अचार बेचेरै मासिक डेढ लाख आम्दानी

  प्रकाशित मिति
१० भाद्र २०७५, आईतवार १०:५८


भद्रपुर । शीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै मासिक एक दुई लाख कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् झापा अर्जुनधारा–९ का अचार उद्यमी दिनानाथ शिवाकोटी ।

उनको आफ्नै घरमा शिव बाबा अचार उद्योग सञ्चालनमा छ । जहाँ उत्पादन भएका २० परिकारका स्वादिला अचार बजारमा लोकप्रिय छन् ।

दश बर्षअघि रु. ५ लाख पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा सुरु भएको अचार उद्योगबाट हाल उनले कम्तीमा मासिक रु. १ लाख ५० हजार आर्जन गरिरहेको बताए ।

शिव बाबामा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौंडा, पोखरा र काठमाडौंमा बढ्दै गएको छ ।

उनको उद्योगबाट वार्षिक रुपमा १० हजार केजी विभिन्न ब्रान्डका अचार उत्पादन हुँदै आएको छ ।

साना तथा घरेलु उद्योग कार्यालयमा दर्ता रहेको सो उद्योगमा हाल ५० लाख पूँजी लगानी भइसकेको छ । उद्योगमा ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै विक्री हुने भएकाले महिला दिदीबहिनीहरुले शीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नु पर्ने उहाँको सुझाव छ ।

अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ ।

पाँच बर्ष अघिसम्म विर्तामोडको देवीवस्तीमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिववावा अचार उद्योगलाई सञ्चालक शिवाकोटीले अहिले आफ्नै घरमा सार्नु भएको छ ।

उद्योगकै लागि भनेर ठूला ठूला दुई कोठे पक्की भवन उहाँले निर्माण गर्नु भएको छ भने एउटा भवनमा अचार उत्पादन हुन्छ र अर्कोमा तालिम सञ्चालन हुने गरेको छ ।

उनको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिम्बुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ ।

उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिम्बुर, लसुन, करेला लगायतका फलफूल झापा र इलामस्थित कृषकको खेतबारीबाटै ल्याइने गरिएको उहाँ बताउनु हुन्छ ।

५० वर्षीय शिवाकोटी २० वर्षको लक्का जवान उमेरदेखि फलफूल व्यवसायमा लागेका हुन् । लाग्नु भएको हो । उद्योग खोल्नु अघि उनी इटहरीको प्रसिद्ध रिजाल टासी इन्डस्ट्रिज प्रालिलाई झापाबाट कच्चा पदार्थको रुपमा फलफूल पठाउने व्यापार गर्नु हुन्थ्यो ।

यही क्रममा अचार बनाउने शीप सिक्न पाएपछि शिवाकोटीले रिजाल टासी उद्योगका मेनेजर केडी शर्मा र पर्चेज मेनेजर विष्णु न्यौपानेको प्रेरणाले अचार उद्योगमा होमिएको बताउँछन् ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराईले शिवाकोटी झापाको अचार उद्यमी मात्र नभएर कुशल प्रशिक्षक भएको बताए ।

शिवाकोटीले विगत पाँच वर्षदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सय भन्दा बढी समूहलाई अचार बनाउने तालिम प्रदान गरिसकेका छन् ।

उनीसँग तालिम लिएकाहरुले झापामा दर्जनौ घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन् । ‘म आफु मात्र उद्योगी भएर हुँदैन, अरुहरुलाई पनि शिप सिकाएर आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोचाइले तालिमलाई प्राथमिकता दिइरहेको छु’–शिवाकोटीको भनाई छ ।

झापाको मेचीनगर, विर्तामोड, कनकाई, दमक लगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा अचार उद्योग सञ्चालनमा आइरहेका छन् । जसको श्रेय शिवाकोटीलाई नै जान्छ ।

हालसम्म हातैले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनी बताउँछन् ।

उनले अर्जुनधारा नगरपालिकासँग अचार बनाउने हाइड्रोलिक मेसिन खरिदका लागि अनुदान माग गरिएको बताए ।

भद्रपुरस्थित साना तथा घरेलु उद्योग कार्यालयले झापामा अचार बनाउने साना उद्योग खुल्न थालेको जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ७ वटा अचार उद्योग सो कार्यालयमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: