कर्मचारीको सेवामा हुलाक बचत बैङ्क

अर्जुन कार्की

भद्रपुर । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैँक फस्टाउन थालेको छ ।

भद्रपुरमा नै पहिलो पटक सरकारी कार्यालयबाट कर्मचारी तथा सर्वसाधारणका लागि खोलिएको हुलाक बचत बैँक फस्टाउन थालेको हो ।

सरकारी तथा निजी स्तरबाटै पछिल्लो समयमा सञ्चालित ठुला र राम्रा बैँकहरुको दाँजोमा यस बचत बैँकले गति लिन बिर्सेको छैन । निरन्तररुपमा कर्मचारी र भद्रपुरबासीको मन जित्न सफल भएको छ ।

हुलाक कार्यालयकै भुइँतलामा बैँकको काउन्टर छ । करिव ३ करोड भन्दाबढी पुँजी रहेको बैँकमा सरकारी कर्मचारी बाहेकको १ करोड रुपैयाँभन्दा बढी चल पुँजी छ ।

सर्वसाधारण ग्राहकलाई ६ प्रतिशत व्याज र ज्येष्ठ नागरिकलाई ७ प्रतिशत व्याज उपलब्ध हुने हुलाक बचत बैँक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताए । १ हजार १ सय ग्राहक रहेको बैँकमा ५ सयदेखि ९ लाख रुपैयाँसम्म वचत गर्न सकिनेछ ।

कर्मचारीलाई बैँकमा सुविधै सुविधा छ । कर्मचारीलाई विनाधितो ४ लाख ५० हजार रुपैयाँ ऋण दिने व्यवस्था गरेको छ । मासिक तलवबाट कट्टी हुने गरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए ।

७२ किस्ता अर्थात ६ वर्षमा ऋणको म्याद तोकिएको छ । ऋण लिए वापत कर्मचारीले ८ प्रतिशत व्याज बुझाउनु पर्नेछ । सरकारले यसअघि हुलाक बचत बैँकलाई खारेज गर्ने निर्णयको तयारी गरेका थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तरल अवस्थाका कारण देखाउँदै बैँक बन्द गर्ने तयारी गरेका थिए ।

झापा जिल्ला हुलाक कार्यालय भद्रपुरका प्रमुख घिमिरेले सरकारले गतवर्ष हुलाक बचत बैँकलाई बन्द गर्ने आशयको पत्र पठाएको बताए । तर, बैँक बन्द नगर्ने सर्वत्र सुझाव आएपछि हालसम्म सञ्चालनमा रहेको उनले बताए ।

हुलाक विभागले सञ्चालन गर्दै आएको बचत बैँकलाई खारेज गरेर त्यहाँको रकम वाणिज्य बैँकहरुमा सार्ने व्यवस्था गरिएको थियो । तर, सम्भव भएन ।

अर्थमन्त्री खतिवडा विदेश भ्रमण गर्दा हुलाक बचत बैँक संसारभर रहेको बुझेपछि बन्द नगर्ने निर्णयमा पुगेका थिए ।

हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैँक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैँकको स्थापना भएको प्रमुख घिमिरेको भनाइ छ ।

देशभरका १ सय १७ वटा हुलाक कार्यालयहरुमा उक्त बैँक स्थापना भएको छ । सानो सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हुलाक बचत बैँक सञ्चालन गरिएको हो ।

न्यून आय भएका वर्गका जनतामा समेत केही रकम बचत गर्ने बानीको विकास गराउने उद्देश्यले यस बंैँक सञ्चालनमा ल्याइएको कार्यालयको भनाइ छ ।

बैँकमा बचत खाताको मात्र कारोबार हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ ।

भद्रपुरमा अन्य बैँकहरु स्थापना नभएको अवस्थामा त्यतिखेर हुलाक बचत बैँकमा खाता खोल्नेको ताँती रहेको इन्चार्ज खतिवडाले बताए । हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैँक सम्बन्धी कार्य हेर्ने गर्दछ ।

खतिवडाका अनुसार बैँकमा १ करोड ६० लाख मुद्धति र १ करोड ५२ लाख ऋण लगानी गरेको छ । बैँकले बाल बचतलगायतका खाता समेत सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

वार्षिक ५० लाखको टिकट बिक्री

झापा जिल्ला हुलाक कार्यालयले टिकट बिक्रीबाट मनग्ये आम्दानी गरिरहेको छ ।

भद्रपुरस्थित झापा जिल्ला हुलाक कार्यालयले विभिन्न कार्यालय तथा सर्वसाधारणलाई टिकट बिक्री गरे वापत वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गरिरहेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ मा ४८ लाख ९८ हजार ९ सय १५ रुपैयाँ टिकट बिक्री गरे वापद आम्दानी गरेको झापा जिल्ला हुलाक कार्यालय भद्रपुरका प्रमुख दामोदर घिमिरेले जानकारी दिए ।

त्यस्तै, कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा ४५ लाख ५२ हजार ७ सय ९३ रुपैयाँ टिकट बिक्री गरेको उनले बताए ।

चालु आथिर्क वर्ष २०७६÷७७ सालको साउन महिनायता मासिक ४ देखि ५ लाख रुपैयाँसम्म टिकट बिक्री भइरहेको कार्यालयले जनाएको छ ।

सरकारले हुलाक कार्यालयलाई टिकटका लागि २० लाख रुपैयाँ बजेट दिने गरेको प्रमुख घिमिरे जानकारी दिए ।

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा हुलाक टिकट अनिवार्य चाहिन्छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमा कामका लागि आएका सेवाग्राहीले निवेदनमा टिकट अनिर्वाय टाँस्नु पर्छ ।

हुलाक कार्यालयले रु.३, रु.५, रु.१०, रु.१५, रु.२०, र रु.३० रुपैयाँ दरका टिकट जारी गरेको छ ।

हुलाक कार्यालय झापाको १७ वटा इलाका हुलाक, यातायात कार्यालय मेची, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतका मुख्य कार्यालय परिसरमा पसलेहरुले समेत टिकट खरिद गर्ने गरेका छन् ।

कार्यालयले पत्रपत्रिका, रेडियो, केवल टिभि र टेलिभिजनहरुबाट पनि राजस्व सङ्कलन गर्ने गरेको छ । रेडियो र टेलिभिजनहरुको कारोवारको २ प्रतिशत रोयल्टी लिने गरेको छ ।

त्यस्तै, कार्यालयले वैदेशिक पार्सलबाट पनि आम्दानी गर्ने गरेको छ । ‘विदेशका विभिन्न मुलुकबाट विमान स्थलको भन्सार कार्यालयबाट आएका पार्सलको दररेट उतैबाट तोकिएर आएको हुन्छ’, प्रमुख घिमिरेले भने, ‘भन्सार कार्यालयले तोकेर पठाएको दररेट अनुसार पार्सलका धनीसँग भुक्तानी लिएर राजस्व दाखिला गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrapost@gmail.com

हाम्रो बारेमा

सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
झुलन रेग्मी
प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: