भद्रपुर, १२ असार (रासस) : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिए ।
उनले असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा सुरु भए लगत्तै अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफुले सभाको अध्यक्षता गरेको बताए । उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो ।
गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेको अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको हुँदा सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको पत्रकार सम्मेलनमा बताए ।
गाउँ कार्यपालिकाले बहुमतका आधारमा पेलेर वडागत बजेट वितरणमा समानुपातिक नीति नअपनाएको र पर्यटकीय महत्वको जलथल सडकको नामाकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेको विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आएका छन् । सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको दावी गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनु परेको दावी गर्र्दै आएका छन् ।
तर गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र अध्यक्ष आफैले कार्यकर्तालाई बोलाई सभाहलमा तोडफोड गराएको पत्रकारहरुलाई जानकारी दिए ।
हल्दिबारी गाउँपालिकामा अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लिङ्देन निर्वाचित भएका थिए भने उपाध्यक्ष गिरी तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन् । पालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्दछन् । परिषदमा नेकपाको दुई तिहाई बहुमत छ ।