झापा । एटीएम कार्डबाट रकम झिक्दा नआउने तर खाताको रकम घट्ने समस्या धेरैले ब्यहोरेका छन् ।
नेपालका धेरैजसो बैङ्कको एटीएममा देखिएको यस्तो समस्याले सर्वसाधारण हैरान भएका छन् । यसरी खाताबाट घटेको रकम फिर्ता पाउन पनि उपभोक्ताले ठूलै सास्ती झेल्नुपर्छ । तर, यो समस्यालाई आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिले केही हदमा भए पनि सम्बोधनको प्रयास गरेको छ ।
यसरी एटीएम कारोबार गर्दा सफल नभएको तर खातामा रकम घटेको भए बैङ्कहरुले निश्चित समयभित्र फिर्ता गर्नुपर्ने नियम बनाउने राष्ट्रबैङ्कले जनाएको छ । यदि बैङ्कले खातामा रकम फिर्ता नगरे त्यसरी घटेको रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
मौद्रिक नीतिमा भनिएको छ, ‘एटीएम मेसिन वा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभइ खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समयभित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैङ्क तथा वित्तीय संस्थाले उक्त रकमको समेत व्याज दिनुपर्ने व्यवस्था मिलाइनेछ ।’