अढाइबर्षमा ‘अफ्रिकन गाला’जस्तै बन्ला ?

  प्रकाशित मिति
१९ पुष २०७६, शनिबार २०:४०


धुलावारी । प्रायः विकास निर्माणको उदाहरणका लागि देशको नाम लिनुपर्यो भने यूरोप, अमेरिका र चीनको लिने गरिन्छ । तर गत आम चुनावका बेला नेकपाका उम्मेद्वार राम कार्कीले चुनावी भाषणका क्रममा सडकको स्तरोन्नति गर्ने सवाललाई अफ्रिकन सुन्दरीको गालासँग जोडेपछि त्यो खबर मिडियामा भाइरल बनेको थियो ।

चुनावी प्रतिष्पर्धामा उत्रिएको नेपाली काङ्ग्रेसका समर्थकहरुले टुरिस्ट उम्मेद्वारको संज्ञा दिएका कार्कीले अफ्रिकन सुन्दरीको गालासँग सडकको चिल्लोपनलाई दाँजेको भनेर विवाद नै सिर्जना भएको थियो । सामाजिक सञ्जालमा यो विषय रोचक घोचपेचको सन्दर्भ भएको थियो । झापाको भद्रपुरलाई इलामको रोङ गाउँपालिकासँग जोड्ने त्यही सडकको शनिवार प्रदेशका अर्थमन्त्रीले भब्य शिलान्यास गरेका छन् ।

ज्यामिरगढी, धुलावारी, शान्तिनगर हुँदै उत्तरतिर हानिने त्यो सडक चिल्लो बनाउने कार्यको ठेक्का मात्र लागेको होइन, निर्माणको काम नै सुरु भएको छ । २०७९ असार ३१ गते अर्थात अबको अढाई वर्षमा सडकको निर्माण गरिसक्नु पर्ने म्याद निर्माण कम्पनीहरुले पाएका छन् । नेपालमा कुनै पनि ठूला सडक र पुल जस्ता निर्माण कार्य तोकिएको समयमा सम्पन्न नहुने परम्परा जस्तै भइसकेको हुँदा यो सडक पनि बेलैमा बन्ला के भन्ने प्रश्न शिलान्यासका दिनदेखि नै उठ्नु अनौठो होइन ।

धुलावारीदेखि दक्षिण ज्यामिरगढी हुँदै भद्रपुरको सीमासम्म सडक बनाउने ठेक्का हिम्डुङ एन्ड थोकर सरोज जेभीका प्रोपाइटर भीम भट्टराईले पाएका छन् ।

कनकाई झापाली जेभीका प्रोपाइटर शेरबहादुर थापा

त्यसैगरी, धुलावारी मोडदेखि विष्णु प्रसाईको घर अगाडि हुँदै शान्तिनगर छिचोलेर इलामको इरौटार पुग्ने २६ किलोमिटर सडक बनाउने ठेक्का कनकाई झापाली जेभीका प्रोपाइटर शेरबहादुर थापाले पाएका छन् ।

दुबै निर्माण व्यवसायीले सडकको शिलान्यास कार्यक्रममा बोल्ने मौका पाउँदा बेलैमा सडक सम्पन्न गर्न उचित वातावरण हुनुपर्ने शर्त राखे । तर बेलैमा निर्माण सक्न आफुहरुले प्रयास गर्ने बताउन भने उनीहरुले भुलेनन् ।

निर्माण व्यवसायी थापाले जेठ असारका बेला ढुङ्गा गिटी खुला गर्नु पर्ने र त्यसो भयो भने निर्माण सामग्रीको अभाव नहुने बताए भने अर्का व्यवसायी भट्टराईले स्थानीय तह र उपभोक्ताहरुले सडकको सीमा क्लियर गर्न अवरोध पुर्याउन नहुने शर्त राखे ।

हिम्डुङ एन्ड थोकर सरोज जेभीका प्रोपाइटर भीम भट्टराई

दुबै निर्माण व्यवसायी झापाका पत्यारिला भएको संविधानसभाका सदस्य रविन कोइरालाले कार्यक्रममै बताए । उनले बेलैमा काम सकिनेमा आफु विश्वस्त रहेको सुनाए । तर आम जनतामा शङ्काको वातावरण भने रहेको उनको भनाई थियो । नेता कोइरालाले ठेक्का लिने शेरबहादुर र भीम नामजस्तो बहादुर भएको टिप्पणी समेत गरेका छन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको गौरवको आयोजना भएको हुँदा यस सडक निर्माणमा पूरा सहयोग गरिने बताए भने रोङ गाउँपालिकाका अध्यक्ष शमसर राईले जस्तोसुकै सहयोगका लागि स्थानीय तह तयार भएको बताए ।

धुलोले हैरान भएका स्थानीय उपभोक्ता नयाँ सडक निर्माणको खबरले हर्षित छन् । बहुवर्षीय बजेटले बन्ने यो सडक काँकरभिट्टा अन्तर्राष्ट्रिय नाकाबाट चन्द्रगढी एयरपोर्ट जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो ।

बहुप्रतिक्षित यो सडक कालोपत्रे बन्ने भएपछि अहिले धेरैले सांसद् राम कार्कीको चुनावताकाको अफ्रिकन गालाजस्तो भन्ने भाषण सम्झेका छन् । यस क्षेत्रका सबै सांसद् उपस्थित हुँदा कार्की भने अनुपस्थित रहे । शिलान्यासकर्ता प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले सङ्घीय सांसद् राम कार्की कार्यक्रममा आउन नसकेको तर सडक चिल्लो बन्ने भएकाले खुशी बनेको सन्देश भने सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: