अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश

  प्रकाशित मिति
२८ मंसिर २०७७, आईतवार १९:०६


झापा, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।

बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोप थियो । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।

थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्ने बारे निर्णय दिनेछ । ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन ।

अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐन अनुसार तीन वटा अभियोग लगाएको छ । पहिलो (सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको । दोस्रो (नेपाल सरकारलाई हानी पुर्याउने बदनियतले लिखत तयार गरेको र तेस्रो (सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको) ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवसा स्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो । उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो ।

उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ ।

साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसूरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: