विराटनगर । प्रदेश सरकारले अग्रज चार पत्रकारलाई एक लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश एक भित्र रहेर ३५ वर्ष भन्दा लामो समयदेखि क्रियाशील पत्रकारहरू नकुल काजी (झापा), हर्ष सुब्बा (सुनसरी), राजकुमार कार्की (सुनसरी) र चन्द्र भण्डारी (झापा)लाई सम्मान गरिएको हो ।
आन्तरिक मामिला एवम् कानुन मन्त्रालयमा मङ्गलवार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले चार पत्रकारलाई जनही एक लाख नगदसहित सम्मान गरेका हुन् ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्मानमार्फत मिडिया क्षेत्रको सम्मान गर्ने कार्यको सुरुवात गरेको जानकारी दिए ।
आन्तरिक मामिला एवम् कानुन मन्त्री हिक्मत कार्कीले हरेक साल दुुई दुुई जना अग्रज पत्रकारलाई सम्मान गर्दै जाने जानकारी दिए ।
अघिल्ला साल कार्यक्रम नगरिएको हुँदा यो पटक भने चार जनालाई एकै स्थानबाट सम्मान गरिएको उनले जानकारी दिए ।
त्यस अवसरमा सञ्चार कार्यदलका संयोजक यज्ञ शर्मा, मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, कौशल चेम्जोङ र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पनि मन्तव्य राखेका थिए ।