(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
भद्रपुर । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको प्रत्यक्ष चुनाव लड्ने अडान लिएका नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट हटाइने भएको छ ।
यस अघि राप्रपासँगको गठबन्धन शर्त अनुरुप काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सिटौलाको निर्वाचन क्षेत्र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडिदिने सहमति जनाउँदै सिटौलाको नाम समानुपातिक सूचीको पहिलो नम्वरमा राखेका थिए ।
तर प्रत्यक्ष चुनाव लड्ने अडान नछाडेपछि पार्टीको आइतवार बसेको शीर्ष नेताहरुको बैठकमा सभापति देउवा पछि हटे । शीर्ष बैठकले सिटौलालाई नै झापा क्षेत्र नं. ३ मा प्रत्यक्ष उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
बैठकले सिटौलाको नाम समानुपातिक सूचीबाट हटाउने समेत निर्णय गरेको छ । समानुपातिक सूची सच्याउने म्याद मङ्गलवार सकिदैछ । समानुपातिक सूची संशोधन गरी मङ्गलवार पार्टीले सिटौलाको नाम हटाउने भएको छ ।
‘उहाँ (सिटौला)ले म चुनाव लड्छु नै भन्नुभयो र शीर्षनेताहरुले त्यसमा सहमति जनाउनुभएको छ’–प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताएका छन् ।
सिटौलालाई समानुपातिक सूचीमा राखेर झापा क्षेत्र नं. ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउने भनी पार्टीले केन्द्रमा गरेको सहमतिलाई झापामा काङ्ग्रेस वृत्तबाट विरोध जनाइएको थियो ।
कुनै हालतमा पनि सिटौला प्रत्यक्ष तर्फ नै उम्मेद्वार बन्नु पर्छ भन्ने क्षेत्रका कार्यकर्ताहरुको दवाव चर्को रुपमा उठेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)