अढाई लाख विरामीको उपचार

  प्रकाशित मिति
९ चैत्र २०७३, बुधबार १०:२६


eye

विर्तामोड । बिर्तामोड आँखा अस्पतालले स्थापनाको सातौँ वर्ष पूरा गरेको छ । आँखा उपचारमा निजी क्षेत्रबाट योगदान पुर्याउने उद्देश्यले २०६६ चैत ९ गते सेवा सुरु गरेको यस अस्पतालले हालसम्ममा २ लाख ४८ हजार ६ सय जनालाई ओपीडी सेवा पुर्याएको छ ।

सात वर्षको अवधिमा सीमित जनशक्तिका बाबजुत अस्पतालले ११ हजार ३ सय जनाको आँखा उपचारको सिलसिलामा शल्यक्रिया गरेको मङ्गलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

विर्तामोड सहरको पश्चिमी भागमा पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यस अस्पतालले ओपीडी सेवातर्फ भारतीय नागरिकको तुलनामा स्वदेशी नागरिकलाई बढी सेवा पुर्याएको पाइएको छ । तर सर्जरीतर्फ भारतीयले नै बढी सेवा पाएका छन् ।

पत्रकार सम्मेलनमा अस्पतालका नेत्र अधिकृत विनोद दाहालले बताए अनुसार यस अस्पतालले ओपीडीमा ६५ प्रतिशत नेपालीले सेवा पाएका छन् र सर्जरीतर्फ ४८ प्रतिशतले ।

आठौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा अस्पतालले आगामी दिनमा सेवा र सुविधालाई अझ बढाएर लैजाने र आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेश प्रधानले हाल १५ बेडबाट विस्तार गरेर अस्पताललाई ५० बेड क्षमताको बनाउने र रेटिना, कोर्निया, ग्लुकोमा अकुलोप्लास्टि, लेसिक लेजर लगायतका विशेषज्ञता सेवा आगामी २ वर्षभित्र सुरु गर्ने बताएका छन् ।

उनले आफ्नै भवन निर्माणका लागि विर्तामोडमा ५ कठ्ठा जग्गा किनिसकेको र नक्सा बनाएर पासका लागि नगरपालिकामा पेस गरिसकेको बताए । दुई जना नेत्र रोग विशेषज्ञसहित अस्पतालमा हाल ५० जना चिकित्सा सम्बन्धी प्राविधिक जनशक्ति रहेको र मोतिबिन्दु, ऐजेरु, जलविन्दु, परेला फर्किने, आँशु सुक्ने लगायतका जुनसुकै आँखा रोगको उपचार हुने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले कम्प्युटरबाट आँखाको पावर जाँच्ने, आँखाको भिडियो एक्सरे तथा स्क्यान गर्ने, कम्प्युटरको माध्यमबाटै शल्यक्रिया गर्ने लगायतको अत्याधुनिक सेवा दिदै आएको छ भने अस्पतालको सेवा अन्यत्रको तुलनामा सरल र गुणस्तरीय रहेको बताइएको छ ।
चौबीसै घण्टा आकस्मिक सेवा दिइरहेको यस अस्पतालले ग्रामीण क्षेत्रका जनतालाई सुविधा पुर्याउने हेतुले दक्षिण झापाको कुमरखोदमा प्राथमिक उपचार केन्द्र सञ्चालन गरिरहेको जनाएको छ ।

वार्षिकोत्सवको खुशीयालीमा अस्पतालले झापाका पत्रकारहरुको स्वास्थ्योपचारका लागि स्थापना गरिएको अक्षय कोषमा १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सो सहयोगको चेक पत्रकार सम्मेलनमै नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: