काँकरभिट्टा पर्यटकको मूलढोका ः मुख्यमन्त्री

अर्जुन कार्की

काँकरभिट्टा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले समृद्विको जग नै पर्यटन रहेको बताएका छन् ।

आइतबारदेखि काँकरभिट्टामा सुरु छैठौँ एसियन ग्रामीण पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले काँकरभिट्टा नाका प्रदेशमा पर्यटक आगमनको मूल ढोका भएको बताए ।

बसपार्कमा उद्घाटन समारोह भएको थियो भने देवकोटा पार्कमा महोत्सवको स्टल राखिएका छन् । मुख्यमन्त्री राईले पार्कको ढोकामा रिबन काटेर महोत्सवको उद्घाटन गरेका थिए ।

उनले पूर्वी ढोकामा आयोजना गरिएको महोत्सवले पर्यटनको विकासमा नयाँ उचाई थपेको बताए । ‘पर्यटन वर्ष सफल पार्नका विदेशी पाहुनालाई समेत उपस्थित गराई महोत्सव आयोजना गर्ने काम भएको छ’, मुख्यमन्त्री राईले भने, ‘यो महोत्सवले पूर्वी विन्दुबाट नेपाललाई संसारभर चिनाउन सफल तुल्याउने विश्वास लिएको छु ।’

आम नेपाली जनता यतिखेर नेपाललाई विश्वभर चिनाउने अभियानमा जुटिरहेको बताउँदै मुख्यमन्त्री राईले भने, ‘नेपाल सुन्दर र शान्त मुलुक हो । विगतमा नेपाललाई विश्वभर चिनाउन सकेनौँ । तर, अहिले दुनियाँका सामु नेपाललाई संसारभर चिनाउने काम भइरहेको छ । यसलाई हामीले ठूलो उपलब्धि ठानेका छौँ ।’

मुख्यमन्त्री राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गरेका छन् । उनले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताए ।

उनले प्रदेश नं. १ हिमचुचुरा, अलैची, चिया, लालीगुराँश, अर्ना र चराहरुको राजधानी भएको चर्चा गर्दै प्रदेशको मूलढोकामा आयोजित महोत्सवले नेपालमा पाहुनाहरुलाई स्वागत छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

उनले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आयोजना हुने महोत्सवहरुलाई देखावटी नबनाउन र पर्यटन प्रबर्धनमा सघाउने गरी लक्ष्यकेन्द्रित तुल्याउन सुझाव समेत दिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि बेलायतको फोक्सटन सिटीका मेयर जेकी माइडले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन बेलायतले साथ दिने प्रतिबद्धता जनाइन् ।

उनले बेलायतका १ लाख नागरिक पर्यटन वर्ष मनाउन नेपाल आउने दावी गरिन् ।
‘हामीलाई तपाईहरुले जसरी स्वागत गर्नु भएको छ’, मेयर माइडले भनिन्–‘हाम्रा एक लाख नागरिकलाई त्यसरीनै स्वागत तथा सत्कार गर्नु होला ।’

अङ्ग्रेजीमा भाषण गरेकी मेयर माइडको भनाईलाई मेचीनगर निवासी बेलायतका पूर्व काउन्सिलर तथा गोर्खा फाउण्डेसनका अध्यक्ष धनकिरण गुरुङले नेपालीमा उल्था गरिदिएका थिए ।

कार्यक्रममा संविधानसभाका सदस्य उषा गुरुङ, मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती पोखरेल, समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, पर्वतारोही निङ्मा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्यलगायत राजनीतिक दलका नेता तथा सामाजिक संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी रोशनी कार्कीले कविता बाचन गरेकी थिइन् भने धुलाबारीस्थित इस्ट होराइजन माविका विद्यार्थीले मेचे समुदायको आकर्षक नृत्य र ब्यागपाइपर व्यान्डबाजा प्रस्तुत गरेका थिए । सो अवसरमा खस क्षेत्रीको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

माघ २६ देखि सुरु महोत्सव आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टाको मुख्य रमणीय स्थान देवकोटा पार्क र बसपार्कमा स्टल रहेका छन् ।

त्यहाँ विभिन्न जातजातिका संस्कृति र भेषभुषा झल्कने स्टलहरु छन् । त्यस्तै, स्टलमा ग्रामीण तथा सहरका अर्गानिक खाद्यवस्तुहरु समेत बिक्रीका लागि राखिएको छ ।

महोत्सवमा करिव ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिइएको महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताएका छन् । महोत्सवमा भारत, भूटान र नेपालका विभिन्न जिल्लाको समेत स्टल रहेका छन् । स्टल अवलोकन गर्न कुनै पनि शुल्क नलाग्ने आयोजकको भनाई छ ।

महोत्सव आयोजक समितिका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत मन्तब्य सल्लाहकार डिल्लीराम घिमिरेले व्इक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन अतिथि सत्कार उपसमितिकी संयोजक एवम् मेचीनगर लेडी जेसीजकी अध्यक्ष तुलसा दङ्गाल भण्डारी र समितिका सचिव भुपाल शिवाकोटीले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
संचालक/सम्पादक :- मोहन कुमार न्यौपाने
प्रधान सम्पादक :- प्रकाश पौडेल
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: