अझै अव्यवस्थित विर्तामोड बसपार्क

  प्रकाशित मिति
२० फाल्गुन २०७२, बिहीबार ०४:३९


maxresdefaultविर्तामोड । आठ वर्ष अघिदेखि सञ्चालनमा आएको विर्तामोड बसपार्क अव्यवस्थित बन्दै गएको छ । मेची अञ्चलकै ठूलो मानिने विर्तामोड बसपार्क व्यवस्थापनमा चासो नदिँदा समस्या देखिएको हो ।

भारतीय सहयोगमा निर्माण गरिएको बसपार्क अहिले अस्तव्यस्त छ । बसपार्क क्षेत्रका छहरा भत्किएका छन् । जताततै फोहोर थुप्रिएको अवस्था छ । यात्रु सुरक्षित नभएको गुनासो बारम्बार आउने गरेको छ । मनपरी ढङ्गबाट पसल सञ्चालन हुँदा बसपार्कको अवस्था भद्रगोल छ ।

व्यवस्थानसँगै बसपार्क सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । हत्या, हिंसा लगायतका गतिविधि बसपार्क क्षेत्रमा सञ्चालित होटलमा हुन थालेपछि सुरक्षा चुनौती थपिएको हो । प्रहरीले बसपार्क सुरक्षार्थ प्रहरी विट नै खडा गरेको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा छ जना प्रहरी परिचालित रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले बताए ।

बसपार्क वरपर रहेका होटलमा हुने यौनजन्य गतिविधि प्रहरीको टाउको दुखाईको विषय बन्ने गरेको छ । ‘विर्तामोडका होटलमा यौनजन्य गतिविधि हुने गरेको सुनेको छु’, उनले भने, ‘यसलाई रोक्न प्रहरीले अभियान नै चलाएको छ । धेरैलाई त कारबाही पनि गरिसक्यौँ ।’ खत्रीले प्रहरी एक्लैले विकृति रोक्न नसक्ने बताए ।

बसपार्क व्यवस्थापनको जिम्मा लिएको समिति पनि अहिले छैन । समितिले आफ्नो खातापाता सबै नगरपालिकालाई बुझाइसकेको छ । विर्तामोड र शनिअर्जुन नगरपालिकामा पर्ने विर्तामोड बसपार्कको व्यवस्थापन गर्न नगरपालिकालाई जिम्मा दिइएको टेकबहादुर बसपार्क व्यवस्थापन उपसमितिका अध्यक्ष विष्णु राईले बताए ।

नगरपालिकाले तत्काल काम अघि बढाउन नसक्दा बसपार्क अस्तव्यस्त बनेको हो । बसपार्क क्षेत्रमा खानेपानी अभावदेखि फोहोरमैला व्यवस्थानको चुनौती रहेको राईले बताए । नगरपालिकाले बजेट अभावका कारण तत्काल काम अघि बढाउन नसक्ने जनाएको छ । आगामी वर्षदेखि मात्र बसपार्क व्यवस्थापनको काम थालिने विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीले बताए । उनका अनुसार उपभोक्ता समिति गठन गरी काम अघि बढाइनेछ ।

स्थानीय धनराज योङ्हाङको अध्यक्षतामा बसपार्कलाई व्यवस्थित गर्न समिति बनाइएको छ । यद्यपि बजेट नहुँदा समितिले काम अघि बढाउन सकेको छैन । बसपार्क व्यवस्थापन अन्तरगत पहिलो चरणमा सडक मर्मत गरिनेछ ।

बसपार्क क्षेत्रको ६५० मिटरको बाटो कालोपत्रे गरिने भएको हो । बसपार्क क्षेत्र प्रवेश गर्ने सबै सडक भत्किएका छन् । नगर परिषद्को भेलाले बाटो मर्मत गर्ने निर्णय गरेको वस्तीले जानकारी दिए । त्यसका लागि केन्द्रबाट १८ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

बसपार्क व्यवस्थित गर्नकै लागि भनेर सांसद् प्रेम गिरीले सांसद्कोष मार्फत् ८ लाख रुपैयाँ छुट्याएको बुझिएको छ । सम्बन्धित निकायले चासो नदिँदा बसपार्क क्षेत्र व्यवस्थित हुन नसकेको स्थानीय सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: