अङ्ग्रेजी माध्यमले लोकप्रिय बन्दै देवी उमावि

  प्रकाशित मिति
९ असार २०७३, बिहीबार १०:५६


20160622_111405_resized

विर्तामोड । विद्यार्थीहरूमा अङ्ग्रेजी पढ्ने मोह बढेको बुझेपछि झापाका सामुदायिक उच्च माध्यमिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरेका छन् ।

झापामा पठनपाठनका दृष्टिले राम्रो मानिएका थोरै विद्यालयमध्ये एक विर्तामोडको देवी उच्च माध्यमिक विद्यालयले गत वर्षदेखि केही कक्षामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालेको छ ।
गत वर्ष कक्षा ११ र १२ को विज्ञान र व्यवस्थापन सङ्कायमा अङ्ग्रेजी माध्यम प्रयोग गरेको देवी उमाविले यस वर्ष कक्षा ९ र कक्षा नर्सरीमा समेत अङ्ग्रेजी माध्यम विस्तार गरेको छ ।

‘समयानुकूल गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने सोचका साथ हामीले सामुदायिक विद्यालय भएर पनि गत वर्ष अङ्ग्रेजी माध्यममा जाने आँट गर्यौँ’, उमाविका प्राचार्य लेखनाथ भट्टराई भन्छन्–‘यसबाट हाम्रो विद्यालयप्रति विद्यार्थीको आकर्षण अत्यधिक बढेको छ ।’

विर्तामोडको मध्यभागमा रहेको देवी उमावि जिल्लाकै धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालय पनि हो । यहाँ कक्षा ११ र १२ मा मात्रै ७ सय ४० जनाले यसपटक पढाइ पूरा गरे भने उमाविमा अध्ययनरत् विद्यार्थीको कूल सङ्ख्या १ हजार ८ सय भन्दा बढी रहेको छ ।

देवी उमाविको विज्ञान सङ्कायको पढाइ राम्रो र सस्तो भएकाले भर्ना हुन चाहनेको सङ्ख्या धेरै छ । विद्यालयले हाल कक्षा ११ मा १ सय ५ जनाको भर्ना कोटा निर्धारण गरेको छ ।

यस उमाविमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । विज्ञान समूहमा फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र गणित जस्ता मुख्य विषयको पढाइ हुने गरेको उमाविका सहायक प्राचार्य लीलाप्रसाद भण्डारी बताउँछन् ।

अङ्ग्रेजी माध्यमको पढाइका कारण विर्तामोडका लिटल फ्लावर्स, बाल्मिकी, एमिटी, न्यूटन्स जस्ता नामी निजी बिद्यालयबाट ए प्लसमा एसएलसी पास गरेका विद्यार्थी समेत देवी उमाविमा पढ्न आउने गरेका छन् ।

२०६८ सालदेखि नै यस उमाविले विज्ञान सङ्कायको पठनपाठन थालेको विद्यालको आन्तरिक प्रशासन हेर्ने सहायक प्राचार्य अम्बिका श्रेष्ठ बताउँछिन् । श्रेष्ठका अनुसार कक्षा ११ र १२ को विज्ञान सङ्कायमा नेपाली विषय बाहेक सबै विषयमा पुरै अङ्ग्रेजी माध्यम लागू गरिएको छ ।

त्यसैगरी यसबर्ष कक्षा ९ को ‘ई’ सेक्सन र नर्सरी कक्षामा अङ्ग्रेजी माध्यम लागू गरिएको हो । प्राचार्य भट्टराईले आगामी वर्ष केजी, कक्षा ८ र १० मा समेत अङ्ग्रेजी माध्यमको पढाइ विस्तार गरिने बताए ।
‘हाम्रो उमाविमा आफ्नै सुविधासम्पन्न प्रयोगशाला र पुस्तकालय छ’, प्राचार्य भन्छन्–‘शुल्क पनि सस्तो र पढाइ स्तरीय भएकाले सबैले देवी उमाविलाई रोज्ने गरेका हुन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: