अङ्ग्रेजी विषयको शिक्षा ः भाषिक उपनिवेश !

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १५:३३


शिक्षा यो शब्द सुन्नासाथ मलाई कक्षा–९ को शिक्षा बिषयको पहिलो कक्षाको झझल्को आउँछ । शिक्षा शिक्ष् धातुमा अ प्रत्यय लागि बनेको संस्कृत शब्द हो ।

जसको अर्थ सिकाउँनु हुन्छ, भन्दै साध्य घोकेको याद आउँछ । हुनत् यो साध्य सत्य पनि छ । कुनै बिषयको ज्ञान दिनु वा लिनुलाई नै शिक्षा भनिन्छ । जसमा कसैको बिमती पाइदैन् । यद्दपिः शिक्षालाई परिभाषित गर्न यतिले मात्रै नपुग्ने कुरामा सबैको एक मत छ । यहि मतलाई आत्मसात गर्दै धैरै बिद्वानहरुले आ–आफ्नै विचार व्यक्त गरेका छन् ।

यसैक्रममा शिक्षाविद रुसो भन्छन्–‘शिक्षा अरु केही हैन बनिरहेको निमार्ण मात्र हो ।’ हो, त्यसैले भविष्य कस्तो बनाउने भन्ने बारे बेलैमा सोचेर त्यसै अनुरुपको बानिको विकास गराउने जीवन उपयोगी गुणस्तरिय शिक्षा नै आजको आवश्यक्ता हो ।

शिक्षाको परिभाषा र साध्यका कुरा गरिरहँदा म सबै भन्दा पहिला हाम्रो देशमा उत्पन्न भाषागत अन्योलता र विविधतालाई स्मरण गर्दछु । विदेशी भाषाले तिव्ररुपमा गाडेको जरो र यसले मातृ भाषा तथा अन्य स्थानीय भाषालाई गरेको तिव्र विस्थापित बारे सोच्दछु ।

विदेशी भाषा नजानेका कारण उच्चशिक्षाको सपना तुइएका सम्पुर्ण विद्यार्थी साथीहरुलाई शिक्षा परिषद्ले गरेको अन्याय बारे सोच्दछु । विदेशी भाषा जान्नै पर्ने बाध्यात्मक परिस्थितीबारे सोच्दछु । त्यसैले यस लेखलाई सकेसम्म भाषागत अन्याय र मातृभाषालाई गरिदै गरेको तिव्र उपेक्षा विरुद्ध मुखरित गरेको छु ।

म एक स्नातक तहमा अध्ययनरत विद्यार्थी हुँ र म यहाँ मेरो कक्षामा देखेको भाषिक मतलाई प्रस्तुत गर्ने प्रयत्न गरेको छु । मेरा केहि साथीहरु अङ्ग्रेजी बिषयमा राम्रो दख्ल राख्नुहुन्छ भने कोहि अङ्ग्रेजी बिषय सुन्नसात ज्वरो आउँने हुनुहुन्छ ।

अङ्ग्रेजी बिषयमा राम्रो दख्ल राख्ने साथीहरुलाई म हृदयदेखि नै सम्मान गर्दछु किनकी मातृभाषामा जत्तिकै विदेशीभाषामा दख्ल राख्नु कुनै सामान्य कुरा हो जस्तो मलाई लाग्दैन । तर, यी साथीहरु मध्ये एकदुई जना साथीहरु हुनुहुन्छ । जो अर्को बर्ष अनिवार्य नेपाली पढ्नु पर्छ भन्ने हल्ला सुनेरै आत्तिरहनु भएको छ । जुन निन्दनिय बिषय हो ।

अङ्ग्रेजी जान्नेलाई मात्रै सम्मान गरो भनेर नसोच्नु होला । म नेपाली भाषामा मात्र दख्ल राख्ने साथीहरुलाई पनि उत्तिकै सम्मान गर्छु । किनकी अहिलेकै रीति रहिरए अबको केहि समयपछि नेपाली भाषा जोगाउँनका लागि हजुरहरु कै आवश्यकता पर्नेछ ।

शिक्षालाई जीवन उपयोगी र गुणस्तरिय बनाउने होडमा यसबर्ष पढ्नु पर्ने बिषयको नाम सुन्दै ज्वरो आउँने र अर्कोबर्ष पढ्नु पर्ने बिषयको नाम सुन्दै आत्तिनेले शिक्षालाई जीवनउपयोगी र गुणस्तरिय बनाउँला त ? यस बारे विज्ञहरुको ध्यान पुगोस् ।

सामान्य रुपमा भन्नु पर्दा एक वा सो भन्दाबढी भाषाको ज्ञान राख्नु राम्रो कुरा हो तर कसैलाई उसको इच्छ्या विपरित जबरजस्ती कुनै भाषा पढाउँनु न्यायोचित हुन्छ जस्तो मलाई लाग्दैन । मैले थुप्रै विद्यार्थी साथीहरु देखेको छु । जसले नेपालीमा राम्रो दक्षता राख्नुहुन्छ तर अङ्ग्रेजीमा शून्य र यहि विदेशी भाषा नजानेका कारण कतिको उच्च शिक्षाको सपना तुइएको छ भने कतिले रुचाएको बिषय पढ्न पाएका छैनन् । म तपाईहरुलाई यस मामिलामा पनि मेरै उदाहरण दिन चाहन्छु ।

म स्नातकमा कानून पढ्ने रहरले त्यसैको तयारिमा थिए । तर स्नातकतहमा पढाइ हुने बिए,एलएलवी हाम्रो देशमा अङ्ग्रेजी माध्यमबाट मात्रै पढाइने रहेछ । जसको फलस्वरुप मैले कानून पढ्ने रहर र सपनालाई त्याग्नु पर्यो ।

जहाँ सम्पुर्ण कानूनी प्रक्रिया नेपालीबाट हुन्छ, त्यहाँ कानून अङ्ग्रेजीबाट पढ्नु वा पढाउनु कत्तिको उचित हुन्छ ? के आफ्नो भूमिमा विदेशी भाषा नजानेका कारण उच्च शिक्षाबाट बन्चित हुनु वा रुचाएको बिषय पढ्न नपाउँनु जायज छ ? र मातृभूमिमा विदेशी भाषाका कारण विद्यार्थीको सपना तुइनु कत्तिको न्यायोचित छ ? सरोकारहरुसँग उत्तरको सदैब आश रहनेछ ।

कसैलाई पनि कुनै पनि बिषयमा जबरजस्ती ज्ञान दिँदा त्यसले जीवनत र गुणीतरताको प्रधानता गर्छ जस्तो मलाई चाँहि लाग्दैन । त्यसैले यदि बालबालिकालाई भविश्यमा नेपालकै लागि तयार गर्ने हो भने नेपाली तथा यहाँ भित्र बोलिने अरु कुनै स्थानीय भाषा र बिषय पढ्ने–पढाउने नीति बनोस् । तर यसको मतलब यो हैन कि अङ्ग्रेजी भाषालाई पुर्णरुपमा बन्देज गर्नु पर्छ ।

विद्यार्थीले इच्छाएको खण्डमा अङ्ग्रेजी पनि पढ्न पाउँने व्यवस्था हुन जरुरी छ । विद्यार्थीलाई उनिहरुले रुचाएको भाषा र बिषयको गुणस्तरिय शिक्षामा जोड दिने हो भने यसले निकट भविष्यमा हरेक बिषयमा बिशेषज्ञको जन्म हुनेछ ।

यहाँहरुलाई अवगत नै छ, यो चार पाँच बर्ष यता हाम्रो सरकारी विद्यालयहरुमा खुब गुणस्तरिय शिक्षाको नारा लाग्दैछ । गुणस्तरिय शिक्षाको नारा लगाई गुणस्तरिय शिक्षा प्रधान गर्नु राम्रो कुरा हो तर नाराको प्रकारमा मेरो खेद छ ।

प्रायः सबै सरकारी विद्यालयमा गुणस्तरको नारामा अङ्ग्रेजी माध्यमको सिकाईमा जोड दिएको पाइन्छ । के अङ्ग्रेजीमा मात्रै गुणस्तर प्रदान गर्न सकिन्छ त ? यो मेरो प्रश्न हो गुणस्तरको नाममा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने विद्यालयहरुलाई ।

मेरो विचारमा सरकारी विद्यालयहरु निजी विद्यालयहरुका कारण विस्थापित हुने अवस्थामा छन् । यहि शिक्षाको व्यपारिकरणलाई केहि हदसम्म कम गर्न गुणस्तरको नारामा अङ्ग्रेजी माध्यम घुसाइएको हुनुपर्छ ।

तर, विद्यार्थीको बुद्विका लागि घुसाइएको अङ्ग्रेजी माध्यमले गुणस्तरता प्रदान नगर्ने ठहर गरि हाल सरकारले आ. व. २०७७ र ७८ को बजेट वक्तव्यमा माध्यमिक तहसम्म सञ्चालित सबै निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको गुणस्तरको जिम्मा लिनुपर्ने भनि घोषणा गरिएको हुनुपर्छ । के शिक्षाका व्यपारी निजी विद्यालयहरुले चाँहि गुणस्तरिय शिक्षाको उद्देश्य परिपुर्ती गर्लान त ?

अङ्ग्रेजको साम्राज्य विस्तारवादले लगभग संसारभर उनीहरुको राज्य बनाइसकेको थियो । संसार नै आफ्नो भएको बेला, आफ्नो भाषालाई सबै तिर पुर्याउनु कुनै गाह्रो कुरा भएन, जसको परिणाम हो, अहिले अङ्ग्रेजी भाषा विश्वस्तरिय र अत्यन्तै महत्वपुर्ण भाषा बन्नु ।

तर, म यसलाई भाषिक विस्तारवादको उपमा दिन रुचाउँछु । अङ्ग्रेजको साम्राज्य विस्तारवादले विश्वका केहि देशलाई उपनिवेश बनाउँन त सकेन तर भाषिक विस्तारवादले चाँहि कसैलाई अछुतो राखेन । जसको उदाहरणको निम्ती हाम्रै देशलाई लिन सकिन्छ ।
हाम्रै गौरवमय इतिहासलाई हेर्ने हो भने हामीलाई कुनै दिन अङ्ग्रेजले उपनिवेश बनाउँन सकेन तर, उनीहरुको भाषाले भने यहाँ पनि राम्रै जरो गाडेको हामी प्रस्ट देख्न सक्छौँ ।

यसैको उदाहरण हो मौलाउँदो अङ्ग्रेजी माध्यम शिक्षा र खस्किदो नेपाली माध्यम । अङ्ग्रेजको उपनिवेशबाट त सबै देश मुक्त भए तर, अङ्ग्रेजी भाषाले बनाएको उपनिवेश बिरुद्ध आजसम्म कुनै देशले आवाज उठाएको पाइदैन । अङ्ग्रेजी भाषाले गाडेको जरा र हामीले यसलाई गरेको औधी प्रेमले भविष्यमा ठूलो दुघर्टना निमत्याउँदैन भन्न सकिन्न ।

हाम्रो भाषाको दमन र लोपसम्म गराउँन सक्ने यस भाषा बारे बेलैमा सोचेर त्यसै अनुरुपको शिक्षा निती बन्नु आवश्यक बन्दै गएको छ । आफ्नै भाषामा गुणस्तरिय शिक्षाको नाराले मात्रै हामीलाई भाषिक दुघर्टनाबाट बचाउँन सक्छ । भाषिक उपनिवेशबाट मुक्तिका लागि गरिने क्रान्ति नै मातृभाषा संरक्षणको उच्चतम बिन्दु हो ।

गगन ढकाल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: