अनुदान लिन कोही आएनन्

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार ११:३२


paddy
झापा । किसानकै उदासिनताका कारण सरकारले दिएका थुप्रै अनुदानका बजेट खर्चै नभएर खेर जाने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय झापाले प्राङ्गारिक मल उत्पादन र बासनादार धान खेतीका लागि चालू आर्थिक बर्षमा लाखौँ रकमको अनुदान बजेट बिनियोजन गरे पनि अनुदान माग्न हालसम्म एक जना किसानको समेत निवेदन नपरेको कार्यालयले जनाएको छ ।
कार्यालयले प्राङ्गारिक मल उत्पादनमा ३० लाख ६० हजार रुपैयाँ र बासनादार धान तथा मकै खेतीमा ८७ लाख रुपैयाँ अनुदानको बजेट छुट्याएको थियो ।
कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा अनुदान माग्न एउटा पनि निवेदन परेको छैन ।
‘अनुदान आएको छ, लैजानुस् भनेर पत्रपत्रिका र एफएममार्फत जानकारी गराएका छौँ’, अनुदानप्रति किसानले नै चासो नदेखाएको बताउँदै भट्टराई भन्नुहुन्छ–‘यति गर्दा पनि कोही आउँदैनन् ।’
कार्यालयमा चालु आर्थिक बर्षमा खर्च हुने गरी किसानलाई २ करोड २८ लाख १४ हजार रुपैयाँ अनुदानको कूल बजेट आएको छ । अन्य शिर्षकमा अनुदान लिन किसान आउने गरे पनि प्राङ्गारिक मल, धान खेती लगायतका शिर्षकमा अनुदान लिन किसानले नै चासो नदेखाएको भट्टराईको गुनासो छ ।
सरकारले विशेष कृषि उत्पादनका लागि प्राङ्गरिक मल उत्पादन, बासनादार धान र मकैका वीउ विजनका लागि झापामा पहिलोपल्ट अनुदानको बजेट पठाएको हो । बासनादार धान अन्तर्गत बासमती धानको उत्पादन पर्दछ ।
सरकारले झापामा व्यावसायिक च्याऊ खेतीका लागि १६ लाख १८ हजार र सिञ्चाईका लागि ५१ लाख ३७ हजार, व्यावसायिक तरकारी खेतीका लागि ४३ लाख रुपैयाँ अनुदानको बजेट पठाएको छ ।
च्याऊ, सिञ्चाई, तरकारी लगायतका शिर्षकमा आएका अनुदान लिन किसानहरू आउने गरेको कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापामा आर्थिक बर्ष २०७२÷०७३ का लागि ७ करोड १३ लाख रुपैयाँ बजेट आएको कार्यालयले जनाएको छ । कूल बजेटको लगभग एक तिहाई बजेट अनुदानमा जाने गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: