अनिश दोस्रोपटक सगरमाथा चुचुरोमा

  प्रकाशित मिति
२ जेष्ठ २०७५, बुधबार ०९:४२


मेचीनगर । झापाली स्काउटर युवा अनिश लुइँटेल दोस्रो पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।

उनी सोमवार विहान ११ बजेर ३३ मिनट जाँदा दोस्रोपटक सगरमाथा आरोहण गर्न सफल भएका हुन् ।

भद्रपुर–९ हिमालीचोक घर भई मेचीनगर–९ मा बसोबास गर्दै आएका २३ वर्षीय अनिसले पहिलोपल्ट २०७३ साल जेठ ७ गते सगरमाथाको आरोहण गरेका थिए ।

उनले पहिलोपटक नेपालतर्फबाट र दोस्रोपटक चिनियाँ भूभागको तिब्बततर्फबाट सगरमाथाको सफल आरोहण गरेका हुन् ।
अनिसले पहिलोपटक सगरमाथामा नेपालको नयाँ संविधान समेत पुर्याएका थिए भने यसपटक स्काउटको झण्डा लगायतका विभिन्न प्रतीकहरु पुर्याएका छन् ।
उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटर समेत हुन् ।

विश्वभरिबाट हालसम्म ५ सय ४२ जनाले नेपाल र तिब्बत दुवै पट्टिबाट सगरमाथा आरोहण गरेका छन् ।

आरोहण सकेर हाल अनिस क्याम्प थ्रीबाट सकुशल फर्किँदै गरेको क्लाइम्बालय ट्रेक्सले जनाएको छ ।

यसपटकको आरोहण विश्वव्यापी रुपमा स्काउटले चर्चामा ल्याइरहेको छ ।

उनलाई आरोहणमा गइसकेपछि अन्तर्राष्ट्रिय स्काउटका प्रमुख बेयर ग्रिल्सले एक भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए ।
‘विश्वभरिका स्टाउटरहरुले तपाईंलाई हेरिरहेका छन्’, उनले भनेका थिए–‘विश्व स्काउटको झन्डा उच्च स्थानमा फहराएको हेर्न हामी आतुर छौँ । तपाईंको उत्साहलाई जारी राख्नु होला ।’

ग्रिल्स चर्चित लेखक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् ।

डिस्कभरी च्यानलमा उनको कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ चर्चित छ ।

कीर्तिमानी सगरमाथा आरोही अनिश लुइँटेललाई हौसला र सहयोग प्रदान गर्ने सबैप्रति उनका पिता शिवराम लुइँटेलले आभार व्यक्त गरेका छन् ।

‘अनिश फेरि सगरमाथाको चुचुरोमा पुगेको खबर साथीहरुले सुनाउनु भयो’, अनिशका पिता शिवराम लुइँटेलले लोकतन्त्र पोस्टसँग भने–‘उसलाई यो सफलताका लागि हौसला र सहयोग पुर्याउनु हुने सबैप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु ।’
उनले ‘यस अघिसम्म आफ्नो मात्र छोरो’ रहेकोमा ‘अब देशकै छोरो’ बन्न सकेको भन्दै अत्यन्त खुशी लागेको बताएका छन् ।

अनिशका पिता स्थानीय पुहाँतु जनज्योति माविका प्रधानाध्यापक हुन् । उनकी माता कमला लुइँटेल समेत अर्को एक आधारभूत विद्यालयकी प्रधानाध्यापिका हुन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै अनिशलाई बधाइ दिएका छन् ।
‘सगरमाथाबाट आइपुग्यो खुशीको खबर’, शर्माले लेखेका छन्–‘झापाका साहसी युवासँगै आरोहणमा सफल हुने सबैलाई हार्दिक हार्दिक बधाइ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: