बीएन्डसीमा मेमोग्राम मेसिनबाट क्यान्सरको उपचार 

अर्जुन कार्की

बिर्तामोड । बीएन्डसी हस्पिटल परिसरभित्र रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा नेपालमै पहिलोपल्ट भित्रिएको अत्याधुनिक अटोमेटिक थ्रीडी मेमोग्राम मेसिनबाट शनिश्चरेकी एक युवतीको मङ्गलबार जीवन बचाइँदै मात्र थिएन, क्यान्सरको सफल उपचारको इतिहास झापामा कोरिदैछ ।

‘म जे गर्छु, नेपालमै गर्छु’ र ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने मुल उद्देश्यका साथ क्यान्सरविरुद्ध इतिहास कोर्न सफल पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट पहिलो मेमोग्राम मेसिनबाट सेवा पाउने ती युवती चालिस बर्षीया राई थरकी थिइन् ।

उनको ब्रेस्ट न्यान्सर थियो । उनको क्यान्सर लागेको ब्रेस्टको ट्युमरमा विश्वकै अत्यधुनिक प्रविधिबाट मेमोग्राम गरिएको हो ।

यो सेवा सुरु भएसँगै झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटल अब क्यान्सरको उपचार गर्ने नेपालको सबैभन्दा उत्कृष्ट हस्पिटल ठहरिएको छ । नयाँ वर्ष २०२० को पहिलो दिन अत्यधुनिक टुविम रेडियोथेरापी मेसिनबाट रेडिएसन शुरु गरिएको थियो ।

मङ्गलबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यान्सर रोग विशेषज्ञ एवम् अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले ४८ दिनमा ४० जना क्यान्सरका विरामीले उपचार गरेको बताए ।

उनका अनुसार १५ जना उपचार गरेर फर्किएको, मेमोथेरापी गर्ने दैनिक ८ जना, वार्डमा दैनिक १८ जना विरामी छन् । ओपडीमा दैनिक ३० जना क्यान्सरका विरामी उपचार गर्न आउने गरेको उनले जानकारी दिए ।

क्यान्सर अस्पताल स्थापना भएदेखि हालसम्म भारतको आसाम, गलगलिया, दार्जिलिङ तथा नेपालको सिन्धुली, जनकपुर, लहान, बेलबारी, विराटनगर, धरान लगायतका जिल्लाबाट क्यान्सरका विरामीहरु उपचार गर्न यस अस्पतालमा आउने गरेको डा. यादवले जानकारी दिए ।

यस्ता खालका विरामीको उपचार आयुर्वेदिक औषधिबाट सम्भव नहुने यादवको भनाइ छ । एलोपेथिक उपचार नै सर्वोत्तम उपाय रहेको डा. यादवले दाबी गरे ।

उनले क्यान्सरको उपचार गर्नु अघि पहिलो चरणको स्कीनिङ, वायोस्पी र डाइगोनोजिस्ट उपचारमा २ हजारदेखि ५ हजार ५ सय खर्च लाग्ने र डवल ब्रेस्ट क्यान्सरको चेक गर्दा करिव ८ हजार खर्च लाग्ने बताए ।

उनले ४० वर्षभन्दा माथिका जो कोही महिलाले एकपटक मेमोग्राम गर्न जरुरी रहेको बताए । फिनल्याण्डका टेक्नोलोजिस्ट तापियोले अत्याधुनिक अटोमेटिक थ्रीडी मेमोग्राम मेसिनबाट गरिने उपचार विधि र क्यान्सरबाट बच्ने उपायका बारेमा प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।

उनले मेमोग्राम मेसिनबाट गरिने उपचारका बारेमा डाक्टर तथा प्राविधिकहरुलाई तीन दिनसम्म प्रशिक्षण दिनेछन् ।

बीएन्डसी टिचिङ तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका सञ्चालक दुर्गा प्रसार्इंले ५ करोड लगानीमा भित्रिएको यसखालको अत्याधुनिक प्रविधि नेपालमा काहीँ नभएको बताए ।

यो मेरो लागि मात्र होइन पूर्वाञ्चलबासीका लागि ल्याएको उनले बताए । अटोमेटिक थ्रीडी मेमोग्राम मेसिनबाट हुने उपचार सेवा महिलाहरुका लागि वरदान सावित हुने सञ्चालक प्रसाईले दाबी गरेका छन् ।

उनले क्यान्सरकै अर्को अत्यधुनिक प्रविधि पेट स्क्यान पनि १५ दिनपछि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

सञ्चालक प्रसार्इंले उपचारका लागि पूर्वाञ्चल क्यान्सर हस्पिटल आउने विरामीले विश्वमा प्रचलित तीन किसिमको उपचार पद्धति रेडिएसन, किमो र सर्जरीका लागि अब बिदेश धाउनु नपर्ने भएको बताए ।

पाँचवर्ष अघि बिएण्डसी टिचिङ हस्पिटलको स्थापना साहसिक युवा उद्यमी दुर्गा प्रसाईको नेतृत्वमा भएको थियो । प्रसाईं आफै पनि क्यान्सरको उपचार गराइसकेका व्यक्ति हुन् ।

बीएन्डसीकै सञ्चालकहरुले ४ अर्ब रुपैयाँको लगानीमा तीनसय बेडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको स्थापना गरेका हुन् । क्यान्सर हस्पिटल पूर्ण क्षमताका साथ सञ्चालन हुँदा करिव १ हजारले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

नेपालमा अन्यत्र कतै पनि नभएको अत्याधुनिक उपकरण र प्रविधि पहिलोपल्ट भित्राएर हस्पिटलले क्यान्सरको विश्वस्तरीय उपचार थालेको छ ।

हस्पिटलमा पेट स्क्यान, थ्रीडी स्क्यान, मेमोग्राम, थ्री टेस्लाको एमआरआई लगायतका अत्यधुनिक उपचार उपकरणहरुको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: