अंश लिएर पढदै मधेशी छोरीहरु

  प्रकाशित मिति
२६ फाल्गुन २०७४, शनिबार ११:१८


सुनसरी देवानगन्ज गाउँपालिका–७ की किरणकुमारी यादवको कक्षा ९ मा पढ्दापढ्दै अभिभावकले विवाह गरिदिने निर्णय गरे । बाल्यावस्थामै आमा गुमाएकी किरणले पिता र दाजुले राखेको प्रस्तावलाई ठाडै अस्वीकार गरिन् । मनमा पढ्ने रहरले घर बनाएको र उमेर पनि नपुगेकाले उनले बिहेको प्रस्ताव अस्वीकार गरेकी थिइन् । त्यो प्रस्तावमा सहमति जनाएको भए सम्भवतः त्यतिबेलै उनको पढाइमा पूर्ण्विराम लाग्ने थियो अनि कलिलै उमेरमा काखमा बालबच्चा खेलिरहेका हुने थिए । तर, उनले पढेर आत्मानिर्भर भएरै छाड्ने संकल्प लिइन् ।

किरणले सानो उमेरमा आफूले विवाह नगर्ने र उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको र छोरीलाई शिक्षा दिने बाबुआमा भगवान हुन् भनेर अभिभावकलाई सम्झाउने अथक प्रयास गरिन् । किरणको भनाइमा अभिभावक सहमत हुन सकेनन् । अन्तत उनले उच्च शिक्षा अध्ययन गर्न आफनै बाबुविरुद्ध अंश मुद्दा हालिन् र मुद्दा जितिन् पनि । २३ वर्षीया किरण अहिले हरिनगरमा कक्षा ११ मा पढ्दैछिन् । ‘१२ कक्षा सकिएपछि स्नातक पनि पढ्ने मेरो इच्छा छ । त्यसो हुँदा विवाह गर्दा मेरै स्तरको केटा भेटनेछु,’ उनले भनिन् ‘पढेको केटासँग बिहे हुँदा पारिवारिक जीवन राम्रो हुन्छ ।’ १५ वर्षको उमेरमा विवाह गर्न नमान्दा आफनै बाबु र दाजुले घरभित्र थुनेर कुटपिट गरेको स्मरण गर्दै उनले छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश दिनु आजको आवश्यकता रहेको विचार समेत व्यक्त गरिन् ।

सानैमा आमा गुमाएकी किरण बाबु र दाजुभाइसँगै बस्दै आएकी थिइन् । उनको कान्छो भाइ जन्मिएपछि आमाको मृत्यु भएको थियो । आमा बिरामी पर्दा समेत उपचारका लागि अस्पताल लानुको साटो घरमै राखिएको पीडा उनको मनमा अझै ताजा छ । आँखै अगाडि किरणले आफ्नी आमाको मृत्यु देख्नुपर्यो । आमालाई उपचार नगराउँदा बाबु र दाजुप्रति घृणा जाग्न थालेको उनी बताउँछिन् । अरु छोरीको विवाह भइ सकेकाले गर्दा उनका बाबुले जसरी पनि जतिसक्दो चाँडो किरणको विवाह गरी दिने तयारी गरे । घर परिवारमा सल्लाह हुँदा ‘मेरो पढ्ने उमेर हो विवाह गर्दिनँ’ भनेर किरणले अडान लिइन् । त्यसपछि सुरु भयो बाबु र दाजुबाट पटक मानसिक तथा शारीरिक यातना । त्यसबेलाको जीवन निकै संघर्षपूर्ण भएको सम्झदै किरणले विवाह नगर्ने बताउँदा समेत जर्वरजस्ती गराएरै छाड्ने धम्की आएपछि आफ्ना ठूलो बाबुका छोरा दाइलाइ आफनो सपनाबारे खुलेर सुनाइन् जसकोमा अहिले किरण बसिरहेकी छिन । त्यसपछि तिनै दाइले उनलाई साथ दिए ।

किरणका बाबु र दाजुले गरेको हिंसात्मक व्यवहार प्रहरीसम्म पनि पुग्यो । घरेलु हिंसाको मुद्दा हाल्न किरण र उनका ठूलो बाबुका छोरा जिल्ला प्रहरी कार्यालयसम्म पुगे । मुद्दा दर्ता भयो । तत्काल जिल्ला अदालतले किरणको पक्षमा फैसला समेत सुनायो । किरणले क्षतिपुर्तिवापत केही रकम समेत पाइन् । तर, उनीमाथिको हिंसा रोकिएन । त्यसपछि झन् घरमा बस्ने अवस्था रहेन । बाबु तथा दाजुहरूले आँखा तरेर हेर्ने गर्थे । यसै बिचमा आफ्नो दाजुको विवाह समेत भयो । किरणलाई कुनै खबर पनि भएन । एकै कोखबाट जन्मेका दाजुभाईले यतिसाह्रो नराम्रो व्यवहार गर्लान् भनेर उनले कहिल्यै सोचेकी थिइनन् ।‘मुद्दा हालेपछि बाबुले झनै कुटपिट गर्न थाले र मरिहाले आफ्नो अंश बच्छ भन्दै हिड्ने थाले,’ उनले पिडा पोखिन, ‘विवाद बढ्दै गएपछि मैले बारम्बार त्यसको प्रतिकार गरेँ । त्यसपछि मलाई दाजु र बुबाले घरैबाट निकालिदिए । बुबाको बिरुद्दमा मुद्दा हालेँ, त्यसपछि घरपरिवारसँग बस्न सक्ने अवस्था रहेन ।’

ठूलो बाबुको छोराकै सहयोगमा उनले अंश दावी गर्ने निधो गरिन् । तर, त्यसका लागि उनीसँग नागरिकता थिएन । दाजुसंग पहिले बाबुको सम्बन्ध राम्रो हुदाँ दिएको नागरिकताको फोटोकपी फेला प¥यो । त्यही नागरिकताको फोटोकपीको आधारमा किरणकुमारीको नागरिकता बन्यो । अनि बाबुबिरुद्द अंश मुद्धा हाल्ने बाटो खुल्यो । किरणले बाबुले खान लाउन नदिएको र पढ्न नदिएकाले पढाइका लागि अंश पाँउ भन्दै बाबु तथा दाजुलाई विपक्षी बनाएर जिल्ला अदालत सुनसरीमा मुद्दा हालिन् । मुद्दा हालेको थाहा पाउने बितिकै छोरीलाई अंश नदिनका लागि बाबुले रातारात भएको केही जग्गा अर्कैको नाममा पास गरे । बाँकी रहेको थोरै जग्गाको तिन भागको एक भाग किरणले पाइन् । त्यसका लागि उनलाई अदालति प्रक्रियामा सहयोग पनि प्राप्त भयो । अंश बापत पाएको साढे ४ कठ्ठा जमिनको लालपुर्जा अहिले उनको शिक्षा हासिल गर्ने सपनाको बलियो आधार पनि बनेको छ ।

सुनसरीकै राजगन्जनिवारीकी ममताकुमारी मेहताले पनि उच्च शिक्षा अध्ययनकै लागि बाबु विरुद्द अंश मुद्दा हालिन् । उनले बाबुुलाई बिपक्षी बनाइ अंशमुद्दा हालेको दश वर्ष पछि भाइवहिनी र आमाको नाममा ११ कट्ठा जमिनको धनिपुर्जा हात पारिन् । जिल्ला मालपोत कार्यालय इनरुवामा भेटिएकी उनी जिल्ला अदालतबाट प्राप्त पत्रका आधारमा अंश बण्डाको मुचुल्का गर्न लाइनमा पर्खिइ रहेकी थिइन् । सानैदेखि मावलीमा बस्दै आएकी ममता छोरी भए कै कारण आफुले अपहेलना सहनु परेको बताउँछिन् । ‘बुबाले सानैमा बिरामी पर्दा उपचार गर्नुको सट्टा मरोस् बरु भन्दै त्यतिकै छोडिदिनुभको थियो रे अनि हजुरबुवाले उपचार गराएर बचाउनु भएको थियो अरे,’ उनले विगत सम्झदै भनिन् । ३ वहिनी र दुई भाइ भएकी ममता घरकी जेठी छोरी हुन् ।

मधेशी समुदायका छोरीको सानैमा विवाह गरि दिने र हिडडुलमा प्रतिबन्ध लगाउने मानसिकता उनको बाबुमा पनि थियो । छोरीलाई घर भित्रै मात्र बस्न दबाब दिने गर्थे । ममता कक्षा सातमा पढदा पढ्दै बुबाले दोस्रो बिबाह गरे । अमालाई छोडेर कान्छीआमा सँगै लागे आफु । ममता मात्र १३ वर्षकी थिइन् । बाबुकै भरमा रहेका ममताको परिवार बिचल्लीमा प¥यो । आमाले प्रतीवर्ष सुत्केरि हुनै पर्ने तर दुःखबिराम हुँदा उपचार नगर्ने थियो बुबाको व्यवहार । सन्तानकै लागि मात्र विवाह गरेको भन्दै यातना दिनेगर्थे । साहारा नपाएको ममताको परिवारले धेरै दुःख कष्ट खेप्दै आएको थियो । मामा घरमै बस्दै आएको उक्त परिवारले २०६४ सालमा अंश मुद्दा लड्ने निर्णय गर्यो । जसका लागि साथ दिए उनका मामलाका हजुरबुवाले ।
छोरीले पढ्न लेख्न हुदैन भन्ने मानसिकता कायमै रहेको थियो त्यो बेला । छोरीले बुबा बिरुद्दको अंश मुद्दा हाल्ने कुरा ममताको लागि सहज थिएन । ममताले आमा भाइवहिनी सँगोलमै यो मुद्दा हालिन् । जुनबेला ममता नाबालकनै थिइन् । मुद्दा लड्दालड्दै ममता अहिले ठूली भइसकेकी छन् । उनले अहिले नागरिकता प्राप्त गरी सकेकी छन् । बुबाले छाडेर हिडेपछि अन्यायमा परेको ममताको परवारको न्यायमा पहँुच थिएन् । हजुरबुवाले नै साथ दिएर कानुनी प्रक्रियामा जान सहयोग गरे । १० वर्ष पछि बल्ल यो परिवारले न्यायको अनुभुति गरेको छ । २०६४ सालदेखि चलिरहेको थियो उनको मुद्धा । बाबुले भोगचलन गरिएको सम्पतिबाट अंश दाबि गरेकि थिईन उनले । जिल्ला अदालतहुँदै पुनरावेदन र सर्वोच्च अदालत सम्म पुगेर मुद्दा लडिरहेकी छिन ममता । उनि आफ्नो पढाइ अगाडि बढाइरहेकी छन् । पढ्नकै लागि अंश माग गरेकी ममताको मुद्दाको फैसला हुन लामो समय लाग्यो । तर उनले हरेस खाइनन् ।
१० वर्ष पछि ममता, उनका भाइबहिनी र आमाको नाममा ११ कठ्ठा जमिनको धनिपुर्जा भखरै बनेको छ । अब अझै ५ कट्ठा अंशमा ममताको दाबी छ । त्यसका लागि कानुनी प्रक्रिया पुरा गरीरहेको ममताले बताइन् । किरण र ममता त उदाहरण मात्र हुन् । सुनसरीमा विवाह गर्ने परिवारको निर्णय विरुद्द अंशमुद्दा लडेरै अध्ययन गर्ने हिमतिला मधेशी मूलका छोरी बढ्दै गएका छन । जिल्ला अदालत सुनसरीको तथ्याकं अनुसार आर्थीक वर्ष २०७३र७४ मा ५ हजार ७ सय ९७ मुद्धा दर्ता भए । ती मध्ये १ हजार १० वटा अंश मुद्धा थिए । अंश मुद्दामा छोरीले मात्रै आमाबुबालाई विपक्षी बनाएर हालेका मुद्धाको यकिन तथ्याङ्क भने छैन । तर पनि यो संख्या बृद्धि हुँदै गएको जिल्ला अदालतका श्रेष्तेद्धार नवराज आचार्यको भनाई छ ।

कानुनले छोरीछोरीवीचको विवादको अन्त्यका लागि जन्मेदेखि छोरी अंशको हकदार हुने उल्लेख छ । त्यही कानुनी जगमा टेकेर पछिल्लो समय हिंसा सहनुको सट्टा मधेसी मुलका छोरी न्याय लिन थालेका छन । श्रेष्तेदार आचार्यका अनुसार मुलुकी ऐनमा २०५९ असोज ९ गतेसम्म अंशबन्डा गर्दा बाबुआमा स्वास्नी छोराछोरीकोअंश गर्नुपर्छ भन्ने व्यवस्था थियो । सोही सालको असोज १० गतेदेखि भने अंशबन्डा गर्दा यस महलको अन्य नम्बरहरूको अधिनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियकै अंशबन्डा गर्नुपर्छ भन्ने लागु भयो । २०५९साल असोज १० देखिको कानुन अनुसार अव जन्मेदेखि नैं छोरीले अंश हकदार कायम हुने उल्लेख छ । २०५९ सालअघि भने ३५ वर्ष पुगेपछि मात्र छोरी अंश हकदार हुन पाउँदथे । अहिलेको संविधानमा लिङ्गका आधारमा भेदभाव नगर्ने उल्लेख गरेको छ । छोरा बराबर छोरीले पनि अंश पाउने कानुनी प्रावधान छ ।

अहिले जुनसुकै उमेरका छोरीले पनि चाहेमा अंश लिन सक्छन । राज्यले छोरा र छोरी बिचको बिभेद हटाउनका लागि बिभिन्न खाले प्रयास गरिरहेको उनले बताए । त्यसो त छोरीलाई पैत्रिक सम्पतिमा समान अधिकार र व्यवहार गर्ने तथा अविवाहित छोरीलाई छोरासरह सम्पतिको अधिकार प्रदान गरिने कानुनमा छ । अहिले यही कानुन कार्यान्वयनमा छ । तर, छोरीले सहजै अंश लिन सक्ने अवस्था भने छैन् । छोरीले पनि छोरा सरह अंशदावी गर्न पाउने कानुनी अधिकार भएको कुरामा धेरै बेखबर छन । त्यसो हँुदा कार्यन्वयन प्रभावकारी नभएको मधेसी बुद्धिजिवी सुरेश मिश्रले बताए । ‘यसरीछोरीलाई उच्च शिक्षा दिनु भनेको दाइजोको जोहो बढी गर्नु हो भन्ने सोच छ मधेशी समाजमा । पढन्कै लागि छोरीहरू अधिकारको प्रयोग गरेर अघि बढनु निकै सकारात्मक रहेको छ,’ उनले भने । उनका अनुसार, समाजमा चेतना जगाउँदै प्रत्येक व्यक्तिलाई तयार गर्नुपर्ने सुझाव दिनु आवश्यकता छ । कानुन भएपनि मानसिकता परिवर्तन गराउनु नै चुनौती रहेको उनको जिकिर छ ।

सामाजिक अभियान्ता तथा अधिवक्ता स्यामिका महतो भन्छीन ‘ घर भित्रैकै अभिभावक संग ठाढो शिर गर्न नसक्ने समाजका केही छोरीहरू हिंसा बिरुद्धमा छन । सानैमा विवाह गरि दिने अभिभावक बिरुद्धमा बोल्न थालेको छन । यस्ले छोरीबुहारीलाई अंश दिन नमान्ने समाजलाई चुनौति हो ।’ ‘समूदायका महिलाको उक्त कदमले परम्परागत मूल्य मान्यता अब तोडिनेमा आशा गर्न सकिन्छ,’ उनले भनिन् । कानुन हुनु सकारात्मक हो तर झन्झटिलो प्रक्रियाले मुद्दा नै लडेर सम्पति लिन सहज नभएकाउनले बताइन् । कानुनी रुपमा लडेरै मात्र छोरीले अंश पाउने वातावरण रहेको छ । जसरी छोराले अंश पाउछन त्यसैगरी छोरीले पनि पाउने अवस्थाको सृजना गर्न जरुरी रहेको उनले बताइन् । अभिभावकबाटै हिंसामा परेका छोरीहरूले कानुनी उपचारका लागि जिल्ला अदालत सुनसरीमा रहेको वैतनिक वकिल को साहयता लिन सक्ने छन । वार एसोसियसनमा रहेको निःशुल्क कानुनी साहयता समिति, सेलर्ड सुनसरीले समेतको निशुल्क कानुनी सहायता लिएर प्रक्रियामा जान सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: