अक्षय कोषका लागि पत्रकार महिलाको देउसी

  प्रकाशित मिति
२४ कार्तिक २०७५, शनिबार १४:५१


भद्रपुर । झापाका महिला पत्रकारहरुले अक्षय कोष अभिवृद्धिका लागि देउसी खेलेका छन् ।
पत्रकार महिलाहरुको साझा सङ्गठन नारी सञ्चार गृह झापाले लक्ष्मी पूजा र गोवद्र्धन पूजाको दिन जिल्लाका विर्तामोड, मेचीनगर लगायतका स्थानमा देउसी खेलेको हो ।

मादल, बाँसुरी, पियानो लगायतका बाद्यबादनसहित हिँडेको पत्रकार महिलाहरुको देउसी टोलीमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी, पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्य, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, कान्तिपुर दैनिकका उपसम्पादक पवर्त पोर्तेल, सूर्योदय टेलिभिजनका लक्ष्मी उप्रेती, खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल, मकालु टेलिभिजनका खगेन्द्र घिमिरे, नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता नारायण कडरियालगायतको सहभागिता थियो ।

नारी सञ्चार गृहले महिला पत्रकारहरुलाई पेशामा टिकाइरहन नियमित तालिम र प्रशिक्षणको आवश्यकता महसुस गरेर त्यसका लागि यसै वर्ष अक्षय कोष स्थापना गरेको संस्थाकी सचिव रेजिना गौतम बताइन् ।

मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्कृति र परम्पराको जगेर्ना गर्दै पत्रकार महिलाहरु नै देउसी खेल्न आउँदा खुशी लागेको बताए ।


प्रदेश सांसद श्रीप्रसाद मैनाली, अर्का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी र नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा पत्रकार महिलाहरुको देउसी टोलीसँगै छमछमी नाच्नु भएको थियो ।
कलम र टेपरेकर्डर चलाउँदै समाचारको खेतीमा व्यस्त रहने पत्रकार चेलीहरु आफ्नै आँगनमा सांस्कृतिक पाराको देउसी खेल्न आउँदा ज्यादै हर्ष लागेको प्रतिक्रिया जनाउँदै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले नारी सञ्चार गृहको अक्षय कोषमा प्रदेश सरकारबाट समेत सहयोग जुटाउन मदत गर्ने बताए ।


नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुको देउसी उत्कृष्ट रहेको बताए ।
देउसी टोलीमा सहभागी हुनु भएको लोक गायक मातृका सङ्ग्रौला आकर्षणको केन्द्र हुनु भएको थियो ।
गायक सङ्ग्रौला नाकले बाँसुरी बजाएर जुनसुकै धुन निकाल्न सक्छन् ।

झापामा पत्रकारिता गरिरहेका महिलाको सङ्ख्या ८० रहेको छ भने नेपाल पत्रकार महासङ्घमा ४९ जना महिला सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: