अबुधाबीबाट आयो ‘युएईले बाँडेको मुस्कान’

युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत झापाली पत्रकार रामप्रसाद ढुङ्गेल र सिन्धुपाल्चोकका साहित्यकार जे. सागरको संयोजनमा ४० जना नेपालीहरुको सफलता, सङ्घर्ष र उपलब्धिहरु समेटिएको पुस्तक ‘युएईले बाँडेको मुस्कान’को शुक्रवार विमोचन भएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासको सभाहलमा भएको पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल थिए ।

यो पुस्तक बुलबुल पब्लिकेसन्सले प्रकाशन गरेको हो । समारोहमा उज्यालो रेडियो नेटवर्कका प्रमुख गोपाल गुरागाई विशेष अतिथिका रूपमा उपस्थित थिए ।

रसियामा चिकित्सा विज्ञान अध्ययन गरी युएईमा २५ वर्ष व्यवसाय गरेका डा. दिनेश आचार्यको विशेष आतिथ्य रहेको कार्यक्रममा दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत अन्य कर्मचारी, युएईमा क्रियाशिल सामाजिक, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण नेपालीहरुको उपस्थिति उल्लेख्य थियोे ।

युएईको नेपाली साहित्यलाई संस्थागत गर्न पछिल्लो समय निरन्तर साधनारत सिन्धुपाल्चोकका जे. सागर र झापाली पत्रकार रामप्रसाद ढुङ्गेलले संयोजन गरेको यो पुस्तकमा पर्यटक, रोजगार वा व्यवसायीका रूपमा युएई पुगेर आफू, आफ्नो परिवार, समाज तथा देशकै लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याइरहेका ४० नेपालीको वास्तविक कथा समावेश गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु सबैले दुःख मात्र पाएका छैनन्, खुशी पनि छन्, प्रगति पनि गरेका छन् र नेपालको इज्जत धान्ने काम पनि गरेका छन् भन्ने सकारात्मक सन्देश दिने यो पुस्तकमा लामो समय यूएईमा रहेर साहित्य, समाजसेवा, पत्रकारिता, कलाकारिता आदि क्षेत्रमा नेपाल र नेपालीलाई योगदान दिएका संघर्षशील नेपालीहरुको गाथा समेटिएको छ ।

के विदेश दुःखको मात्र सागर हो त ? के विदेश अमिलो आँशुको मात्र कथा हो त ? के विदेशमा नेपालीहरु भाँडा माझेर मात्र बसेका छन् ? विदेश जानु भनेको आँशु बगाउन जानु हो ? यिनै प्रश्नहरुको उत्तर दिन यो पुस्तक सफल देखिन्छ ।

विदेशको कमाइले लाखौंको परिवारमा अपार खुशी ल्याएको छ । विदेशको माटोमा कमाएको खुशीले बुवाआमा, श्रीमान श्रीमती र छोराछोरीमा छाएको मुस्कान जीवनको लेखाजोखा गर्ने हो भने दुःख आफै हराएर जान्छ । यस्तै कथाहरु बोकेको छ–युएईले बाँडेको मुस्कानले ।

दश बर्षे द्वन्द्वकालमा कोही राज्यपक्षबाट पीडित बनेर बिदेशिए । कोही विद्रोही पक्षबाट लखेटिएर यूएई आइपुगे । तर जीवन सधैं त्यस्तै कहाँ रहिरहन्छ र ? जीवन त संघर्ष हो । अथक संघर्षका कथाहरुले ब्यक्तिको जीवनलाई दुःखबाट सुखमा लखेटेको छ । क्षमता र सीप भए तपाईंले सधैं दुःख पाइरहनु पर्दैन । यही सन्देश बोकेको कथाहरुको पुस्तक हो–युएईले बाँडेको मुस्कान’ ।

यूएईमा कार्यरत ४० जना नेपालीहरुको वास्तविक भोगाइ, अनुभव, अनुभूति, उपलब्धि र सुखद् कथा समेटिएको पुस्तक हो यो । प्रगतिको कथा । सफलताको कथा । दुःखले सुख साटेको कथा । नकारात्मकता त्यागेर सकारात्मक बन्ने प्रेरणा दिने कथा । समग्रमा भन्दा मुस्कानको कथा । मुस्कान बाँडने कथा । आफ्नो नामझै काम गर्न सक्षम छ– युएईले बाँडेको मुस्कान ।

रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले परिकल्पना गरेको यो पुस्तक डायस्पोराको क्षेत्रमा पहिलो कदम रहेको विमोचन कार्यक्रममा उपस्थित वक्ताहरूले बताए ।

एनआरएनए युएईको आयोजनामा भएको विमोचन कार्यक्रममा समीक्षक निमेष गिरीले पुस्तकको समीक्षा गरेका थिए । पुस्तकको महत्व र उद्देश्यबारे राजदूत ढकाल, उज्यालो रेडियो नेटवर्कका प्रमुख गुरागाई, डा. आचार्य, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, पत्रकार मेघराज सापकोटाले बोलेका थिए ।

युएईलाई कर्मथलो बनाएका ५ जना झापालीहरुको जीवनकथा यो पुस्तकमा समावेश गरिएको छ । पाँच जनामा युएई एक्सचेञ्जको नेपाल बिजनेस प्रमुख चारपानेका सन्तोष प्रसाईं, झापाली समाज युएईका अध्यक्ष अशोक चापागाई (विर्तामोड), व्यवसायी तोयम चम्लागाई (गौरादह), पत्रकार मेघराज सापकोटा र पत्रकार रामप्रसाद ढुङ्गेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: