बाहुनडाँगी । मेचीनगर–२ स्थित बौद्धमोडमा यतिबेला रायोको अग्र्यानिक साग लहलह छ ।
स्थानीय कृषक ४४ बर्षीय सनमान तामाङ र ३६ बर्षीय उत्तम राईले संयुक्त रुपमा लगाएको साग लहलह भएको हो । उनीहरुले ४ कठ्ठा माटो भाडमा लिएर अग्र्यानिक रायो सागको खेती सुरु गरेका हुन् ।
कृषिमै जीवन विताउँदै आएका तामाङ र राईले ५० बढी बाँस र प्लाष्टिकको कामचलाऊ टनेल निर्माण गरेर बेमौसमी तरकारी रायो सागको खेती गरिरहेका छन् । उनीहरुले यही असारदेखि सागको खेती सुरु गरेका हुन् ।
‘विशेष गरी हिउँदको समयमा मात्र लगाइने रायो सागको खेती बाह्रैमास गर्न सकिँदो रहेछ’ कृषक तामाङले भन्नुभयो–‘हामीले पनि परीक्षणका लागि ४ कठ्ठामा लगाएको आम्दानी पो गर्न थाल्यो ।’
उहाँले साउन अन्तिम साता बेर्ना तयार गरेर लगाएको साग किन्ने ग्राहक बारीमै आउन थालेको बताउँदै भन्नुभयो–‘ख्याल ख्यालमा आम्दानी पो सुरु भयो ।’ बजारमा तरकारीको भाउ अकाशिएसँगै उहाँहरुको साग किन्नका लागि धुलाबारी, इटाभट्टा र काँकरभिट्टादेखि ग्राहकहरु जान थालेका छन् ।
१७ सय रुपैयाँमा एक केजी रायोको विऊ ल्याएर अग्र्यानिक साग खेती सुरु गर्नुभएका तामाङ र राईले कार्तिक महिनासम्ममा २ लाख ५० हजार बढीको साग विक्री गर्न सकिने बताउनुभयो ।
रायो सागको खेतीबाट आम्दानी हुनथालेपछि हौसिएका उनीहरुले निकट भविष्यमै थप जग्गा भाडामा लिएर खेती विस्तार गर्न बताए ।