विर्तामोड, ३ मङ्सिर । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) झापाको ११ औँ जिल्ला अधिवेशन शुक्रवार विर्तामोडस्थित आफ्नै भवनमा सुरु भएको छ ।
आगामी नेतृत्व चयन समेत गर्ने यस अधिवेसनको उद्घाटन प्याब्सनका केन्द्रिय अध्यक्ष लक्ष्यबहादुर केसीले गरेका छन् भने सो अवसरमा केन्द्रीय पदाधिकारीहरूको ठूलै समूहको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्र शुक्रवार समपन्न भए पनि शनिवार मात्र बन्द सत्र सञ्चालन हुने भएको छ । नेतृत्व चयनका लागि शनिवारै निर्वाचन हुने छ ।
२ वर्षे कार्यकालका लागि वत्र्तमान अध्यक्ष मिलनकुमार ढुङ्गानाले दोहोर्याउने इच्छा प्रकाट गरेका छन् भने सचिव पदमा एक कार्यकाल पूरा गरेका कोषराज प्याकुरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
प्याब्सनको विधानमा दुई कार्यकालसम्म एक व्यक्तिले अध्यक्ष बन्न पाउने व्यवस्था छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, एक सचिव, ३ महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष पद गरी ११ पदका लागि निर्वाचन हुने छ ।
अहिलेसम्मको अवस्था हेर्दा सबै ११ पदमा चुनावी प्रतिष्पर्धा हुने सम्भावना छ ।
कार्यसमितिको महत्वपूर्ण पदमध्येको सचिव पदमा ज्ञानु थलङ र गौरीमान फागोले उम्मेदवारी दिने बुझिएको छ । सहमतिमा समिति गठन गर्ने प्रयास भइरहे पनि धेरैले पदीय आकांक्षा प्रकट गरेका कारण मिलाउन सम्भव देखिएको छैन ।
जिल्ला अध्यक्ष मिलनकुमार ढुङ्गानाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँ, केन्द्रीय सचिव किशोर गौतम, केन्द्रीय सदस्यहरू गोविन्द लम्साल, युवराज वशिष्ठ, नारायणप्रसाद घिमिरे, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्ट, एन प्याब्सन झापाका अध्यक्ष सन्जीव राई, शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाइँ, केन्द्रीय सल्लाहकार हरिकुमार प्रसाई, कञ्चनजङ्गा एफएमका कार्यक्रम निर्देशक दिपेन्द्र पौडेल, घनश्याम अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
झापाका २ सय ७५ निजी विद्यालय प्याब्सनमा आवद्ध रहेका छन् । यस संस्थाको विर्तामोडमा आफ्नै भवनमा कार्यालय सञ्चालन हुने गरेको छ ।