अतिरञ्जित प्रचारले ठेस पुगेको भए क्षमा चाहन्छु ः प्रसाई

  प्रकाशित मिति
७ श्रावण २०७५, सोमबार १०:१७


कार्यकारी निर्देशक दुर्गा प्रसाई

मेचीनगर । बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने नेपाली चेलीहरुलाई मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्ने आरोपको वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले खण्डन गरेका छन् ।

उनले आइतवार प्रेस वक्तब्य जारी गरी अर्कै प्रसङ्गमा डेढ बर्ष अघि नेपाली चेलीहरुले बङ्गलादेशमा भोग्नु परिरहेको पीडाका बारेमा सहानुभूतिपूर्वक बोलेको भिडियो रेकर्डिङलाई प्रविधिको दुरुपयोग गरी विवादास्पद क्लिप बनाएर अहिले आफ्नो चरित्र हत्या गर्न प्रयास गरिएको बताएका छन् ।

‘अहिले मैले कहिँ कतै बङ्गलादेशमा अध्ययनरत् नेपाली चेलीहरुका विषयमा बोलेकै छैन’, प्रसाईले भने–‘मविरुद्ध दुष्प्रचार गर्ने नियत राखेर डेढ बर्ष पुरानो भिडियोको क्लिप काँटछाँट र तोडमोड गरेर सामाजिक सञ्जालहरुमा भाइरल बनाइएको छ ।’

विगतको विशिष्ट परिस्थति र निश्चित घटनाका विषयमा बोलिएका पुराना कुरा र विचारहरुको अतिरञ्जित प्रचारले कसैको व्यक्तिगत र सामाजिक इज्जत प्रतिष्ठामा ठेस पुगेको भए त्यसका लागि प्रसाईले क्षमा याचना गरेका छन् ।
लोकतन्त्र पोस्टलाई प्राप्त जानकारी अनुसार डेढ वर्ष अघि प्रसाईले वीएन्डसी मेडिकल हस्पिटलको मिटिड हलमा पत्रकार सम्मेलन गर्दा उक्त भिडियो खिचिएको थियो ।

त्यसबेला वीएन्डसीले उपचार गरेका विरामीहरुको बारेमा प्रसाईले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

तर त्यसैबेला बड्गलादेशको ढाकास्थित पायोनियर डेन्टल कलेज एन्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साहलाई होस्टेलमा मृत फेला पारिएको समाचार सञ्चार माध्यममा आइरहेको थियो ।

विनिशा साह सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् । यो विषयको समाचार गुगलमा सर्च गर्दा अहिले पनि छ्याप्छ्याप्ती भेट्न सकिन्छ ।

प्रसाईले त्यही विषयमा बोल्दै नेपालमा नयाँ मेडिकल कलेज खोल्न नदिइँदा बड्गलादेशमा पढ्न जानु परिरहेको र त्यसक्रममा नेपाली चेलीहरुले पीडादायी समस्या भोग्नु परेको धारणा राखेका थिए ।

बीएन्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको
प्रेस बिज्ञप्तिको पूर्ण विवरण

प्रेस बिज्ञप्ति
बिगत ४ बर्षदेखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिबारको लगानीमा सञ्चालित बीएनडसी शिक्षण अस्पताल मार्फत हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्बबिदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पुरा गरेर मेची अञ्चलका आवश्यकताहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन खोजिएको बीएन्डसी मेडिकल कलेजलाई बिबिध अवरोध हुँदा सुदूर पूर्वका आम गरिव दुःखी बिपन्न जनताका छोराछोरीहरु डाक्टर बन्न पाउने अवसरलाई रोक्ने काम भइरहेको यहाँहरुलाई अबगत नै छ ।
मैले नेपाल राज्यको संविधान र कानून प्रदत्त अधिकार अनुसार नै मुलुकभित्र ब्यवसाय गरेर जनतालाई सेवा दिन पाउने नागरिक अधिकारको उपभोग गर्दै देश प्रतिको नागरिक उत्तरदायित्व निभाउने प्रयास गरिरहेको छु ।
स्वतन्त्रतापूर्वक आफ्नो अभिब्यक्ति राख्न पाउने नागरिक अधिकार अनुसार नै म र मेरो व्यवसायसँग जोडिएका बिषयहरुमा मैले आफ्ना तर्कहरु राख्ने गरेको छु ।
तर तत्कालीन अबस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर ब्यक्त गरिएका मेरा भनाइहरुलाई तोडमोड गरेर केही दिनदेखि केही मिडिया र सामाजिक सञ्जालहरुमा मेरो विचार तथा तर्कहरुलाई दूरुपयोग र अतिरञ्जित गर्ने काम भइरहेकोमा मेरो गम्भीर आपत्ति छ । यो बीचमा म र मेरो परिबारको चरित्र हत्या गर्ने, मैले संविधान र कानुनसम्मत प्रयोग गरिरहेको नैसर्गिक अधिकारमा धावा बोल्ने, देशको नियम र कानुन बमोजिम तोकिएको मापदण्डमा रहेर ब्यापार ब्यबसाय गर्नुलाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मानमर्दन हुने गरी नाना प्रकारका आरोपहरु सङ्गठित रुपमा कुप्रचार भइरहेका छन् ।
यहाँहरुलाई सर्बबिदितै छ, मेडिकल शिक्षाका नाममा हाल देशमा अनाबश्यक राजनीतिक स्वार्थ साध्ने काम भै रहेको छ । ठिक यहि मेसोमा धमिलो पानीमा माछा मार्ने समूहहरु सङ्गठित रुपमा मेरो नैसर्गिक अधिकार माथि धावा बोलिरहेका छन् । कानूनी राज्यमा ढिलो चाँडो त्यस्ता समुहहरुको पहिचान हुने नै छ, कुनै पनि नागरिकको नैसर्गिक अधिकारमाथि आक्रमण गर्ने त्यस्ता समुहहरु कानून बमोजिम दण्डको भागिदार हुने नै छन् र सत्य सेवा भावको मेरो सत्प्रयासमा न्यायको ढोका खुल्नेमा आशाबादी समेत छु ।
डेढ बर्ष अघि मैले मेरो आफ्नो अनुभबको आधारमा स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययन गर्ने अवसर नपाएर बिदेशमा पढ्न जान बाध्य नेपालीहरुको दुःख र सास्तीको बिषयको सूचनाहरुको सत्य तथ्य पत्ता लगाउनु पर्छ र त्यस्तो करुणादायी अवस्था छ भने हाम्रा नेपालका छोरा छोरीहरुको पीडामा न्याय दिनुपर्छ भनेर चिन्ता ब्यक्त गरेको बिषयलाई केहि दिन यता डेढ बर्ष अघि भनिएको पुरै अभिव्यक्तिलाई नै नराखी काँटछाट र तोडमोड गरेर बेमौसमी बाजा बजाउँदै अतिरञ्जित र बिषयको संवेदनशीलतालाई दूरुपयोग गर्ने काम भइरहेको छ ।
मैले कतिपय परिस्थितिमा बिशिष्ट घटनाहरुको बिषयमा बोलेका कुरालाई सूचना प्रबिधिको दुरुपयोग गर्दै सामान्यीकरण गरेर मेरो तेजोबध गर्ने कुराले म कुनै पनि हालतमा मेरो सत्यपथबाट बिचलित हुने छैन किनकि म देश, जनता र सत्कर्मलाई सँधै मध्यनजर गर्दै सम्मान गर्ने गर्दछु ।
मेची अञ्चलका २९ लाख आम जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने अभियानमा म मेरो ब्यक्तिगत क्षमता र बुताले भ्याएसम्म निरन्तर रुपमा लागिरहने छु ।
अन्त्यमा, मैले बिभिन्न समयमा बिशिष्ठ र निश्चित घटनाका आधारमा बोलिएका कुराहरुको रुपमा लिइदिनु हुन, बिषयलाई समग्रतामा बुझिदिनु हुन र ब्यक्तिगत रुपमा नलिइदिनु हुन सरोकारवाला र आम सर्बसाधारणमा हार्दिक अपिल गर्दछु ।
साथै, कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत–प्रतिष्ठामा आँच पुर्याउन खोज्ने आशय मेरो अन्तर्मनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु । बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु ।
देश, जनता र स्वास्थ्य शिक्षाकै पक्षमा लागिरहेको मेरो प्रयास र यथार्थतामा सबैले साथ दिनु नै हुनेछ भन्नेमा बिश्वस्त छु । धन्यबाद ।
भवदीय,
दुर्गा प्रसाई
कार्यकारी निर्देशक
बीएन्डसी टिचिङ अस्पताल
विर्तामोड, झापा
(६ श्रावण, २०७५)

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: