संशाधनबाट सम्भवै छैन । व्यक्तिगत प्रयासबाटै गर्न सकिने ठाउँ भनेको अनुसन्धानात्मक कृति नै हो । अहिले धेरथोर इतिहासलाई फर्किएर प्रश्न गर्न थालिएको छ । यसको निरन्तरता हुनुपर्छ ।

इतिहास पुनर्लेखन गर्दा पनि त पहिला भएका गल्ती दोहोरिन सक्छन् नि हैन? ती कमजोरी नदोहोर्याई नयाँ कोणबाट कसरी लेख्ने ?
गहन रिसर्च गर्ने, प्रमाणित डाटा खोज्ने र डाटा विश्लेषण गर्नुपर्छ । एकैसमयमा भएका दुईवटा घटनालाई जुधाएर हेर्नुपर्छ । पर्याप्त अध्ययन नगरी लेख्न थाल्दा गल्ती हुने सम्भावना धेरै हुन्छ । योगमायालाई नै सुरूमा बालबिधवा भनियो । मैले बालबिधवा नै किन लेखियो त भनेर प्रश्न गरेँ ।

सङ्खुवासभाका डा. मातृका तिम्सिनाले उनका बारेमा लेखेको किताबमा बालबिधवानै लेख्नुभएको थियो । पछि उहाँले नै बालबिधवा हैनन् भनेर अर्को किताब लेख्नुभयो । उहाँलाई सोध्दा भन्नुहुन्थ्यो ‘नीलमजी त्यति बेला योगमायाबारे काम गर्न धेरै गाह्रो थियो । तँ यस्ती महिलाको पछाडि लागेर हिँड्छस् भन्थे । सहयोगी सामग्री जुटाउन कठिन थियो । त्यस्तो बेला मान्छेको सहानुभूति बटुल्न पनि हामीले कलम बङ्ग्याउनुपरेको थियो ।’

यस्ता समस्याहरू बीचमा आउँछन् । हाम्रो अध्ययन एकीकृत छैनन् । एउटै घटनाबारे पनि गलत बुझाई छन् । अझ यो त एक गुमनाम महिलाको इतिहास खोज्ने दुःख भयो । लेखेर इतिहास बनिसकेको वा पढाइसकिएका शासकको फरक इतिहास खोज्न झन् कति गाह्रो पर्ला अनुमान लगाउन सक्नुहुन्छ । तर अब पनि नखोजे धेरै ढिला हुन्छ ।

सय वर्षअघिको कुरा खोज्न त यत्तिको गाह्रो छ भने त्योभन्दा पुरानो समयमा पुग्न अरू धेरै कठिनाइ छ । हाम्रो इतिहास अझै पनि कथ्यमै सीमित रहेकाले जति लामो समय बित्छ उति प्रमाण र साक्षी हराउँदै जान्छन् । लेखिएन भने बोली चाँडै हराउँछ । डरलाग्दो कुरा त के छ भने इतिहास पढ्न अहिले विश्वविद्यालयमा पनि विद्यार्थी घटेका छन् । यो देशको लागि राम्रो सङ्केत हैन ।

अहिलेको समयलाई अर्काइभ गर्ने कुरामा हाम्रो चेतना कस्तो छ जस्तो लाग्छ ?
अर्काइभमा पनि हामी अभ्यस्त छैनौँ । भोलिका लागि जोगाउनुपर्छ भन्ने सोच बनेको छैन । राम्रोसँग राख्न सङ्ग्रहालय छैनन् । भएकाको अवस्था पनि बिजोग छ । पश्चिमा देशहरूले मानिसको जिन पनि सुरक्षित राख्न थालिसके । बच्चाको नाल काट्दा आउने रगत पनि पछि काम लाग्छ भनेर राखिन्छ उता । नेपाल सरकारले यो कुरामा सोचिरहेको छैन । देश विकासका लागि यी कुरा महत्वका हुन् भन्ने महसुस राज्यले गर्नैपर्छ ।

योगमाया कृति किन महत्वपूर्ण ? इतिहासलाई विषयगत बनाउन खोजेर कि एउटा (महिला) पात्रलाई पुनर्जीवित गर्न खोजेर ?
मैले यो किताब महिला पात्र भएकाले लेखेको हैन । त्यति योगदान पुर्याउने पुरुष पात्र हुन्थे भने पनि लेख्थेँ । म महिलाका लागि मात्र लेख्ने मान्छे हैन । योगमायाबारे धेरैलाई थाहा थिएन । उनले चालेको कदमबारे झन् थाहा हुने कुरै भएन । त्यो समय छुवाछुत हटाउन लागेकी, गरुड पुराणको विरोध गरेकी एक समाज सुधारक व्यक्ति गलत हुन् कि सही हुन् भन्ने थाहा पाउनुभन्दा पहिला उनको बारेमा त जान्नुपर्यो । त्यो जान्न मैले अनुसन्धान गरेँ । त्यसले उनको व्यक्तित्व खोज्ने बनायो अनि उपन्यास बन्यो । यसलाई इतिहासको विषयीकरण वा पात्र पुनर्जीवित गर्ने चेष्टा जे भनेर बुझिदिए हुन्छ ।

यसलाई आख्यान किन बनाउनुभएको त ? मान्छेले यसलाई सत्य हैन भनेर शङ्का गर्न सक्छन् नि हैन र ? रिसर्च बुक किन बनाउनुभएन त ?
यो कुरा मलाई प्राध्यापक कृष्ण गौतम सरले पनि भन्नुभएको थियो । मलाई लाग्छ यो एउटा एकदमै राम्रो रिसर्च किताब हुन सक्थ्यो । आख्यानमा विश्वासनियताको प्रश्न ढलपल हुन्छ नै । मलाई योगमायालाई चिनिने बनाएर समाजमा ल्याउनु थियो । उनको कदमबारे भन्ने सबैभन्दा राम्रो माध्यम आख्यान नै हुन सक्थ्यो । रिसर्च बुक इच्छा र रुचि हुने मानिससम्म त पुग्थ्यो होला तर साधारण पाठकसम्म त्यसले योगमायालाई पुर्याउन सक्ने थिएन । आख्यानका रूपमा यसरी नआएको भए उनका बारेमा यत्रो धेरै बहस हुँदैन थियो सायद । मलाई योगमायालाई भोजपुरको मझुवा बेसीबाट झिकेर पसलको किताब र्याकमा थन्किने योगमाया मात्र बनाउनु थिएन । त्यसैले आख्यानै बनाएँ ।

एउटा आख्यानले के गर्छ जुन इतिहासले गर्न सक्दैन ?
इतिहासले गर्न सक्दैन भनेको हैन । पक्कै पनि इतिहासले धेरै थोक गर्न सक्छ । तर हामी इतिहास पढ्ने मामिलामा अभ्यस्त भइसकेका छैनौँ । हाम्रोमा इतिहासका किताब बेस्टसेलर हुन अझै समय लाग्छ । भर्खर आख्यान पढ्न थालेका हौँ । यस्तो बेला आख्यान इतिहासभन्दा प्रभाकारी माध्यम हुन्छ भन्ने मात्र कुरा हो । इतिहास चाहिन्छ तर त्यसलाई साधारण मान्छेले पढुँपढुँ लाग्ने पनि बनाउनुपर्छ । बच्चाले खाने दबाइलाई गुलियो बनाएजस्तै ।

तपाईँले अध्ययन क्रममा ‘थर्ड पर्सन प्वाइन्ट अफ भ्यू’ बाट योगमायालाई बुझ्नुभयो । तर ्‘फस्ट पर्सन न्यारेटिभ’ मा लेखिएको छ । त्यसमा पनि योगमायाको हैन गङ्गाको पक्षबाट किन ?
हो यसमा प्रथम दृष्टिविन्दु प्रयोग गरेको छु । ‘चीरहरण’ र ‘अर्की आइमाई’ पनि प्रथम दृष्टिविन्दुमै लेखेँ । योगमाया लेख्दा सुरुमा प्रेमनारायणको दृष्टिबाट कथा वाचन गरौँ कि भन्ने सोचेको थिएँ । उनी त्यस समयका बौद्धिक पात्र । उनको पक्षबाट लेख्दा मलाई शब्द खेल्न सजिलो हुन्थ्यो । योगमायाकै पक्षबाट पनि लेख्न सक्थेँ तर त्यसमा पनि उनी हाबी हुन सक्थिन् । अहम् देखिन सक्थ्यो । वा केही विषयमा चुक्न सक्थेँ । त्यसकारण योगमायाको जीवनसम्म पस्न, उनलाई छोएर कुराकानी गर्न र नारी संवेदना दिन एक निरक्षर गङ्गालाई छानेकी हुँ ।

इतिहासकार निल फर्गुसनले ऐतिहासिक आख्यान पढ्दिन किनकि यसले ‘इतिहास बिगार्छ’ भनेका छन् । त्यसको ठिक विपरित आन्ड्रे लेभी भन्छिन् ‘उपन्यासकारको कल्पनाले इतिहासले खाली छाडेका ठाउँ भर्छ ।’ योगमायाले के गर्छ ? यी दुईमध्ये तपाईँ कोसँग सहमत हुनुहुन्छ ? किन ?
बरु इतिहासमा इतिहास नभेटिन सक्छ तर साहित्यमा इतिहास हुन्छ । गजल होस्, कविता होस् या कथा, साहित्यमा ‘कन्टेक्स्ट’ जहिल्यै पनि हुन्छ जसले समयको कथा भन्छ । समयभित्र इतिहास हुन्छ । त्यसैले समय लेख्ने साहित्यमा इतिहास हुन्छ । कहिलेकाहीँ छानेर निकाल्नुपर्ने वा भनौँ मन्थन गर्नुपर्ने हुनसक्छ । साथै कसले के लाई मान्यता कति दिन्छन् र कतिलाई सत्य र कतिलाई असत्य मान्छन् भन्ने कुरामा पनि भर पर्छ ।

‘योगमाया’ ले इतिहासको खाली ठाउँ कति भरेको छ त ?
कुनै कुरा आफैंमा पूर्ण हुँदैन । ‘योगमाया’ पनि पूर्ण हैन । माथि भनेजस्तो जसरी मानिसले योगमायालाई बुझेका थिए त्यसलाई अब फरक तरिकाले बुझ्छन् जस्तो मलाई लाग्छ । मैले तिथिमिति, भएका घटना सबैलाई रिसर्चले भ्याएसम्म मिलाएर राखेकी छु । यो आफैंमा पूर्ण नभए पनि थप विषयमा खोज्न चाहनेहरूलाई जाने बाटो भने देखाइदिएको छु । मैले एक जना पात्र पनि काल्पनिक बनाएकी छैन । हरेक पात्रलाई खोज्न जाने हो भने भेट्न सकिन्छ । तथ्यगत रूपमा जति जान सक्ने हुँ गएको छु । तर म स्वयं त्यहाँ उपस्थित नभएकाले भएका हुन् भनिएका घटना सजीव बनाउन कल्पना प्रयोग भएको छ । परिवेश मेरो कल्पना हो । घटना साँचो हुन् ।

इतिहासको आख्यानीकरण गर्नुलाई नव इतिहासवादीले ‘सत्य हैन तर सत्य जस्तै सत्य’ भन्छन् । ‘योगमाया’ को हकमा त्यो कुरा कसरी लागू हुन्छ ?
यो सत्यको धरातलमा टेकेर गरिएको आख्यानीकरण हो । साँचो पात्र, साँचो घटना र साँचो सेटिङमा परिवेश काल्पनिक हो भनेर भनिसकेँ । के लाई सत्य मान्ने र के लाई नमान्ने भन्ने कुरा पनि विषयगत हुन् । नेपालमा इतिहासको आधारमा आख्यान लेखिएका छन् । कति कोरा कल्पनामा बनाइएका न्यारेटिभलाई पनि ऐतिहासिक भनिएको छ । ‘योगमाया’ कोरा कल्पना हैन । यसको अस्थिपन्जर सत्य हो तर त्यसमा मैले लगाएको काल्पनिकताको लेप सत्यजस्तो सत्य हुन सक्छ । यसलाई छुट्ट्याउन कुन पाठकले सक्छ र कुन पाठकले सक्दैन भन्ने कुरा उनीहरूमै भर पर्छ । ऐतिहासिक विषयमा लेखिएको पुस्तक पढिरहँदा पाठक पनि धेरै नै जिम्मेवार हुनुपर्छ, हुन्छन् ।

‘चीरहरण’ उपन्यासमा द्रौपदीका अलावा थुप्रै पात्र आएका छन् । ‘योगमाया’ मा पनि योगमायाबाहेक धेरै पात्र आए । यत्तिका धेरै विविध पात्र किन समावेश गर्नुभएको ?
यो प्रश्न म आफैंले आफैंलाई धेरैपल्ट गरेको छु । युगभित्रकै एक महिलाको कुरा गर्दा अर्की महिला छायामा पर्ने रहेछन् । द्रौपदीको कुरा गर्दा सत्यवती, कुन्ती, अम्बा अम्बालिकालाई छुटाउनु हुँदैन थियो । उनीहरूको भोगाइ सुनाउनु जरुरी लाग्यो । यता योगमायाको मात्र कुरा गर्दा गङ्गा छुट्न सक्थिन् । मलाई के लाग्छ भने योगमाया हुन उनले त भूमिका खेलिन् तर त्यसमा ठूलो हात उनका अनुयायीहरूको पनि छ । तिनका कुरा छुट्यो भने उपन्यास एकपक्षीय हुन्छ । उपन्यासमा कुनै पनि पात्रलाई अन्याय हुनु हुँदैन ।

एक अन्तर्वार्तामा तपाईँले आफूलाई अन्धकारसँग डर लाग्छ भन्नुभएको छ । त्यसलाई एक विम्बका रूपमा प्रयोग गर्दा नेपालको इतिहासको एउटा अँध्यारोमा छिर्नुभयो । कत्तिको गाह्रो रहेछ ? के के अवरोध आउने रहेछन् ?
मैले शाससको इतिहास पुनर्लेखन गरेको हैन । त्यसैले सामग्री नभेटिनेबाहेक ठूलो चुनौती भएन । लेखिइसकेको शासकको इतिहास खोल्ने हो भने पक्कै यति सहज छैन । त्यसमा इतिहासमा लेखिएका गलत वाक्यहरूसँगै त्यो वाक्य पत्याएका दिमागहरूसँग पनि भिड्नुपर्ने हुनसक्छ ।

मैले रेडियो नेपालमा काम गर्दा प्रजातन्त्र आइसकेपछि पनि ‘सेतो दरबार’ भन्ने शब्द कवितामा जान मिल्दैन भनेर काटेर पढेको छु । अहिले त झन् विभिन्न स्वरूपमा अधिकारहरू कटौती गर्ने क्रम बढिरहेको छ । इतिहासलाई प्रश्न गर्दा यो समयमा पनि यसै केही भन्न सकिने अवस्था छैन । नयाँ लेख्नभन्दा इतिहास पुनर्लेखन गर्न झन् गाह्रो छ ।

लेखकले प्रश्न गर्ने भनेको पाठकको ब्याकअपमै हो । नेपाली पाठकले नयाँ दृष्टिकोण रुचाउँछन् कि रुचाँउदैनन् ? पाठकको भूमिका कस्तो भइरहेको जस्तो लाग्छ ?

अहिलेको पाठक अपेक्षा गर्न सक्ने भएका छन् । लेखकभन्दा सचेत हुन थालेका छन् । यसको दबाब र अवसर दुवै लेखकहरूमा छ । साहित्यको विकासका लागि पाठकहरूले त्यो दबाब जहिल्यै सिर्जना गर्नै पर्छ । लेखकको विभिन्न ध्येय हुन्छ र पाठकको पनि । लेखकले आफ्नो लागि, पैसाको लागि, परिचयको लागि वा समाजको के को लागि लेखेको स्पष्ट हुनै पर्छ । पाठक पनि कुन ध्येयका लागि पढेको भन्नेमा निश्चित हुनुपर्छ । पाठकले यो विषय चाहेको छैन भनेर लेखक चुप बस्नु हुँदैन । बरु त्यसतिर पाठकलाई तान्ने बाटो खोज्ने जोखिम उठाउनुपर्छ । मलाई पाठकले ‘योगमाया’ पढ्न चाहेका छन् कि छैनन् थाहा थिएन तर जोखिम गरेको सफल भयो । नहुन पनि सक्थ्यो ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: