भद्रपुर, २१ माघ । मेची अञ्चल अस्पतालका पूर्व अध्यक्षहरूले मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धी विवादको तत्काल समाधान खोज्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
उनीहरूले मेसु विवाद स्वास्थ्य मन्त्रालयले नै सिर्जना गरेको हुँदा यसको उपयुक्त समाधान उसैले खोज्नु पर्ने लोकतन्त्र पोस्टसँगको कुराकानीमा बताए ।
स्वास्थ्य मन्त्रालयले गत पुस २३ गते डा. टङ्क वाराकोटीलाई अस्पतालको मेसु नियुक्ति गरेको थियो । तर माघ ३ गते मन्त्रालयले डा. पिताम्वर ठाकुरलाई निमित्त मेसु नियुक्ति गरिएको अर्को पत्र पठाएपछि मेसु विवाद चर्किएको हो ।
हाल आफुभन्दा जुनियर (दशौँ तह) डा. ठाकुर मेसु भएको भन्दै डा. बाराकोटीले असन्तुष्ठि सार्वजनिक गर्दै आएका छन् । विवादकै कारण डा. वाराकोटी विदामा बसेका छन् ।
मेची अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष जेपी शर्माले विवाद लम्बिन नदिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले मेसु समूहको डाक्टर पठाए विवाद स्वतः साम्य हुने धारणा राखेका छन् ।
‘एकले अर्कोलाई मेसु नमान्ने अवस्थामा’, पूर्व अध्यक्ष शर्माले बुधवार लोकतन्त्रसँग भने–‘मेसु समूहको नयाँ डाक्टर मन्त्रालयले पठाउनु नै समाधानको उपाय हुन सक्छ ।’
उनका अनुसार अस्पतालमा मेसुको कार्य सम्पादन गर्नका लागि मेसु समूहका डाक्टरको नियुक्ति गर्ने व्यवस्था छ । तह तलमाथि जे भए पनि डा. बाराकोटी र डा.ठाकुर दुबै जना मेसु समूहका डाक्टर होइनन् ।
मेसु समूहबाट नियुक्त भएर आएका डाक्टर आठौँ तहमाथिका जो सुकै भए पनि अरु उपल्लो तहका डाक्टरले स्वीकार गर्नै पर्ने नियम रहेको शर्माले बताए ।
अस्पतालका अर्का पूर्व अध्यक्ष छत्र अधिकारीले मेसु नियुक्तिको विषयलाई डाक्टरहरूले विवादको विषय बनाउनु अशोभनीय भएको जनाएका छन् ।
डाक्टरहरूले पदप्रतिको अनावश्यक मोह त्यागेर सेवाप्रतिको निष्ठा प्रदर्शन गर्नु पर्ने जनाउँदै अधिकारीले मन्त्रालयले मेसुमा जसलाई नियुक्ति गरे पनि अरु डाक्टरहरूले स्वीकार गर्नु पर्ने धारणा व्यक्त गरे ।
उनले अहिलेको विवादको सन्दर्भमा मन्त्रीस्तरबाट आएको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै त्यसमा चित्त नबुझे मन्त्री तहबाटै निर्णय सच्याउन लाग्नु उचित हुने बताए ।
अस्पतालका अर्का पूर्व अध्यक्ष नारायण उप्रेतीले स्वास्थ्य मन्त्रालयको अवाञ्छित चलखेलले विवाद जन्मिएको बताउँदै यसमा डाक्टरहरूको कुनै दोष नदेखिएको धारणा व्यक्त गरेका छन् ।
‘डा. वाराकोटी र डा. ठाकुर दुबै ज्यादै राम्रा र सुमधुर सम्बन्ध भएका डाक्टर हुन्’, पूर्व अध्यक्ष उप्रेती भन्छन्–‘बाराकोटी मेसु हुँदा ठाकुरले राम्रैसँग कार्यभार हस्तान्तरण गरेको आफुले पाएको छु ।’ तर अहिले मन्त्रालयको गलत निर्णयले गर्दा डाक्टरहरूविच फाटो ल्याउने प्रयत्न भइरहेकोमा उनले चिन्ता प्रकट गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव र मन्त्रीले आपसी सल्लाहमा मेसु नियुक्तिको साझा निर्णय गरेर नयाँ पत्र पठाएमा अहिलेको विवाद समाधान हुने उनको ठम्याइ रहेको छ ।
मेसु विवादलाई नजिकबाट नियालिरहेका वरिष्ठ पत्रकार नकुल काजी जुनियर डाक्टरलाई मेसु नियुक्ति गर्ने मन्त्रालयको निर्णयले गलत नजिर स्थापित गरेको बताउँछन् ।
‘हाम्रा लागि बाराकोटी र ठाकुर दुबै डाक्टर उस्तै सम्मानयोग्य हुन्’, वरिष्ठ पत्रकार काजी मेसु विवादको चुरो पहिल्याउँदै भन्छन्–‘सरकारी सेवामा वरिष्ठताको मर्यादा उल्लङ्घन अनुचित हुन्छ, राम्रो मानिदैन ।’
सीडीओलाई मातहतमा राखेर सहायक सीडीओलाई निमित्त सीडीओमा नियुक्ति गरे जस्तै भएको टिप्पणी गर्दै उनले एघारौँ तहका सिनियर डा. टङ्क वाराकोटीलाई मेसु पदमा वहाली गर्नु नै सर्वोत्तम समाधान भएको सुझाव दिए ।