अन्तरवार्ता लिने धोको अधुरै

  प्रकाशित मिति
२४ श्रावण २०७३, सोमबार २०:५५


 

mohan kazi
मोहन काजी

मेचीनगर । वीपी कोइरालालाई ‘सान्दाइ’ भने झैँ भूविक्रम नेम्वाङलाई ‘साल्दाइ’ भनेर सम्मानपूर्वक सम्बोधन गरिन्थ्यो । लोकतन्त्र प्राप्तिका लागि आफ्नो जीवनको समेत पर्वाह नगरी सशस्त्र आन्दोलनमा होमिएका तिनै मुक्ति योद्धा ‘साइला दाइ’ अब भौतिक रुपमा रहेनन् । आइतवार उनको ८० वर्षको उमेरमा निधन भयो ।

जीवनभर राजनीतिमा कसैसँग हार नमानेका उनले मुटु र मिर्गौला रोगको उपचारकै क्रममा मृत्युसँग भने हार स्वीकार्नै पर्यो । तर उनको ‘अन्तिम विदाई’मा जसरी मानव सागर उर्लियो, उनको राजनीतिक जीवन नपढेकाहरूलाई पनि भन्नै कर लाग्थ्यो कि ‘साल्दाइ’ एक साधारण मान्छे थिएनन्, उनी नेपाली राजनीतिका एक नक्षत्र नै थिए ।

पाँचथरमा जन्मे हुर्केका भूविक्रम नेम्वाङको बसोबास झापाको धुलावारीमा रहेको थियो । नामको अघि पछि न कुनै ठूलो पदको फुर्को, न त मन्त्री वा सांसदको पगरी नै । तैपनि हामी देख्थ्यौँ–धुलावारीमोडबाट एक किलोमिटर उत्तरतिर धुलावारी उमावि जाने बाटोमा रहेको उनको घर राजनीति गर्नेहरूका निम्ति तीर्थस्थल जस्तै पवित्र थियो । उनलाई भेट्न जानेको जहिल्यै लर्को ।

म कहिल्यै काङ्ग्रेसको कार्यकर्ता थिइन, भइन । तैपनि काङ्ग्रेसका केही नेताको नाम उच्चारण गर्दा मलाई गर्वको अनुभूति हुन्छ । दिवङ्गत भइसकेका नेताहरूमा तुर्सा हेमरम र सीके प्रसाईको तस्वीर अघि म जहिल्यै झुक्छु । त्यही कोटीमा मेरो दिलमा भूविक्रम नेम्वाङप्रति श्रद्धाको भाव छ ।

मैले २०४३ सालतिर चन्द्रगढीको पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखिको राजनीतिक घटनाक्रम देख्दै र भोग्दै आएको छु । २०४६ सालको जनान्दोलन त लाइभ हेरियो, व्यहोरियो नै । त्यो बेला म मेची बहुमुखी क्याम्पसको विद्यार्थी थिएँ ।

म इतिहासको कडी किन जोड्दै छु भने भूविक्रम नेम्वाङको बारेमा पहिलोपल्ट जानेको र देखेको चाहिँ चन्द्रगढीमा २०४८ सालतिर भएको काङ्ग्रेस महाधिवेशनमा हो । त्यहाँ भूविक्रम नेम्वाङलाई गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहकै लहरमा देख्न पाइएको थियो । ‘बन्दुक’ बोकेर पञ्चायती शासकसँग भिडेको क्रान्ति योद्धा भनेर उनलाई चिनाइन्थ्यो । त्यसबेला नरेन्द्रविक्रम नेम्वाङ, सुभाष नेम्वाङ, भीष्मविक्रम नेम्वाङ जस्ता नेम्वाङ परिवारबाट अरुले राजनीतिमा ‘हाइट’ बनाएकै थिएनन् ।

उनको बोली र विचार यति प्रष्ट हुन्थ्यो कि भाषण मात्र होइन गफ सुन्ने स्रोता सहजै प्रभावित हुन्थे । मैले उनीसँग कहिल्यै आमने सामने भएर गफ गर्ने मौका पाइन । तर समूहमा उनले व्यक्त गरेका धारणा प्रशस्तै सुनेको छु । भाषण त धेरै पटक प्रत्यक्ष सुनियो । उनीसँग एक्लै गफ गर्ने सन्दर्भ धेरै भए पनि अवसर पाइन । तुर्सा हेमरम, सीके प्रसाइँ र द्रोणप्रसाद आचार्यसँग पनि उस्तै उस्तै सम्बन्ध रह्यो । मैले उनीहरूसँग भलाकुसारीको रहर मेट्न पाइन ।

भूविक्रम नेम्वाङमा मिडियासँग नखुल्ने अनौठो स्वभाव थियो । मिडियासँग कुनै गुनासो पनि भए जस्तो लाग्दैन । जनसंसद् दैनिकमा छँदा उनको अन्तरवार्ता लिन भनेर ज्यादै प्रयत्न गरियो । पर्वत पोर्तेल र राजु अधिकारी ‘नबोल्ने अरे दाइ’ भन्दै कयौपटक निरास फर्किएको म सम्झिरहेको छु । आखिर उनी जस्तो शिखर पुरुषले किन मिडियामा बोल्न अरुचि राखेको होला भन्ने विषयमा मैले केही अनुमान गर्न सकेको छैन । कति पटक उनका निकट व्यक्तिलाई भनसुन गरेर भए पनि अन्तरवार्ता लिएरै छाड्ने प्रयास नगरिएको होइन । तर उनी कसैगरी डेग चलेनन् । हामीले उनको अन्तरवार्ता लिन कहिल्यै पाएनौँ ।

‘लोकल’ पत्रिका भनेर पो अन्तरवार्ता नदिएको हो कि भन्ने शङ्का कहिलेकाहिँ मनमा उठ्थ्यो । यथार्थ त्यस्तो होइन रहेछ । पर्वतजी कान्तिपुर र राजुजी नागरिकको प्रतिनिधि भएर जाँदा पनि अन्तरवार्ता दिनै नमान्ने । अन्तरवार्ता लिन गएका साथीहरू भन्थे–‘टन्न मोही पो खुवाएर पठाउनु भयो ।’ पत्रकारहरूलाई माया गर्ने, सम्मान गर्ने तर अन्तरवार्ता चाहिँ दिदै नदिने । उनका अन्तरवार्ता मैले कतै पढ्न पाएको छैन ।

नेम्वाङ निवास र मेरो घर करीव दुई किलोमिटर दुरीको नजिकमा छ । नेम्वाङ परिवारका धेरै सदस्यसँग घुलमिल छु । घरमा कयौपटक पुगेको छु । उनी सामान्य किसान जस्तो भेषभूषामा बसेको पाउँथे । घर छेउमा माछा पोखरी थियो । खेतीबालीको हरियाली नजिक उनी रमाउने गर्थे । उनीसँगै राजनीति गर्नेहरू बालुवाटार र सिंहदरवारमा चिल्ला गाडीमा फन्को मारिरहँदा उनी यता माछा पोखरी र खेतीमा गम्छा भिरेर हिडिरहेँ ।

मान्छेको जात पद, पैसा र प्रतिष्ठा भने पछि आफैलाई बिर्सने स्वार्थी हुन्छ भन्छन् । भूविक्रममा त्यो स्वार्थको दशमलव अंश पनि भेटिदैनथ्यो । व्यक्तिगत स्वार्थमा पटक्कै रुचि नभएका उनी अर्कै ग्रहका प्राणी जस्ता लाग्थे । सन्त भनिएका कृष्णप्रसाद भट्टराईलाई पनि प्रधानमन्त्री बन्ने भोक जागेको देखिएकै हो, अरुका त के कुरा गरौँ । राजनीतिमा आदर्श, निष्ठा, सङ्घर्ष, त्याग र निःस्वार्थ भावना हुन्छ भन्ने चीज मैले भूविक्रम नेम्वाङमा पाएँ । आज हामी नेपाली जुन लोकतान्त्रिक परिवेशमा रम्न पाइरहेका छौँ, राणा र पञ्चायतका काला रातहरूलाई चिर्न तिनै भूविक्रम नेम्वाङहरूको योगदान छ । उनको निधनले नेपाली राजनीतिमा एउटा ठूलो रिक्तता अनुभूति गराएको छ । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

(२०७३ साउन २५ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: