अनलाइन कक्षा सञ्चालन गराउँन नसक्ने संगठनको निर्णय

  प्रकाशित मिति
२५ बैशाख २०७७, बिहीबार १४:०९


।। अर्जुन कार्की ।।

मेचीनगर । एनप्याव्सन र प्याव्सन मेचीनगरको बिहीवार बसेको संयुक्त बैठकले अनलाइन कक्षा सञ्चालन गराउँन नसक्ने ठहर गरेको छ ।

एन प्याब्सन मेचीनगरको ईटाभट्टा स्थित कार्यालयमा बसेको संयुक्त वैठकले अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

वैशाख २५ गतेदेखि लकडाउन १० दिनलाई फेरी थपिएपछि शिक्षा मन्त्रालयले विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई अनुरोध गरेको थियो ।

त्यसका लागि विद्यार्थीहरुसँग शुल्कसमेत नलिन विद्यालयलाई आह्वान गरेको बेला मेचीनगरका निजी विद्यालयहरुले विद्यार्थीहरुको पहुँच बाहिरको कुरा भन्दै अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने बैठकले ठहर गरेको हो ।

शिक्षा मन्त्रालय मातहतका विभागहरुमार्फत अनलाइन कक्षा सञ्चालन गर्नका लागि आम अभिभावक, विद्यार्थी तथा स्कुलहरुसँग इन्टरनेट लगायतका सामग्रीहरुको पहुँच कति छ भनी तथ्याङ्क संकलन गरिरहेको थियो ।

प्याब्सन र एन प्याब्सन केन्द्रिय समितिले पनि सोहि बमोजिमको सम्भाब्यता अध्ययन गर्ने गरि जारी गरेको परिपत्रको सन्दर्भमामा कतिपय अभिभावकहरुले अनलाइन कक्षा सञ्चालनका विषयमा चासो समेत राखिरहेको अवस्था थियो ।

उक्त विषयमा गम्भीर छलफल गर्दा बर्तमान अवस्थामा विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न–गराउन सबै विद्यार्थीलाई नेटमा समेट्न नसक्ने, सबै विद्यार्थीसँग मोबाइल, ल्यापटप लगायतका सामग्री नहुनु, वाइफाइ एवम् डाटा चलाउने कुरामा समेत संबेदनसिल अवस्था हुने लगायत कारणले अनलाइन कक्षा सञ्चालन गर्न नसकिने निश्कर्षमा पुगिएको प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले जानकारी दिए ।

विकल्पका रुपमा विद्यार्थीहरुलाई अन्य प्रविधिको खोजी गर्ने र घरमानै बसेर अध्ययन गर्न प्रेरित गर्ने भनि वैठकले निर्णय गरेको उनले बताए ।

मेचीनगर नगरपालिकाको नगर शिक्षा शाखाले यहि वैशाख १८ गतेभित्र कक्षा ८ बाहेक १ देखि कक्षा ९ सम्मको बार्षिक परिक्षाको नतिजा प्रकाशित गर्न अनुरोध गरेको थियो ।

लकडाउनको समस्याका बाबजुद पनि विद्यालयले नतिजा प्रकाशित धमाधम गरिरहेको संगठनहरुको भनाई छ ।

नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको नतिजा प्रकाशित गर्न बाँकी रहेका तथा नगर शिक्षा शाखाको निर्देशन आए कक्षा ८ को समेत परिक्षाफल प्रकाशित गर्न संगठनहरुले विद्यालयलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

विद्यार्थीहरुको नतिजा प्रकाशित भएसँगै अभिभावकहरुले पाठ्यपुस्तकका बारेमा चासो राख्न थालेका छन् ।

लकडाउनले नयाँ पाठ्यक्रम र नयाँ पुस्तक समयमा उपलब्ध नहुने भएपछि पुरानै प्रकाशनका पुरानै पाठ्यपुस्तक प्रयोग गर्न सकिने गरि पुस्तकको सुचि बनाई सार्वजनिक गर्न–गराउन समेत संगठनले आव्हान गर्ने निर्णय गरिएको एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले बताए ।

अभिभावक र विद्यार्थीहरुले पाठ्यपुस्तक माग गर्न थालेकाले पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीलाई अत्यावशकीय बस्तुको रुपमा सुचिकृत गरि आपूर्ति ब्यवस्था चाडै सहज बनाउन नगर सरकारलाई आग्रह गर्ने निर्णय समेत गरिएको उनले बताए ।

कोभिड–१९ को संक्रमणका कारण लामो समयदेखिको बन्दाबन्दीले स्रिजना गरेको समस्याप्रति विद्यालय, अभिभावक एवम् विद्यार्थीहरु संबेदनसिल हुँदै सामाना गर्न र सरकारको आधिकारिक निर्देशन नआएसम्म शैक्षिक शत्र २०७७ को भर्ना अभियान समेत सञ्चालन नगरिने निर्णय गरिएको राईले बताए ।

एन प्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न वैठकमा प्याब्सन झापाका उपाध्यक्ष एवम् प्याब्सन मेचीनगरका प्रमुख सल्लाहकार अजय आले मगर, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, सचिव कबिन्द्र श्रेष्ठ, एन प्याब्सन मेचीनगर सदस्य जीवन कट्टेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: