अध्यक्षको दौडमा पौडेल र पनेरु

  प्रकाशित मिति
२ पुष २०७२, बिहीबार ०९:४६


 

 

 

bhadrapur chunaw

भद्रपुर । जिल्लामा निजी क्षेत्रको छाता सङ्गठन झापा उद्योग वाणिज्य सङ्घको यही पुस ६ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई उम्मेदवार मैदानमा उत्रिएका छन् ।

उम्मेदवारी दर्ताको औपचारिकता पूरा गर्न बाँकी भए पनि बुधवारेका गोविन्द पौडेल र भद्रपुरका नवराज पनेरु (राजु)ले अध्यक्ष पदको दावी गर्दै चुनावी प्रचार थालिसकेका छन् ।

पौडेल र पनेरु राजनीतिक रुपले नेपाली काङ्ग्रेसमा आवद्ध भए पनि दुबैले आफु व्यावसायिक उम्मेदवार भएको बताएका छन् ।

नेकपा एमाले, एमाओबादी र राप्रपा नेपालले अध्यक्ष पदमा आफु निकटको उम्मेदवार अहिलेसम्म खडा गरेका छैनन् । तथापि एमाले निकट स्रोतले अध्यक्षमा एक उम्मेदवार थपिन सक्ने बताएको छ ।

झापा उद्योग वाणिज्य सङ्घ शाखा बुधवारेका अध्यक्ष पौडेल संस्थामा सिनियर मानिन्छन् । बुधवारेमा उनको इलोक्ट्रोनिक पसल रहेको छ ।

विगत २२ बर्षदेखि संस्थामा आवद्ध उनले जिल्ला सङ्घको सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस अघिको निर्वाचनमा समेत उनी अध्यक्ष पदको उम्मेदवार थिए । उमेश डालमियासँग उनी पराजित भएका थिए ।
उता संस्थाका वरिष्ठ उपाध्यक्ष पनेरु सङ्घभित्रका उदीयमान युवा नेता हुन् । उनी मनोनित सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्म बनिसकेका छन् । सङ्घमा उनलाई जुझारु र नयाँ सोच भएका नेता मानिन्छ । भद्रपुरमा उनको डेरी व्यवसाय छ । फर्निचर र होटलमा समेत उनले हात हालेका छन् ।

कसको पल्ला भारी होला त ? यस विषयमा दुबै उम्मेदारको आफैले जित्ने दावी छ । तर स्वतन्त्र विश्लेषकहरू उनीहरूविचको प्रतिष्पर्धाले कुन परिणाम दिने हो अहिल्यै अनुमान गर्न मुस्किल भएको बताउँछन् ।

नेकपा एमाले, एमाओबादी र राप्रपा नेपालको समर्थन जसले बढी ल्याउन सक्यो उसैको पल्ला भारी हुने पनि अनुमान गरिदैँछ ।
‘सङ्घमा मभन्दा अनुभवी अर्को कोही छैन’, यसपाली आफैले जित्ने दावी गर्दै अध्यक्षका प्रत्यासी गोविन्द पौडेल लोकतन्त्र पोस्टसँग भन्छन्–‘मैले व्यवसायीका सानातिना समस्या समेत राम्ररी बुझेको छु भन्ने सबै मतदातामा विश्वास छ ।’
चुनाव जितेर अध्यक्ष बनेपछि बन्द हड्ताल रोक्ने र नरोकिए राज्यबाट त्यस अवधिको कर छुट लिन पहल गर्ने मुख्य योजना रहेको पौडेलले बताएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी पनेरुले चेम्वरहरूकै आन्तरिक व्यवस्थापनमा जोड दिने र नयाँ भिजनका साथ संस्थाको नेतृत्व गर्ने आफ्नो रोडम्याप रहेको बताए ।

पनेरुले हालसम्म सङ्घको अध्यक्ष पदलाई भाषण गर्ने माध्यमको रुपमा मात्र उपयोग गरिएको गुनासो गर्दै कृषि क्षेत्रको औद्योगिकरणमा विशेष ध्यान केन्द्रित गर्ने आफ्नो योजना सुनाएका छन् ।

आगामी पुस ६ गते भद्रपुरमा हुने झापा उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष लगायत एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट र वस्तुगत उपाध्यक्ष, एक वाणिज्य उपाध्यक्ष, एक महासचिव, एक उद्योग सचिव, एक वाणिज्य सचिव, एक कोषाध्यक्ष, ५ खुला सदस्य, ३ महिला सदस्य र जिल्ला कार्यालयबाट प्रत्यक्ष रुपमा सदस्यता लिनेहरूबाट ७ सदस्यको चयन हुने छ । २३ सदस्यीय कार्य समिति चुनावबाट छानिने विधानमा व्यवस्था छ ।

निर्वाचनका लागि पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारको मनोनयन र ६ गते मतदानको कार्यव्रmम सार्वजनिक भइसकेको छ । मतदानमा परिचयपत्र अनिवार्य गरिएको बताइन्छ ।

निर्वाचनमा ३ सय बढी मतदाता रहने छन् । सङ्घका हरेक शाखाका १७ जनाको कार्य समितिमा रहेका सबैले मतदान गर्न पाउने व्यवस्था छ ।

हाल सङ्घका शाखा बुधवारे, चारआली, गौरादह, गौरीगञ्ज, तोपगाछी, विर्तामोड, शिवगञ्ज, पृथ्वीनगर र सतासीधाममा रहेका छन् ।

विर्तामोडमा नगरस्तरीय सङ्घ गठनको पहल भए तापनि विवादका कारण शाखाले नै निर्वाचनमा सहभागिता जनाउने भएको छ । नगर स्तरीय सङ्घ गठन भएपछि भने जिल्ला सङ्घको सदस्य बन्न नपाइने व्यवस्था रहेको छ ।
हालसम्म वरिष्ठ उपाध्यक्षमा मोहन सुबेदी र कालीचरण बस्नेत, उपाध्यक्षमा पृथ्वीध्वज डाँगी र लालबहादुर थेबे, महासचिवमा इन्द्रकान्त झा, सचिवमा लक्ष्मी प्रसाई र सुनिता ओली र कोषाध्यक्षमा भाष्कर शर्माको उम्मेदवारी चर्चामा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: